भारतको केआईआईटीमा मैले देखेको त्यो रात...
सारांश
- २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परिन्।
- लम्सालको मृत्युपछि क्याम्पस प्रशासनले उनको गुनासोमाथि समयमै कारबाही नगरेको आरोप लाग्यो।
- घटनापछि नेपाली विद्यार्थीहरूले विरोध जनाए भने नेपाल सरकारले कूटनीतिक पहल गर्यो।
१६ फेब्रुअरी ०२५ को रात, हाम्रो क्याम्पसको छात्रावासमा २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परिन् । प्रहरीका अनुसार उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । र, घटनालाई प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टमपछि आत्महत्या नै मानिएको थियो । त्यो रात क्याम्पसमा वार्षिक महोत्सवको समापन भइरहेको थियो ।
प्रकृति लम्सालको मृत्युले संस्थागत उत्तरदायित्व र विद्यार्थी सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको थियो । उनका परिवार र साथीहरूका अनुसार, उनले आफ्नो मृत्युभन्दा करिब एघार महिना अघि, मार्च ०२४ मा आफ्ना सहपाठी अद्विक श्रीवास्तव विरुद्ध दुर्व्यवहार, मानसिक उत्पीडन तथा ह्यारासमेन्टसम्बन्धी गुनासो क्याम्पस प्रशासनसमक्ष दर्ता गराएकी थिइन् ।
तर ती गुनासोमाथि समयमै प्रभावकारी र पर्याप्त कारबाही भएको देखिएन । घटनापछि भारतीय प्रहरीले सम्बन्धित व्यक्तिलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
म त्यो रात आफ्ना साथीहरूसँग क्याम्पस बाहिरबाट फर्किरहेको थिएँ । होस्टल परिसरमा प्रवेश गर्दा असामान्य चहलपहल देखिन्थ्यो । केही समयपछि एक नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएको खबर फैलियो । त्यसपछि नेपाली विद्यार्थीहरूबिच पीडा, आक्रोश र अन्योलको वातावरण सिर्जना भयो ।
त्यही रात नेपाली विद्यार्थीहरूले क्याम्पस परिसरमै शान्तिपूर्ण रूपमा विरोध जनाए । स्थिति संवेदनशील बनेपछि क्याम्पस परिसरमा ओडिशा प्रहरीका दुई प्लाटुन तैनाथ गरिए । प्रहरीको उपस्थितिले परिस्थितिको गम्भीरता स्पष्ट देखाउँथ्यो ।

भोलिपल्ट परिस्थिति अप्रत्याशित रूपमा बदलियो । नेपाली विद्यार्थीहरूलाई क्याम्पस छाड्न भनियो र सुरक्षाकर्मीहरूको उपस्थितिमा विद्यार्थीहरूलाई होस्टलबाट बाहिर पठाइयो । आफ्नो साथीको मृत्युको शोकबिच क्याम्पस छाड्न बाध्य हुनु अत्यन्त पिडादायी अनुभव थियो ।
यस घटनाले नेपालमा पनि व्यापक प्रतिक्रिया निम्त्यायो । नेपाल सरकारले कूटनीतिक माध्यमबाट चासो व्यक्त गर्यो र विद्यार्थी सुरक्षाको विषयमा संवाद भयो । भारतको विदेश मन्त्रालयले विदेशी विद्यार्थीहरूको सुरक्षाप्रति आफू सचेत रहेको जनायो । विश्वविद्यालय प्रशासनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा सहकार्य गरिरहेको बताएको थियो ।
यो घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ– विद्यार्थीहरूले उठाएका गुनासोलाई शैक्षिक संस्थाहरूले कत्तिको गम्भीर रूपमा लिन्छन् ? त्यसमा पनि नेपाली विद्यार्थीहरूले उठाएको विषयलाई झन् कत्तिको गम्भीर रूपमा लिन्छन् ? शैक्षिक संस्थाहरू केवल शिक्षणका केन्द्र मात्र होइनन्, ती विद्यार्थीहरूको सुरक्षा, सम्मान र विश्वासका आधार पनि हुन् ।
विशेषगरी विदेशी विद्यार्थीहरूका लागि, संस्थागत संवेदनशीलता र उत्तरदायित्व झन् महत्त्वपूर्ण हुन जान्छ ।
प्रकृति लम्साल अब फर्केर आउन सक्दिनन् । तर उनको घटनाले हामीलाई एउटा स्पष्ट सन्देश दिएको छ– विद्यार्थीहरूको गुनासोलाई समयमै सुन्न सकिएन भने, उनीहरूको सुरक्षा सुनिश्चितता गर्न सकिएन भने र संस्थागत जवाफदेहिता बलियो बनाइएन भने सबै प्रयासहरू आश्वासन जस्ता लाग्दा रहेछन् ।
(गौतम भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण