घरदैलो भयो, प्रश्न बाँकी नै रह्यो
सारांश
- नवलपरासीका एक मतदाताले बोरिङ बनाइदिने आश्वासन नपाएपछि यसपालि भोट फेर्ने विचार गरे।
- चितवनका एक मतदाताले बाटो बनाउन बजेट नपरेको गुनासो गरे, उम्मेदवारले चासो दिएनन्।
- अधिकांश उम्मेदवारको घरदैलो शैलीले मतदातालाई निराश पारेको र भोट बदल्ने अवस्था आएको छ।
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का परशुराम काफ्लेलाई पूर्व सांसद तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीलाई प्रश्न गर्ने मन थियो- ‘मेरो टोलका लागि बोरिङ कहिले बन्छ ?’ तत्काल समाधान नगरे पनि कम्तीमा आश्वासन पाउने उनीसँग आशा थियो ।
तर गाडीको लस्करमा फूलमालासहित सुसज्जित लस्करले काफ्लेलाई हेर्यो, अनि हात हल्लायो । जवाफमा उनले पनि हात हल्लाइदिए, तर जब गाडी आँखाभन्दा पर पुग्यो, अनि उनको मन भरियो । रातोपाटीसँग सम्पर्कमा आएपछि निराश हुँदै उनले भने, ‘यसपालि त भोट फेर्नुपर्छ होला ।‘

चितवनको गुञ्जननगरमा बस्ने कृष्णप्रसाद धिताललाई रेणु दाहाललाई सोध्नु थियो- 'अन्त चिल्ला सडक बन्दा मेरो घरछेउको बाटो ग्राभेलको बजेट पनि किन पर्दैन ?'
आफ्नै टोलका मानिसहरू मिलेर घरछेउको सडकमा ग्राभेल हालेका उनीसँग भेट्न अहिलेसम्म रेणु वा उनको टिम आएको छैन । 'बाहिर चोकमा कार्यक्रम हुन्छ रे, मलाई त खबर नै गर्दैनन् । आउँछन्, बोल्छन्, जान्छन् । हाम्रो कुरा सुन्दै सुन्दैनन्,' उनको गुनासो छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका-३ बजारहट्टी बस्ने सन्तमान तामाङलाई पनि यसअघिका सांसद तथा अहिलेका उम्मेदवार हरि ढकाललाई त्यो क्षेत्रमा सिँचाईको समस्या सुनाउनु थियो । उचाई धेरै भएकाले त्यहाँ ट्युबेलबाट पानी तान्न समस्या छ, सिँचाईको प्रबन्ध भए हिउँदे बालीको राम्रो हुने उनको अपेक्षा थियो । अरू जस्तै उनको कुरा पनि उम्मेदवारसम्म पुर्याउन उनले पाएनन् ।
रातोपाटीको गरेको स्थलगत रिपोर्टिङका क्रममा भेटिएका पात्र हुन् यी । समस्या व्यक्तिगत भए पनि यसले उम्मेदवारको मत माग्ने शैली र प्रवृत्ति बुझाउँछ । ‘ग्राउन्ड जिरो’ रिपोर्टिङका क्रममा रातोपाटी विभिन्न उम्मेदवारको घरदैलो र उनीहरूको प्रचार गर्ने शैली नियालेको छ ।

अधिकांश उम्मेदवारको घरदैलोले मतदातालाई कन्भिन्स गर्नेभन्दा उल्टै निराश बनाइरहेको देखिन्छ, अझ उम्मेदवारसँग प्रश्न र गुनासा भएकाहरूलाई त यो प्रवृत्तिले भोट नै बदल्ने अवस्थासम्मै पुर्याउने गरेको देखिन्छ ।
यो अधिकांश उम्मेदवारको प्रवृत्ति हो । दोस्रोपटक वा त्योभन्दा धेरैपटक फिल्डमा उत्रिएका उम्मेदवारहरूमा यो प्रवृत्ति अझ धेरै देखिन्छ । अझ हेभीवेट मानिने नेताहरू त घरदैलोमा समेत जाने गरेका छैनन् ।
'ग्रासरूट'सँग भोट नै माग्दैनन् उम्मेदवार
स्थलगत रिपोर्टिङको क्रममा चितवन, नवलपरासी र तनहुँका पाँच सय भन्दा धेरैसँगको कुराकानीमा ८० प्रतिशत भन्दा धेरै मतदाताले कुनै पनि उम्मेदवारले अहिलेसम्म आएर आफूसँग भोट नमागेको बताए । यद्यपि चुनाव लागेको र भोट हाल्नुपर्छ भन्ने जानकारी भने आफूहरूलाई राम्रोसँग थाहा भएको उनीहरूको भनाइ छ ।
नवलपरासी-१ पिपलटारमा सैलुन व्यवसाय सञ्चालन गर्ने हरिन्द्र ठाकुर २१ गते चुनावमा भोट हाल्नुपर्छ भन्ने आफूलाई थाहा भएको र कसैले नमागे पनि कसलाई भोट हाल्ने भन्ने निर्णय समेत गरिसकेको बताउँछन् ।

राजनीतिक विश्लेषक एवं प्राध्यापक विनोदखण्ड तिमल्सिना अहिलेको भोट माग्ने शैली समृद्ध र प्रभावकारी नभएको बताउँछन् । घरदैलो गरेकै आधारमा मतदाताले मतदान नगर्ने भन्दै उनीहरूको समस्या र जिज्ञासाको समाधान गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनको भनाइ छ ।
तिमल्सिनाका अनुसार लोकतान्त्रिक रूपमा समृद्ध भएका मुलुकहरूमा चुनावी प्रचारको शैली अलि फरक हुने भए पनि तत्काल नेपालमा त्यो सम्भव नभएको बताउँछन् । त्यस्ता देशमा उम्मेदवारले घोषणापत्र मार्फत एजेन्डा प्रस्तुत गर्ने, सार्वजनिक बहस गर्ने र त्यसैका आधारमा कसलाई भोट हाल्ने प्रचलन रहेको उनको भनाइ छ ।
अहिले सामाजिक सञ्जाल र स्थानीय स्तरमा हुने बहस र आकलनका आधारमा मतदाताले कसलाई भोट हाल्ने भन्ने निर्णय गर्ने गरेको बताए । हामीले प्रत्यक्ष कुराकानी गरेका झण्डै ३० प्रतिशत मतदाता अहिलेसम्म कसलाई भोट हाल्ने निर्णय गरिनसकेको बताउँछन् । अन्तिम समयको चुनावी अभियान र मतदान केन्द्रको माहोलले ती मतदाताको भोटसम्बन्धी निर्णय निर्धारण हुने गरेको देखिएको छ ।
तनहुँको आँबुखैरेनीकी बिबा थापालाई कहिले भोट हाल्छु भन्ने अहिलेसम्म थाहा छैन । निर्माण क्षेत्रमा मजदुरी गर्ने उनलाई चुनाव आयो र भोट हाल्न जानुपर्छ भन्ने थाहा भए पनि कुन दललाई हाल्ने भन्ने थाहा छैन । कसलाई भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, 'त्यहाँ (मतदान केन्द्र) जाँदा जसलाई दिनु भन्नुहुन्छ, उसैलाई दिन्छु ।'

त्यही अवस्था पाहुना थारूको छ । नवलपरासीको दाउन्नेमा सडक निर्माणमा संलग्न रहेका उनी बर्दियाका मतदाता हुन् । अघिल्लोपटक ढकियामा भोट हालेका उनलाई पनि कसलाई भोट हाल्छु भन्ने थाहा छैन । गाउँमा गएपछि कसलाई भोट हाल्छु भन्ने थाहा हुने उनको भनाइ छ ।

'हामी यहाँ २१ जना छौं, चुनावमा पाँच दिन छुट्टी त छ, सामान कुर्न बस्यो भने ओटी (ओभरटाइम) पाइन्छ । के गर्छु भन्ने थाहा छैन,' उनी भन्छन् । अहिलेसम्म फोनबाट वा प्रत्यक्ष रूपमा भेटेर कुनै पनि उम्मेदवारले भोट नमागेको उनी बताउँछन् ।
केही उम्मेदवारको भने प्रवृत्ति फरक छ । उनीहरू ठाउँ-ठाउँमा गएर जनताको कुरा सुन्ने गरेका छन् । खासगरी यसअघि निर्वाचित नभएका उम्मेदवारहरू घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरिरहेका भेटिन्छन् ।
तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई आफूले सम्भव भएसम्म धेरै प्रश्नको जवाफ दिने प्रयास गरिरहेको बताउँछन् । 'उम्मेदवार वा जनप्रतिनिधि जे हुँदा पनि हामी प्रश्नबाट भाग्नु हुँदैन,' भट्टराई भन्छन्, 'घरदैलोमा जाँदा होस् वा फोनबाट होस्, मैले जवाफ दिने गरेको छु, दिइरहन्छु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण