बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्याटलग्राउन्ड : धनकुटा

५ पटक प्रधानमन्त्री दिएको धनकुटा अब कसको ?

सोमबार, ११ फागुन २०८२, १० : ००
सोमबार, ११ फागुन २०८२

सारांश

  • धनकुटामा आगामी निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ।
  • सूर्यबहादुर थापाको विरासत कमजोर भएपछि एमालेको पकड बलियो बनेको छ, तर कांग्रेसले पनि चुनौती दिने प्रयास गर्दैछ।
  • निर्वाचनमा १७ जना उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्, जसमा एमालेबाट राजेन्द्र राई, कांग्रेसबाट दिनेश राई मुख्य प्रतिस्पर्धी छन्।
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । पहाडकी रानी भनेर चिनिने धनकुटामा पनि देशभरमा जस्तै राजनीतिक राप र ताप बढेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले धनकुटाको पुरानो राजनीतिक विरासत र नयाँ शक्तिहरूबिचको टक्करले परिणाम कसको पोल्टामा पार्छ भन्न सक्ने अवस्था छैन । 

धनकुटा नेपाललाई पाँच पटकसम्म प्रधानमन्त्री दिने सूर्यबहादुर थापाजस्ता चतुर राजनीतिज्ञ जन्माएको ठाउँ हो । सूर्यबहादुर थापाको निधनसँगै उनले खडा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को त्यो विरासत धनकुटामा इतिहासको एउटा कथा जस्तै छ । राप्रपाको अस्तित्व छ तर, प्रतिस्पर्धा छैन ।  

धनकुटाको राजनीतिक चर्चा गर्दा मुगा गाउँमा जन्मिएका सूर्यबहादुर थापालाई बिर्सनु असम्भव छ । २०१५ सालमा सल्लाहकार सभाको अध्यक्ष नियुक्त भएदेखि २०७१ सालमा आफ्नो अन्तिम श्वास फेर्दासम्म थापा नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहे । उनले राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र गरी तीनै जना राजाहरूको सङ्कटमा सारथि बनेर पाँच पटकसम्म प्रधानमन्त्री बने । 

उनी २०२२ सालमा राजा महेन्द्रको प्रत्यक्ष छनोटबाट पहिलो पटक प्रधानमन्त्री बनेका थिए । २०३६ सालको जनमत सङ्ग्रहमा साम, दाम, दण्ड र भेदको नीति अख्तियार गर्दै पञ्चायतलाई जिताएपछि राजा वीरेन्द्रले उनलाई दोस्रो पटक सत्ताको साँचो सुम्पिए । बहुदलीय व्यवस्था आएपछि पनि २०५४ सालमा कांग्रेसको समर्थनमा र २०५९ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी पुनः प्रधानमन्त्रीको कुर्सीमा बसे ।

सूर्यबहादुर थापाले प्रधानमन्त्रीका रूपमा धनकुटाका लागि जे गरे, त्यसकै जगमा आजको आधुनिक धनकुटा बनेको सम्झने धेरै छन् । उनकै पहलमा धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको प्रशासनिक सदरमुकाम बनाइयो । धरान–धनकुटा सडक, पाख्रिबास कृषि अनुसन्धान केन्द्र, धनकुटा बहुमुखी क्याम्पस र विभिन्न सरकारी कार्यालयहरूको स्थापनाले धनकुटालाई पहाडको एउटा विकसित हब बनायो । 

तर, उनको निधनपछि धनकुटामा राप्रपाको रापताप बिस्तारै ओइलाउन थाल्यो । थापाको शेषपछि उनका छोरा सुनिल बहादुर थापाले राप्रपाको बिँडो थाम्न खोजे । तर, उनी २०७७ सालमा दलबलसहित नेपाली कांग्रेसमा प्रवेश गरे । थापाको विरासत बोकेको समूह नै कांग्रेसमा विलय भएपछि धनकुटामा राप्रपाको चमकधमकमा पूर्णविराम लाग्यो ।

थापा खलकको विरासत कमजोर बन्दै गएपछि त्यहाँ राजनीतिक नेतृत्वको केन्द्रबिन्दुमा आइपुग्यो एमाले । २०६४ सालको पहिलो संविधानसभामा राप्रपा र एमालेलाई समेत पराजित गरेको तत्कालीन माओवादीले आफ्नो जितलाई जोगाइरहन सकेन । २०७० सालको दोस्रो संविधानसभामा पुनः राप्रपा र एमालेका उम्मेदवार विजयी बने । त्यसपछिको दुईवटा निर्वाचनमा लगातार एमालेले जितेको छ ।

२०७४ र २०७९ को निर्वाचनमा विजयी भएका राई यसपटक झन् बढी आत्मविश्वासका साथ मैदानमा उत्रिएका छन् । उनी भन्छन्, ‘धनकुटामा यसपटक कुनै प्रतिस्पर्धा नै छैन, म सिधै र सजिलै जित्छु ।’ एमालेभित्रको आन्तरिक विवाद र महाधिवेशनको किचलोले निर्वाचन परिणाममा असर पार्ने विपक्षीको दाबीलाई उनले ठाडै अस्वीकार गरेका छन् । एमालेको बलियो सांगठनिक संरचना र विगतमा आफूले गरेका विकास निर्माणका काम नै आफ्नो जितको मुख्य आधार भएको उनको तर्क छ । एमाले नेता तथा कोशी प्रदेशका मन्त्री इन्द्रमणि पराजुलीले पनि अन्तर–पार्टी सङ्घर्ष बाह्य प्रतिस्पर्धामा देखिनु भनेको आफ्नै घर जलाएर खरानी ताप्नु जस्तै हुने भएकाले सबै असन्तुष्टिहरूलाई थाती राखेर पार्टी एक ढिक्का भई चुनावमा होमिएको बताएका छन् ।

राईलाई चुनौती दिन नेपाली कांग्रेसले जिल्ला सभापति दिनेश राईलाई अगाडि सारेको छ । कांग्रेसको मुख्य बल नै सूर्यबहादुर थापाको विरासत बोकेको सुनिल थापा समूहको पूर्व राप्रपा हो । कांग्रेसका उम्मेदवार दिनेश राई धनकुटामा यसपटक परिवर्तन र कुशासनको अन्त्यका लागि जनताले कांग्रेस रोज्ने बताउँछन् । सुनिल थापा समूहको आगमनले कांग्रेसको सांगठनिक शक्तिमा ठुलो बढोत्तरी भएको छ । त्यसमाथि एमालेलाई लागेको जेनजी हत्याको आरोप र नेतृत्व परिवर्तन नभई जनतामा जाँदा खाइरहेको गाली नै आफ्नो जितको आधार भएको राईको दाबी छ । ‘विगतमा एमालेको किल्ला मानिएको धनकुटामा यसपटक म जित्छु,’ कांग्रेस उम्मेदवार  राईले भने, ‘कांग्रेसले अगाडि बढाएको युवा नेतृत्व र निःशुल्क शिक्षा–स्वास्थ्यका एजेन्डाहरू जनताले मन पराउनु भएको छ ।’

यसपटकको निर्वाचनमा अर्को रोचक पक्ष पनि छ । एउटै संगठनबाट राजनीति सुरु गरेका दुई पुराना सहकर्मीहरूबिच पनि प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेका राजेन्द्र राई र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल कुनै बेला एउटै कमिटीमा रहेर काम गरेका पात्र हुन् । 

२०४९ सालमा पौडेल जिल्ला विकास समितिको सभापति हुँदा राई सदस्य थिए । अहिले तिनै पौडेलले राईको विरासतलाई चुनौती दिइरहेका छन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको एकतापछि बनेको नेकपाबाट उम्मेदवार बनेका पौडेल झण्डै १८ वर्षपछि उम्मेदवार बनेका हुन् । उनी २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट उम्मेदवार बन्दा तत्कालीन माओवादीकै हरिराज खेवासँग पराजित हुन पुगेका थिए । उनी यो पटक आफूले जित्ने दाबी गर्छन् । ‘जिल्लाको व्यवस्थित विकासको मार्गचित्र मसँग मात्र छ, म इमानदारिताको राजनीति गर्न मैदानमा आएको हुँ,’ उनले भने । उनले यस पटक एमालेसँग भन्दा पनि कांग्रेससँग जितका लागि प्रतिस्पर्धा भइरहेको उनको दाबी छ ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दिनेश भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारीले जेनजी आन्दोलन र नयाँ पुस्ताको चाहनालाई प्रतिनिधित्व गरिरहेका छन् । पुराना दलहरूप्रति मतदातामा रहेको व्यापक असन्तुष्टिलाई क्यास गर्दै रास्वपाले आफूलाई पहिलो शक्तिको रूपमा उभ्याउने दाबी गरेको छ । ‘पुराना दलहरूले धनकुटालाई केवल भोट बैंक मात्र बनाए, हामी यसको पुरानो प्रशासनिक र शैक्षिक साख फर्काउन आएका हौँ,’ भण्डारीले भने । 

सूर्यबहादुर थापाको युग सकिएपछिको यो निर्वाचनले धनकुटाको आगामी राजनीतिक दिशा तय गर्नेछ । के एमालेले आफ्नो विरासत जोगाउँदै राजेन्द्र राईलाई ह्याट्रिक गराउला ? वा कांग्रेसले बाजी मार्ला ? अथवा धर्मराज पौडेलले पुराना सहकर्मीलाई पछार्दै नयाँ इतिहास रच्नेछन् ? या फेरि रास्वपाका उम्मेदवार भण्डारीले अरू सबैलाई उछिन्छन् ? त्यो भने फागुन २१ गतेको निर्वाचन पर्खनै पर्छ । 

धनकुटाको चुनावी इतिहास हेर्दा एमाले र थापा परिवार (राप्रपा/कांग्रेस) बिच नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ । २०७० सालमा राप्रपाका सुनिल थापाले एमालेका राजेन्द्र राईलाई पराजित गरे । २०७४ सालमा वाम गठबन्धनको साथ पाएका राजेन्द्र राईले सुनिल थापालाई १० हजार ४ सय ५९ मतान्तरले हराए । २०७९ सालमा राजेन्द्र राईले सुनिल थापालाई १ हजार ३ सय ९७ मतान्तरले मात्र पराजित गरे ।  

धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाताहरूले यसपटक १७ जना उम्मेदवारहरूमध्ये एकजनालाई छान्नुपर्नेछ । जसका लागि १ सय १९ मतदानस्थलमा १ सय ६६ वटा मतदान केन्द्र तोकिएको छ । 

  • को को छन् उम्मेदवार ?

धनकुटामा प्रतिनिधि सभा सदस्यका लागि एमालेका तर्फबाट राजेन्द्रकुमार राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सान बहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा उम्मेदवार रहेका छन् । 

यस्तै नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिक राम राई, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई, स्वतन्त्रबाट मनकुमार योञ्जना, जितेन्द्र राई र लाक्पा तामाङ उम्मेदवार रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप