शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पाँचौँ केभीकेएसएस कप बास्केटबलको उपाधि भ्याली पब्लिकलाई

शुक्रबार, १६ माघ २०८२, २० : १६
शुक्रबार, १६ माघ २०८२

सारांश

  • भ्याली पब्लिक स्कुलले केभीकेएसएस छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जित्यो।
  • फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमीलाई २१–१९ ले पराजित गर्यो।
  • सेलिना गुरुङ 'मोस्ट भ्यालुएबल प्लेयर' र एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता घोषित भए।

काठमाडौँ । भ्याली पब्लिक स्कुलले पाँचौँ केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ। टोखास्थित काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को प्राङ्गणमा शुक्रबार भएको रोमान्चक फाइनल भिडन्तमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–१९ को अत्यन्तै साँघुरो अन्तरले हराउँदै च्याम्पियन बनेको हो।

भ्याली पब्लिकको जितमा दृष्य गुरुङले सर्वाधिक ७ स्कोर गरिन्। यस्तै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजक केभीकेएसएस ‘ए’ ले ल्यान्डमार्क एकेडेमीलाई २८–२० ले पराजित गर्‍यो। आयोजक टोलीकी खुशी मिटोकले आफ्नो टोलीका लागि १३ अंक जोड्दै महत्वपूर्ण योगदान दिइन्।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी भ्याली पब्लिककी सेलिना गुरुङ 'मोस्ट भ्यालुएबल प्लेयर' घोषित भइन्। त्यस्तै इबीएकी सन्जिला मगर उत्कृष्ट 'थ्री प्वाइन्टर' र केभीकेएसएस ‘ए’ की एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भए। काठमाडौं युरो स्कुलले अनुशासित टिमको पुरस्कार जित्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम बन्यो।

विजेता टोली र खेलाडीहरूलाई केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए। समापन समारोहकै अवसरमा राष्ट्रिय बास्केटबल खेलाडीहरू रोशनी श्रेष्ठ र सोनी गुरुङका साथै सिनियर प्रशिक्षक पूर्ण न्यौपानेलाई समेत सम्मान गरिएको थियो। माघ ११ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १६ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप