बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

माघ २४ गते ११औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने, नगदसहित आकर्षक पुरस्कार

आइतबार, ११ माघ २०८२, १२ : ३७
आइतबार, ११ माघ २०८२

काठमाडौँ । २६३औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो । जसमा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपाली सेनाले आइतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । बलियो एकता, सुरक्षित राष्ट्र भन्ने राष्ट्रिय भावनासहित प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ । प्रतियोगिता पाँच विधामा सञ्चालन हुनेछ ।

४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुल्लातर्फ २५० जनाको सहभागिता रहनेछ । सेनानी गगनबहादुर महतराकाअनुसार २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ ६०० जना सहभागी हुने छन्। सेनाका कर्मचारी, अवकाशप्राप्त सैनिक तथा कक्षा १०–१२ का विद्यार्थीका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ, जसमा ८०० जनाको सहभागिता रहनेछ ।

उच्चपदस्थ अधिकारी तथा आमन्त्रित अतिथिका लागि ५ किलोमिटर वाकिङ्गमा ४५० जना सहभागी हुनेछन् भने कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौडमा १०० जना सहभागी हुनेछन् । प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसँगै मोटरसाइकल तथा स्कुटरजस्ता आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले तीन लाख, द्वितीयले दुई लाख र तृतीयले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा चौथोदेखि दशौँ स्थानसम्म स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै चौथोदेखि दशौँ स्थानसम्मका धावकहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । १० किलोमिटर दौड (सेनाका सक्रिय तथा अवकाशप्राप्त कर्मचारी) तर्फ महिला र पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौड तथा ५ किलोमिटर वाकिङ्ग विधामा पनि स्थानअनुसार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नगद पुरस्कारसँगै ४२.१९५ किलोमिटर म्याराथन पुरुष विजेतालाई मोटरसाइकल, २१ किलोमिटर हाफ म्याराथन पुरुष र महिला विजेतालाई काठमाडौं महानगरपालिकाबाट स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक समितिकाअनुसार प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक एकता प्रवद्र्धन, स्वास्थ्यप्रति चेतना अभिवृद्धि, राष्ट्रिय सुरक्षा सन्देश प्रवाह तथा युवा पुस्ता र नेपाली सेनाबीच सकारात्मक सम्बन्ध विकास गर्नु हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप