तीन पूर्वमन्त्रीसँग भिडिरहेका प्रलोपाका उम्मेदवार चौधरीलाई एक दर्जन प्रश्न
सारांश
- रुपन्देही क्षेत्र नम्बर ५ बाट सुनिल चौधरीले प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दिएका छन्।
- चौधरीले पूर्वमन्त्रीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
- उनले युवा रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, र भ्रष्टाचार नियन्त्रणमा जोड दिँदै मतदातालाई इमानदार नेतृत्व चयन गर्न आग्रह गरे।
बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारका ३१ वर्षीय सुनिल चौधरीको दैनिकी अहिले मतदाताको घर–घर पुग्नमा बितिरहेको छ । किनकि उनी रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।
सामाजिक अभियन्ताको परिचय बनाएका चौधरी लामो समय लुम्बिनी थारू आदिवासी युवा संघमा रहेर आफ्नो क्षेत्रको कला, संस्कृति तथा युवाहरूलाई स्वरोजगार बनाउनका लागि काम गरेका छन् । रोचक त के छ भने रुपन्देही–५ मा चौधरीले तीन जना पूर्वमन्त्रीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यो क्षेत्रमा नेपाली कांग्रेसका भरत शाह, जनमत पार्टीका ओमप्रकाश यादव (गुन्जारी) र नेकपाका मोहम्मद वकिल मुसलमान उम्मेदवार बनेका छन् ।
२९ जना उम्मेदवार रहेको यो क्षेत्रमा चौधरी सबैभन्दा कान्छा हुन् । रुपन्देही–५ बाट २०७९ सालको निर्वाचनमा एमालेका वासुदेव घिमिरे निर्वाचित भएका थिए । यो क्षेत्रमा अहिले ७० हजार ७७५ पुरुष, ६३ हजार ६६५ जना महिला र २ अन्य गरी १ लाख ३४ हजार ४४२ मतदाता छन् । यो क्षेत्रमा ४६ मतदानस्थल र १४५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनको विषयमा केन्द्रित रहेर प्रलोपाका उम्मेदवार चौधरीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंले उम्मेदवार बन्नका लागि भर्खर खुलेको दल प्रगतिशील लोकतान्त्रिक पार्टी नै किन रोज्नुभयो ?
दल त धेरै छन् । मजस्तो युवालाई समावेशिता र आफ्नो अधिकार सुनिश्चित हुने खालको दल मैले अन्य दलहरूमा भेटाइनँ । त्यसैले मैले यो दल रोजेँ जहाँ सबैको समावेशिता छ, सबैको अधिकारको रक्षा हुन्छ र सम्मान हुन्छ । विगतका दलहरूले सामाजिक रूपान्तरण गर्न सकेको पाएको छैन । अर्कोतिर भ्रष्टाचारमा मुछिएको पनि देखिन्छ ।
यो क्षेत्रमा तीन जना पूर्वमन्त्रीसहित अन्य अनुभवी व्यक्तिहरूसँग यहाँ चुनावी मैदानमा जानुभएको छ । तपाईँको अनुभव र पार्टी हालै गठन भएको हुँदा उहाँहरूसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
उहाँहरू पूर्वमन्त्री एवं अहिले विभिन्न दलका नेताहरू उम्मेदवार हुनुहुन्छ । मलाई थाहा छ कि उहाँहरूसँग प्रतिस्पर्धा गर्नका लागि निर्वाचनका विभिन्न रणनीतिहरू अपनाउनुपर्ने हुन्छ । तर म पनि केही पढेलेखेको युवा हुँ । यहाँको समाजसँग परिचित छु । मेरा पनि आफ्ना एजेन्डाहरू छन् । यहाँ कतिपय पटक–पटक जित्ने नेताहरू जनताकोमा फर्केर नआउने, जनतालाई समस्या पर्दा भेटिँदैनन् ।

तर म सधैँ यहीँको युवा हुँ । म सबैसँग साथ रहन्छु । मलाई उहाँ पूर्वमन्त्रीहरूसँग चुनावी प्रतिस्पर्धा गर्न कुनै समस्या छैन । म उहाँहरूको भन्दा बलिया एजेन्डाहरू लिएर जान्छु । मेरो मुख्य लक्ष्य दलित, मुस्लिम, जनजाति, थारु, गरिब, विपन्न, सर्वहारा आदि लगायतका हरेक वर्गका मानिसहरूको हक अधिकारको सुनिश्चितता गर्नु हो । यस्तै उपयुक्त रोजगारका अवसरहरूको सुनिश्चितता गर्नु पनि हो ।
तपाईँलाई सांसद उम्मेदवार बन्न प्रेरणा दिने मुख्य कारण के हो ?
मैले लामो समयदेखि समाजका समस्या नजिकबाट देख्दै आएको छु । जनताले भोगिरहेका कठिनाइ—रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको कमी, र सुशासनको कमजोरी—यी सबैको समाधान नीति र कानुनमार्फत मात्र सम्भव हुन्छ । सांसदको हैसियतले जनताको आवाज सिधै संसद्मा पुर्याउन सकिन्छ भन्ने विश्वासका कारण म उम्मेदवार बनेको हुँ । मेरो उद्देश्य सत्ता होइन, सेवा हो ।
तपाईँको निर्वाचन क्षेत्रको सबैभन्दा ठुलो समस्या के हो ?
यस क्षेत्रको सबैभन्दा ठुलो समस्या रोजगारीको अभाव हो । त्यससँगै गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सडक, खानेपानी जस्ता आधारभूत पूर्वाधारको कमी पनि ठुलो चुनौती हो । यी समस्याले युवालाई विदेश पलायन हुन बाध्य बनाएको छ । त्यो रोक्नका लागि पहल गर्नेछु ।
समस्या समाधान गर्न तपाईँको ठोस योजना के छ ?
स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग नै मेरो मुख्य योजना हो । कृषि, पर्यटन, साना उद्योग र उद्यमशीलता प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ । साथै, विकास बजेट सही ठाउँमा, सही समयमा र पारदर्शी रूपमा खर्च हुने व्यवस्था मिलाउनेछु ।
युवा रोजगारी र वैदेशिक पलायन रोक्न तपाईँ के गर्न चाहनुहुन्छ ?
युवालाई सीप र अवसर दुवै आवश्यक छ । त्यसका लागि सीपमूलक तालिम, स्टार्टअपका लागि सहुलियत ऋण, र निजी क्षेत्रसँग सहकार्य गरी स्थानीय रोजगारी सिर्जना गर्न पहल गर्नेछु । विदेश जानै परे पनि सुरक्षित, मर्यादित र सीपअनुसारको रोजगारी सुनिश्चित गर्न नीति सुधारमा काम गर्नेछु ।

शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि तपाईँको भूमिका के हुनेछ ?
शिक्षामा गुणस्तरीय पाठ्यक्रम, दक्ष शिक्षक, र व्यवहारिक शिक्षामा जोड दिनु आवश्यक छ । स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने, अस्पतालमा जनशक्ति र उपकरणको अभाव हटाउने विषयलाई संसद्मा प्राथमिकताका साथ उठाउनेछु ।
भ्रष्टाचार नियन्त्रणमा सांसदको हैसियतले तपाईँ कसरी काम गर्न सक्नुहुन्छ ?
नेपालमा भ्रष्टाचार विकासको सबैभन्दा ठुलो बाधा हो । म कानुन निर्माणमा पारदर्शिता, सार्वजनिक खर्चको निगरानी, र दोषीमाथि कडा कारबाही हुने व्यवस्था मजबुत बनाउन काम गर्नेछु । आफैबाट इमानदारी र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्ने मेरो प्रतिबद्धता छ ।

यो क्षेत्रमा किसान, मजदुर र साना व्यवसायीका मागहरूलाई सम्बोधन गर्न सक्नुहुन्छ ?
मलाई लाग्छ अहिले यी वर्ग नै देशको मेरुदण्ड हुन् । उनीहरूका समस्या बुझ्न नियमित संवाद गर्नेछु, र ती मुद्दालाई संसद्मा प्रश्नोत्तर, प्रस्ताव र विधेयकमार्फत निरन्तर उठाउनेछु । उनीहरूलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने प्रयास गर्नेछु ।
संघीयता कार्यान्वयनमा देखिएका कमजोरी कसरी सुधार गर्न सकिन्छ ?
संघीयताको मर्म अधिकार र स्रोतको सही बाँडफाँट हो । केन्द्र, प्रदेश र स्थानीय तहबिच स्पष्ट अधिकार निर्धारण, समन्वय र क्षमता वृद्धि आवश्यक छ । यसका लागि कानुनी सुधार र व्यवहारिक कार्यान्वयनमा म सक्रिय भूमिका खेल्नेछु ।

अन्य उम्मेदवारभन्दा तपाईँ किन फरक र योग्य ?
म भाषणमा होइन, काममा विश्वास गर्छु । जनतासँग नजिक रहने, समस्या बुझ्ने र समाधान खोज्ने मेरो शैली हो । पदलाई होइन, जिम्मेवारीलाई महत्त्व दिने उम्मेदवारका रूपमा म फरक छु ।
अन्त्यमा, मतदातालाई तपाईंको मुख्य सन्देश के हो?
राजनीति परिवर्तनको माध्यम हो । इमानदार, सक्षम र जवाफदेही नेतृत्व चयन गरेर हामी हाम्रो भविष्य सुरक्षित बनाउन सक्छौँ । तपाईँहरूको विश्वास र साथ पाएर म तपाईँहरूकै सेवक बनेर काम गर्नेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण