बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
राजनीति

देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी

बिहीबार, ११ असार २०८३, १६ : ४१
बिहीबार, ११ असार २०८३

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवाका समूह र इतर पक्षका नेता डा.शेखर कोइरालाका समूहले आपसमा मिलेर छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन् । काठमाडौँको महाराजगन्जमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए । 

‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय महाराजगन्जको चुनदेवीमा खोल्दैछौँ । एक–दुई दिनमा खुल्छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘त्यहाँ नियमित महाधिवेशनको पक्षमा देखिएका सबै नेता कार्यकर्ताहरूको भेटघाट र जमघट हुन्छ ।’

गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिबिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेपछि सुरु भएको विवाद अहिले चरमोत्कर्षमा छ । 

त्यो विशेष महाधिवेशन १४औँ महाधिवेशनका बेलामा देखिएको देउवा समूह, डा‍.शेखर कोइराला समूह र नेता कृष्णप्रसाद सिटौला समूहले बहिस्कार गरेको थियो । विशेष महाधिवेशन बहिस्कार गरेका समूहहरू मिलेर अहिले सम्पर्क कार्यालय खोलेका हुन् । 

निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि नियमित महाधिवेशन पक्षधर सबै नेताहरूले १५ औँ महाधिवेशनसम्बन्धी छलफल र बैठक गर्नका लागि सम्पर्क कार्यालय खोल्न लागेको बताए ।  ‘कार्यालय टुङ्गो लागिसकेको छ । एक–दुई दिनमा सुरु हुन्छ,’ काफ्लेले रातोपाटीसँग भने ।

संस्थापनले १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गराएका क्रियाशील सदस्यहरूको सदस्यता पुनः अद्यावधिक गर्ने निर्णय गरेको छ । यी समूहका नेता कार्यकर्ताले संस्थापनको त्यो निर्णय नमान्ने बताउँदै अद्यावधिक गरेका छैनन् । यो विषयमा विवाद उत्कर्षमा पुगेका बेलामा उनीहरू छुट्टै सम्पर्क कार्यालय खोलेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप