चुनाव हारेका १० बहालवाला अध्यक्ष
सारांश
- निर्वाचनमा पराजित भएका विभिन्न पार्टीका अध्यक्षहरूको बारेमा यो लेखमा चर्चा गरिएको छ।
- कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरू निर्वाचनमा पराजित भएका थिए।
- उपेन्द्र यादव, महन्थ ठाकुर, पशुपति शमशेर राणा लगायतका नेताहरू पनि निर्वाचनमा पराजित भएका थिए।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन ठिक एक सातामा अर्को बिहीबार हुँदै छ । निर्वाचनमा मुख्य राजनीतिक दलका नेतृत्वकर्ता नेताहरू प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) (अहिले अन्य दलहरूसँग एकीकरण गरेपछि (नेपाली कम्युनिस्ट पार्टी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका अध्यक्ष प्रत्यक्षतर्फ चुनावी मैदानमा छन् ।
दोस्रो जनआन्दोलन सम्पन्न भएपछि वि.सं.२०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलका अध्यक्षहरू पराजित भएका छन् । राजनीतिक दलको बहालवाला अध्यक्ष भएको बेलामा प्रतिनिधिसभामा पराजित भएका १० नेताबारे हामी चर्चा गर्न लागेका छौँ ।
पार्टीको बहालवाला अध्यक्ष भएको बेलामा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई, साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय पशुपति शमशेर राणा र कमल थापा र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।
१) कृष्णप्रसाद भट्टराई – तत्कालीन सभापति नेपाली कांग्रेस, तथा अन्तरिम सरकारका प्रधानमन्त्री
२०४६ सालको जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई थिए । भट्टराई नेतृत्वकै सरकारले २०४८ सालमा गरेको निर्वाचनमा उनी काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए । तर, उनी एमाले उम्मेदवार मदनकुमार भण्डारीसँग पराजित भए । निर्वाचनमा भण्डारीले २७ हजार ३७२ मत ल्याएर निर्वाचित हुँदा भट्टराईले २६ हजार ६२१ मत मात्रै ल्याएका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । भट्टराई प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि त्यही वर्षको फागुन १ देखि ३ सम्म भएको कांग्रेसको आठौँ महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।
२) माधवकुमार नेपाल – महासचिव नेकपा एमाले
माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल पराजित भए । दुई स्थानबाट प्रतिस्पर्धा गरेका नेपाल दुई स्थानबाट पराजित भएका थिए । काठमाडौँ–२ र रौतहट–६ बाट प्रतिस्पर्धा गरेका नेपाल दुवै स्थानबाट पराजित भएका थिए ।
उनी रौतहट–६ मा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए भने काठमाडौँ–२ मा पनि नेकपा माओवादीकै उम्मेदवार झक्कुप्रसाद सुवेदीसँग पराजित भएका थिए । माओवादी उम्मेदवार सुवेदीले १३ हजार ८५८ मत ल्याएर निर्वाचित हुँदा नेपालले १२ हजार ३२५ मत ल्याएका थिए । बहालवाला महासचिव भएको बेलामा दुवै स्थानबाट पराजित भएपछि नेपालले नैतिकता देखाउँदै पार्टी महासचिव पदबाट राजीनामा दिएका थिए । तर, उनलाई पछि त्यही कार्यकालमा संविधानसभा सदस्य मनोनयन गरिएको थियो ।
३) झलनाथ खनाल–अध्यक्ष नेकपा एमाले
खनालले एमालेको बहालवाला अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–१ बाट पराजित भएका थिए । तर, दुई स्थानबाट उम्मेदवार भएका खनाल इलाम–१ बाट निर्वाचित भएकाले संविधानसभामा भने पुगेका थिए ।
खनाल सर्लाही—१ मा एकीकृत नेकपा माओवादीका उम्मेदवार शम्भुलाल श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठले ९ हजार ४७६ मत ल्याएर निर्वाचित हुँदा खनालले ८ हजार ७९१ मत ल्याएका थिए ।
इलाम–१ मा खनाल १७ हजार ३४२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हिमालय कर्माचार्यले १५ हजार ५२७ मत ल्याए ।
४) पुष्पकमल दाहाल ‘प्रचण्ड’– एकीकृत नेकपा माओवादी अध्यक्ष
प्रचण्ड पार्टी अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ–१० बाट पराजित भएका थिए । यद्यपि दुई स्थानबाट निर्वाचन लडेकाले उनलाई संविधानसभामा पुग्ने बाटो भने बन्द भएन ।
त्यो निर्वाचनमा प्रचण्ड काठमाडौँ–१० र सिराहा–५ बाट उम्मेदवार भएका थिए । काठमाडौँ–१० मा प्रचण्ड तेस्रो भएका थिए । काठमाडौँमा कांग्रेस उम्मेदवार राजेन्द्र केसी २० हजार ३९२ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले १३ हजार ६१९ मत ल्याए । प्रचण्डले भने १२ हजार ८५९ मत ल्याएका थिए ।
सिराहा–५ मा भने प्रचण्ड १५ हजार २४४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले १४ हजार ३२३ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
५) उपेन्द्र यादव– अध्यक्ष मधेसी जनअधिकार फोरम नेपाल
पार्टीको बहालवाला अध्यक्ष भएको बेलामा दुई पटक प्रतिनिधिसभा सदस्यमा पराजित हुने नेता हुन् उपेन्द्र यादव । यादव मधेसी जनअधिकार फोरम नेपालको अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ–५ बाट र जनता समाजवादी पार्टी नेपालको अध्यक्ष भएको बेलामा २०७९ सालमा सप्तरी–२ बाट पराजित भएका थिए ।
०७० सालमा दुई स्थानबाट उम्मेदवार भएका यादव मोरङ–५ बाट पराजित भए पनि सुनसरी–५ बाट जितेका थिए । त्यसले उनलाई संविधासभामा पुग्ने बाटो बन्द भएको थिएन । सुनसरी–५ मा यादवले ७ हजार २६४ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका उम्मेदवार गफार अन्सारी भएका थिए । अन्सारीले ६ हजार ८८१ मत ल्याए ।
मोरङ–५ मा कांग्रेस उम्मेदवार अमृत अर्यालले १५ हजार २५४ मत ल्याएर निर्वाचित हुँदा यादवले १२ हजार ५६६ मत मात्रै ल्याए ।
२०७९ सालको निर्वाचनमा सप्तरी २ मा दुई पार्टीका अध्यक्षबिच प्रतिस्पर्धा भएको थियो । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवबिच भएको प्रतिस्पर्धामा राउतले बाजी मारेका थिए ।
जनमत पार्टीका अध्यक्ष डा. राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा यादवले त्यो मतको आधाभन्दा कम १६ हजार ९७९ मत मात्रै ल्याएका थिए ।
६) महन्थ ठाकुर–अध्यक्ष तराई मधेस लोकतान्त्रिक पार्टी
ठाकुरले तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–६ बाट पराजित भएका थिए । उनलाई तत्कालीन समयमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहले पराजित गरेका थिए ।
कांग्रेस उम्मेदवार सिंहले १७ हजार ४०० मत ल्याएर निर्वाचित हुँदा ठाकुर तेस्रो भएका थिए । दोस्रो भएका तराई मधेस समाजवादी पार्टी नेपालका उम्मेदवार शिवपुजन रायले १० हजार ३६५ मत ल्याउँदा ठाकुरले ७ हजार ३२ मत मात्रै ल्याएका थिए ।
७) पशुपति शमशेर राणा–अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष रहेको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–३ मा पराजय व्यहोरेका थिए ।
त्यो निर्वाचनमा राणालाई एमाले उम्मेदवार शेरबहादुर तामाङले पराजित गरेका थिए । एमाले उम्मेदवार तामाङले १४ हजार ५२७ मत ल्याएर निर्वाचित हुँदा राणाले १२ हजार ९० मत मात्रै ल्याएका थिए ।
८) राजेन्द्र महतो – अध्यक्ष सद्भावना पार्टी
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन समयमा सद्भावना पार्टीका अध्यक्ष रहेका राजेन्द्र महतोले सर्लाही–४ बाट पराजय व्यहोरेका थिए । महतो तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महिन्द्र राययादवसँग पराजित भएका थिए ।
राययादवले ११ हजार ५३४ मत ल्याएर निर्वाचित हुँदा महतोले ८ हजार ७९० मत ल्याएर पराजित भएका थिए ।
९) कमल थापा– अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष भएको बेलामा मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका थिए । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालले पराजित गरेका थिए । त्यो निर्वाचनमा दाहालले ४० हजार ६३१ मत ल्याएर निर्वाचित हुँदा थापाले ३४ हजार ६५८ मत ल्याएका थिए ।
१०) रवीन्द्र मिश्र – अध्यक्ष साझा पार्टी
मिश्र २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा साझा पार्टीको अध्यक्ष भएको बेलामा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पराजित गरेका थिए । सिंहले १० हजार ९३६ मत ल्याएर निर्वाचित हुँदा मिश्रले १० हजार ११८ मत ल्याएर पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण