पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
सारांश
- पश्चिम एसियामा बढेको तनाव र एआई बबलको चिन्ताले एसियाली सेयर बजारमा व्यापक गिरावट आएको छ ।
- दक्षिण कोरियाको कोसी सूचकाङ्कमा सबैभन्दा धेरै ९ प्रतिशतसम्मको कमी देखियो, जसको प्रभाव सामसङ र एसके हाइनिक्समा पनि पर्यो ।
- अमेरिकी रोजगारी तथ्याङ्क र ब्रोडकमको कमजोर आम्दानी प्रक्षेपणले प्रविधि सेयरमा दबाब बढाएको छ भने इजरायल-इरान तनावले तेल आपूर्तिमा अनिश्चितता थपेको छ ।
काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा सम्भावित ‘बबल’ सम्बन्धी चिन्ताका कारण सोमबार एसियाली सेयर बजारहरूमा व्यापक कमी देखिएको छ । गएको शुक्रबार सेयर बजारमा कारोबार बन्द हुँदा अमेरिकी सेयर परिसूचकहरूमा तीव्र कमी आएको थियो ।
यसैको प्रभाव पोखिएर पनि एसियाका सेयर बजार दबाबमा आएका हुन् । सोमबार दक्षिण कोरियाको प्रमुख सेयर सूचकाङ्क कोसीमा सबैभन्दा धेरै कमी देखियो ।
सुरुवाती कारोबारका क्रममा यो सूचकाङ्क झन्डै ९ प्रतिशतसम्म घटेको थियो । दिउँसोसम्म कमी ४ दशमलव ९२ प्रतिशतमा खुम्चियो । एआई तथा प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा विशेष दबाब देखियो ।
सामसङ इलेक्ट्रोनिक्सको सेयर ५ दशमलव ७ प्रतिशत र एसके हाइनिक्सको सेयर २ दशमलव ७ प्रतिशतले घट्यो । जापानको निक्केई–२२५ ३ दशमलव ७५ प्रतिशतले ओरालो लाग्दा ताइवानको टाएक्स ३ दशमलव ४७ प्रतिशतले घटेको थियो ।
हङकङको हाङशेङ १ दशमलव १८ प्रतिशतले घट्दा चीनको शाङ्हाई कम्पोजिट इन्डेक्समा १ दशमलव २६ प्रतिशतको कमी आएको थियो । यसअघि शुक्रबार अमेरिकाको प्रविधि–केन्द्रित नास्डाक कम्वोजिट ४ दशमलव १८ प्रतिशतले घटेको थियो ।
यो नास्डाकमा आएको सन् २०२५ को अप्रिलयताकै सबैभन्दा ठुलो दैनिक कमी मानिएको छ । त्यस्तै, अर्को परिसूचक एसएन्डपी ५०० पनि २ दशमलव ६४ प्रतिशतले घटेको थियो । यो भने अक्टोबर पछिकै ठुलो कमी थियो ।
विश्लेषकहरूका अनुसार अमेरिकी एआई तथा चिप निर्माता कम्पनी ब्रोडकमले अपेक्षाभन्दा कमजोर आम्दानी प्रक्षेपण सार्वजनिक गरेपछि एआई क्षेत्रको सेयरको मूल्यमा मूल्य वृद्धिको फोका मात्र उठिरहेको हो कि भन्ने चिन्ता बढेको छ ।
अमेरिकामा रोजगारी बजारको अवस्था अपेक्षाकृत बलियो रहेको तथ्याङ्क आएपछि आगामी महिनाहरूमा ब्याजदर बढ्न सक्ने अनुमानले पनि प्रविधि सेयरमा दबाब सिर्जना गरेको छ ।
यसैबिच, इजरायल र इरानबिच अप्रिलमा भएको अस्थायी युद्धविरामपछि सबैभन्दा ठुलो स्तरको सैन्य भिडन्त भएको खबरले विश्व बजारमा थप अनिश्चितता बढाएको छ ।
यसले तेल आपूर्तिमा अवरोध आउने चिन्ता बढाएको छ, जसको प्रत्यक्ष असर तेल आयातमा निर्भर एसियाली अर्थतन्त्रहरूमा पर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण