आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अभिनेत्री विपना थापासँग संवाद

‘परिवारलाई समय दिएर बचेको समय अभिनयमा’

शुक्रबार, १६ माघ २०८२, ११ : ००
शुक्रबार, १६ माघ २०८२

सारांश

  • अभिनेत्री विपना थापा 'आबाट आमा' फिल्मको प्रवर्द्धनका लागि नेपाल आएकी छिन् र उनले यसलाई आफ्नो करियरको राम्रो फिल्मको रूपमा लिएकी छिन्।
  • विपनाले 'ह्रस्वदीर्घ' पछि परिवार र सन्तानलाई प्राथमिकता दिँदै अभिनयमा समय दिन नसकेको बताइन्, तर दर्शकको माया र शुभेच्छाका लागि अभिनयमा सक्रिय रहेको उल्लेख गरिन्।
  • 'आबाट आमा' आमाको कथामा आधारित सन्देशमूलक फिल्म हो, जसमा नेपाली आमाहरूको कथा र उनीहरूको पीडा समेटिएको छ, र यसमा विपनाको महत्त्वपूर्ण भूमिका रहेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । गत वर्ष ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि अभिनेत्री विपना थापाले नेपाली फिल्ममा पुनरागमन गरिन् । शुक्रबार नयाँ फिल्म ‘आबाट आमा’ प्रदर्शनमा आएको छ, जसको प्रवर्द्धनका लागि उनी नेपाल आएकी छिन् । भारतमा घरजम गरेकी विपना कुनै बेलाकी लोकप्रिय अभिनेत्री हुन् ।

‘आबाट आमा’मा महत्त्वपूर्ण भूमिकामा प्रस्तुत भएकी विपनाले यसलाई आफ्नो करिअरको राम्रो फिल्मका रूपमा लिएकी छिन् । परिवार र सन्तानप्रतिको कर्तव्यले फिल्ममा भने जसरी समय दिन नभ्याइरहेकी उनी पछिल्लो समय चरित्र अभिनेत्रीको रूपमा देखिन थालेकी छिन् । आफूलाई अभिनेत्री भन्दा पनि कलाकार भन्न रुचाउने विपना अहिले व्यावसायिक लाभ वा आर्थिक फाइदा भन्दा पनि दर्शकको माया र शुभेच्छाका लागि अभिनयमा सक्रिय भएको बताउँछिन् । यिनै विषयमा केन्द्रित रहेर विपनासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :  

  • अहिले नेपाल आउनुको उद्देश्य फिल्म ‘आबाट आमा’ हो कि अन्य कुनै छ ?

म फिल्म ‘आबाट आमा’ कै प्रदर्शनका लागि नेपाल आएकी हुँ । म मात्र होइन, भारतीय अभिनेता प्रदीप रावत आउनुको उद्देश्य पनि यही हो । हामी फिल्मको प्रचारप्रसारमा लागिरहेका छौँ । मिडिया भेटिरहेका छौँ ।

  • फिल्मको प्रदर्शन तयारी कस्तो छ ?

एकदमै राम्रो छ । फिल्मको सेन्सर समेत भइसकेको छ । मैले पनि फिल्म हेरिसकेकी छु । फिल्म एकदमै राम्रो बनेको छ । प्रचारका लागि फिल्मका गीत, टिजर र ट्रेलर जति पनि सार्वजनिक भए, सबैबाट शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ । फिल्मका लागि पूरै युनिटले धेरै मेहनत गरेका छौँ ।

  • फिल्ममा कसरी जोडिनुभयो ?

निर्देशक चन्द्र पन्तकै यसअघिको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत मैले १६ वर्षपछि फिल्म अभिनयमा कमब्याक गरेकी थिएँ । सोही फिल्मको सुटिङको सिलसिलामा उहाँले ‘अर्को एक फिल्ममा पनि एउटा राम्रो रोल छ, हजुरले गर्नुपर्छ है दिदी’ भन्नुभएको थियो । उहाँले मलाई विश्वास गरेर अफर गर्नुभएको थियो । म पनि उहाँको कामबाट प्रभावित भएको थिएँ । पहिलो काम राम्रो भएकोले पनि जोडिएको हो ।

  • नाम नै ‘आबाट आमा’ छ, के यो आमाकै विषयमा बनेको फिल्म हो ?

‘आबाट आमा’ भनेको सृष्टिको पहिलो नाम हो । यो एउटी आमाको कथा हो, एउटा महत्त्वपूर्ण सन्देश बोकेको फिल्म हो । हरेक नेपाली आमाहरूको कथा र उनीहरूले भोगेको पीडा यसमा समेटिएको छ । यो एउटा सन्देशमूलक र रमाइलो फिल्म पनि हो । यसको विषयवस्तु हरेक दर्शकलाई मध्यनजर गरेर तयार गरिएको छ ।

  • ‘ह्रस्वदीर्घ’ आएको करिब डेढ वर्षपछि नयाँ फिल्ममा देखिनुभएको छ । कलाकारका लागि यो ग्याप अलि लामो भएन र ?

यो ग्याप धेरै हो । तर अहिले मेरो पहिलो प्राथमिकता सन्तान र परिवार हो । त्यसपछि फिल्म पर्छ । मेरो बच्चाको पढाइ, परीक्षा र उसको आवश्यकताले गर्दा मैले फिल्मलाई निरन्तरता दिन सकिनँ । अहिले पनि म पूर्ण रूपमा सक्रिय छैन, छोराको स्नातक नसकिउन्जेल मेरो जिम्मेवारी घरप्रति अलि बढी नै छ । ‘ह्रस्वदीर्घ’मा अभिनयपछि पनि मैले फिल्म लगातार पाएकी हुँ । केहीमा अभिनय पनि गरेकी थिएँ । विभिन्न कारणले त्यसलाई निरन्तरता दिन सकिएन, बिचमै छोड्नुपर्‍यो ।

  • ‘ह्रस्वदीर्घ’ मार्फत १६ वर्षपछि फर्किँदा पनि दर्शकको माया पहिले झैँ पाउनुभयो । अब फिल्ममा निरन्तरता दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?

लाग्दैन, किनकि पारिवारिक जीवन मैले आफैँले रोजेको हो । म अहिले उद्योगमा करिअर बनाउन वा सङ्घर्ष गर्न आएकी होइन । मेरो परिवारलाई समय दिएर बचेको समय मात्र मैले अभिनयमा खर्च गरिरहेकी छु । मैले गर्नुपर्ने नै त्यही हो ।

  • पहिले हिरोइन, अहिले चरित्र अभिनेत्री । अहिलेको अनुभव कस्तो छ ?

पहिले पनि म आफूलाई हिरोइनभन्दा कलाकार भन्न रुचाउँथेँ । कलाकारले गर्ने कलाकारिता नै हो, त्यसैले भूमिकामा खासै फरक महसुस हुँदैन । तर म आफूलाई भाग्यमानी ठान्छु, किनभने चरित्र अभिनेत्रीको रूपमा जुन फिल्म गरिरहेकी छु, त्यसको मुख्य पात्र म हो । ‘आबाट आमा’ आमाको कथामा बनेको हो, आमाको चरित्रमा म छु । सायदै अरूले कमब्याकमा मेरो जस्तो भूमिका पाउँछन् होला । यो सबैको सपोर्ट र सबैजनाको मायाले गर्दा भएको हो ।

  • दर्शकले किन हेर्नुपर्छ जस्तो लाग्छ यो फिल्म ?

यो फिल्म हरेक सन्तान र अभिभावकले हेर्नैपर्ने खालको छ । यो कथा नेपाली आमाको कथा मात्र होइन, संसारभरिकै आमाको कथा हो । विश्वका जुनै कुनाकी आमा भए पनि सन्तानका लागि उनले गर्ने सङ्घर्ष र माया एउटै हो । यो हरेकको घरभित्रको कथा भन्दा फरक नपर्ला । नेपालका कतिपय आमाहरूले छोराछोरी विदेश गएपछि वा वृद्धाश्रममा छोडेपछि भोग्नुपर्ने व्यथा समेत यसमा छ । नेपालमा पछिल्लो समय सन्देशमूलक फिल्म कम बनिरहेका छन् । यस्तो अवस्थामा यसले समाजलाई एउटा सकारात्मक सन्देश दिन्छ । अहिले सामाजिक सञ्जालको जमाना हो, यो समय मानिसहरूले आफ्ना लागि मात्र सोचिरहेका छन् । फिल्मले अरूको लागि सोच्न र बाँच्न सिकाउँछ ।

  • भारतमा बसेर नेपाली फिल्ममा काम गर्न कति सहज छ ?

अलि कठिन त छ, त्यसैले म सीमित काम मात्र गर्छु । म एउटी आमा, श्रीमती र बुहारी पनि हुँ, त्यसैले सबै कुरा सन्तुलनमा राखेर अघि बढ्नुपर्छ ।

  • त्यहाँको समुदायले तपाईंको अभिनयलाई कसरी लिन्छ ?

त्यहाँ पनि कला र कलाकारलाई सम्मान गर्ने संस्कृति छ । मेरो परिवार र छिमेकीहरूले ममाथि गर्व गर्नुहुन्छ । फिल्म अभिनय गरेका कारण मलाई झन् रेस्पेक्ट र माया दिइरहनुपर्छ । मेरा देवरानीहरू ‘मेरो दिज्यूले नेपाली फिल्ममा राम्रो गर्नुभएको छ’ भनेर गर्व महसुस गरिरहेका छन् । कामका लागि हौसला दिन्छन् ।

  • परिवारले तपाईंका फिल्म हेर्छन् त ?

अभिनयमा कमब्याक भएपछिका फिल्म हेरेका छैनन् । त्यो प्रत्यक्ष हेर्न मिलेको छैन । तर युट्युबमा पुराना फिल्महरू हेरेर उहाँहरू खुसी हुनुहुन्छ ।

  • फिल्मको पारिश्रमिकले नेपाल आउने–जाने खर्च पुग्छ त ?

मैले अहिले व्यावसायिक लाभका लागि खेलेकी होइन । म आफ्नो इच्छा र दर्शकको मायाका लागि यो क्षेत्रमा जोडिएकी हुँ । मलाई पहिले नाम, दाम र इज्जत यो क्षेत्रले दियो, यहाँका दर्शकले दिए । उद्योग र दर्शकसँग जोडिरहन फिल्म गरेकी हुँ । पैसाभन्दा पनि दर्शकको माया र मेरो पहिचान नै मेरा लागि ठुलो कुरा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप