बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गैँडाकोट–राम्दी–मालढुंगा २४२ किलोमिटर सडक कालोपत्र

सोमबार, २६ माघ २०८२, १६ : ०१
सोमबार, २६ माघ २०८२

काठमाडौँ । कालिगण्डकी कोरिडोर (गैडाकोट–राम्दी–मालढुंगा) सडक योजना, पाल्पाले पुस २०८२ सम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

आयोजनाले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म आयोजनाको ७९.८६ प्रतिशत भौतिक प्रगति भएको छ । यस्तै आयोजनाको कुल लागतको ७०.६५ वित्तीय प्रगति भएको जनाइएको छ ।

४९५ किलोमिटर लामो राष्ट्रिय गौरवको यो आयोजनाले नेपालको उत्तर–दक्षिण जोड्छ । यसले देशको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा धार्मिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

आयोजनाको कार्यक्षेत्र गैडाकोट–राम्दी–मालढुंगा खण्ड २४० किलोमिटर र मिर्मि–सेतिवेणी–फलेवास–अर्मादी खण्ड ५३ किलोमिटर गरी कुल २९३ किलोमिटर छ । सरकारले आर्थिक वर्ष २०६७/०६८ बाट योजना कार्यालय स्थापना गरी यसको निर्माण कार्य सुरु गरेको थियो र २०७५ सालबाट यसलाई राष्ट्रिय गौरवको आयोजनामा रुपान्तरण गरिएको थियो ।

२०८२ पुसको अन्त्यसम्म प्रगति विवरणअनुसार आयोजनाको कुल २९३ किलोमिटर ट्र्याक खुलेको र यसमध्ये २४२ किलोमिटर सडक कालोपत्र भइसकेको छ । आयोजनामा निर्माण गरिनुपर्ने ५९ वटामध्ये ४२ वटा पुलको ठेक्का व्यवस्थापन भइसकेको छ, ३६ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ६ वटा निर्माणाधीन अवस्थामा छन् ।

कालोपत्रका लागि ठेक्का व्यवस्थापन गरिएका सडकको लम्बाइ ७२ किलोमिटर छ । यस आयोजनाअन्तर्गत ६७.९३ किलोमिटर सडक पाल्पास्थित सडक डिभिजन कार्यालयलाई र ७७.९७ किलोमिटर सडक भरतपुरस्थित सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

हालसम्म डिभिजन कार्यालयहरूमा हस्तान्तरण भएको सडक १४५.९० किलोमिटर (४९.७९ प्रतिशत) छ ।आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित ९८ करोड बजेटमध्ये पुस मसान्तसम्म १९ प्रतिशत पुँजीगत खर्च भएको छ । आयोजनाको कुल अनुमानित लागत २० अर्ब रुपैयाँ रहेकोमा हालसम्म १४ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप