बालेनको डेरामा ३ हजारको लर्को, ओलीले सम्झिए २०६४ को हार
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले झापामा तीन हजार शुभचिन्तकहरूसँग भेटघाट गरे।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरूलाई नयाँ शक्तिलाई भोट दिँदा सचेत रहन आग्रह गरे।
- ओलीले दमकमा आफूले गरेका विकास निर्माणका कामहरूको सूची प्रस्तुत गर्दै एमालेको योगदान रहेको दाबी गरे।
विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ स्थित दमकको डेरामै तीन हजार शुभचिन्तकलाई भेट गरे ।
एकातिर नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गढ जोगाउने रणनीति बुन्दै कोर टिमका एक डेढ सय मानिस भेटिरहँदा बालेनले भने चाहना राख्ने सबैलाई बुधबार बिहानदेखि दिउँसो ४ बजेसम्म भेटघाट गरे । दमकस्थित डेरा लक्की सिटौलाको घरमा बसेर उनले युवा, वृद्धदेखि केटाकेटी तथा आफ्नै पार्टी रास्वपाका झापा, मोरङ र सुनसरीका उम्मेद्वारसँग भलाकुसारी गरे ।
कतिपय मिडियाले ‘बालेनको घरदैलो’ भनेर समाचार लेखे पनि बालेन मतदाताको घरमा होइन, मतदाताहरू नै उनको ‘डेरा’मा धाइरहे । दमक–५ स्थित सटौलाको घरमा बालेनले आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरेका हुन् । उनी यहीँ बसेर मतदाता र शुभचिन्तकहरूसँग भेटघाट गरिरहेका छन् । बालेनलाई भेट्नेहरूको बिहानैदेखि भिड लागेको थियो ।

बुधबार दिनभर उनले ३ हजार बढीसँग भेटघाट गरेको सुरक्षा स्रोत बताउँछ । ‘हामी बाहिर बसेर हेरिरहेका छौँ । १० मिनेटको अन्तरमा भेट्ने टोलीहरू निस्कने र नयाँ जाने क्रम बिहानैदेखि चल्यो । बेलुका ४ बजेसम्ममा करिब ३ हजार मानिस भित्र छिरेको अनुमान छ । कोही फोटो खिच्न, कोही समर्थन जनाउन त कोही बालेनको कुरा सुन्न आएका थिए,’ उक्त स्रोतले भन्यो ।
त्यस क्रममा बालेनले एमाले निकट युवा संघ दमकका अध्यक्ष, उपाध्यक्ष र सचिवसहितको टोलीलाई रास्वपामा स्वागत गरेका थिए । भेट्नेहरू एमाले, कांग्रेस र नेकपाका कार्यकर्ताको पनि उल्लेख्य उपस्थिति रहेको सुरक्षा स्रोतको दाबी छ ।
यस्तै झापा, मोरङ र सुनसरीका रास्वपाका उम्मेद्वारहरू पनि बालेनलाई भेट्न दमक पुगेका थिए, तर भेटघाटका क्रममा बालेनले आफ्नो विषय भने धेरै राखेका थिएनन् । भेट्न आउनेहरूको कुरा नै बढी सुनेका स्रोत बताउँछ । दमकमा आफ्नो भेटघाट सकेर बालेन आजै अपराह्न ४ बजेतिर इलामतर्फ लागेका छन् । उनी भोलि ताप्लेजुङमा रहने र त्यहाँका मतदाताहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ राजनीतिक शक्ति र उम्मेदवारहरूको उदयलाई गम्भीरताका साथ लिँदै मतदाताहरूलाई सचेत गराउन थालेका छन् ।
दमकमा आयोजित राष्ट्रिय युवा संघको ५ नम्बर क्षेत्रीय कमिटीको पूर्ण बैठक तथा युवा भेलामा उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा आफूले भोगेको पराजय सम्झिएका छन् । ‘०६४ सालमा पनि एकपल्ट नयाँलाई हेरौँ न त भनेर जनताले भोट दिए । तर त्यसपछिको स्वाद यस्तो तीतो, पिरो र अमिलो भयो कि न जिब्रो पखाल्न सकिन्छ, न केही गर्न सकिन्छ,’ उनले भने ।
उनले ०६४ देखि ०७० सालसम्म देश विकासमा पछि परेको र नयाँ शक्ति भनिएकाहरूले देशलाई अन्योलमा राखेको आरोप लगाए । ०६४ सालमा ओलीलाई तत्कालीन माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनले पराजित गरेका थिए, आफ्नो पराजयपछि ओलीले जनताले गल्ती गरेको बताएका थिए ।

उनले मतदातालाई बैंकको नोटको उदाहरण दिँदै भने, ‘बैंकले नोट छाप्दा त धितो र जमानी खोज्छ भने देश चलाउने मान्छे छान्दा चिनजान नभएको, धितो नभएको र जमानी नभएको मान्छेलाई कसरी भोट हाल्ने ? नयाँ हेर्ने नाममा चिनजान नै नभएका मान्छेलाई भोट दिएर पछुताउनु हुँदैन ।’ ओलीले बालेन र रास्वपाको लहर चलेको विषयमा आफ्ना कार्यकर्तालाई सम्झाउने प्रयास गरेका थिए ।
त्यसक्रममा उनले झापा–५ मा आफूले गरेका विकास निर्माणका कामहरूको लामो सूची प्रस्तुत गरे । उनले दमक र आसपासका क्षेत्रमा भएका पक्की सडक, पुल र भौतिक संरचनामा एमालेको योगदान रहेको दाबी गरे । उनले प्रश्न गरे, ‘अहिले फुर्तीसाथ आएका नयाँहरूले यो ठाउँको विकासका लागि अहिलेसम्म एउटा सिन्को पनि भाँचेका छन् ?’
त्यस्तै ओलीले बालेनलाई लक्षित गर्दै अहिले सुकुमबासीहरू डराइरहेका पनि दाबी गरे । ‘हाम्रा केही सुकुमबासी साथीहरूलाई डर लागेको छ, सुकुमबासीका घरमा डोजर लाउने मान्छे आए रे भन्ने सुनेर । डराउनु पर्दैन, एमाले छउन्जेल कसैले तपाईंहरूको घरमा डोजर चलाउन सक्दैन ।’
उनले बालेनको नाम नलिई काठमाडौँमा सुकुमबासी बस्ती हटाउन गरिएको प्रयासलाई यहाँको चुनावी माहोलसँग जोडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण