सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने

सोमबार, ११ फागुन २०८२, २१ : २३
सोमबार, ११ फागुन २०८२

पाल्पा । पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तरराष्ट्रिय लायन्स क्लबको आर्थिक सहयोगमा पाल्पा अस्पताल विकास समितिसँगको समन्वयमा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको हो ।

लायन्स क्लबका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिबीच अस्पतालमा भएको छलफलपछि सो कार्यका लागि फोहर व्यवस्थापन तथा वातावरणीय सुरक्षा परियोजना सञ्चालन गरिने टुङ्गो लागेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्मचार्यले जानकारी दिए। उनका अनुसार एक लाख अमेरिकी डलर लागतमा अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र बनाउने सहमति भएको छ ।

अस्पतालबाट दैनिक उत्पादन हुने फोहरमा सुई, रगत लतपतिएका कपडाबाट अस्पतालमा आउने बिरामी, कुरुवा र अस्पताल वरपरका बासिन्दालाई समेत जोखिम हुने भएकाले परियोजनामार्फत अस्पतालको फोहरलाई वैज्ञानिक ढङ्गले निरुत्साहित र विसर्जन गर्न लागिएको लायन्स क्लबका पूर्वअध्यक्ष एवं डिष्ट्रिक सिनियर एडभाइजर प्रदीपकुमार उदयले बताए।

परियोजनाको कूल लागतमध्ये ७५ प्रतिशत रकम ७५ हजार डलर अन्तरराष्ट्रिय लायन्स क्लबले बेहोर्नेछ भने बाँकी २५ प्रतिशत रकम पाल्पा अस्पतालले ‘म्याचिङ फण्ड’ का रूपमा उपलब्ध गराउनुपर्ने उनले उल्लेख गरे । अस्पताल प्रशासन तथा विकास समितिले जिल्लाका १४ वटा लायन्स क्लबहरूसँग गरेको छलफलमा लायन्सकर्मीहरूले अस्पतालको पूर्वाधार विकासमा ठूलो लगानी गर्न तयार रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप