सूर्यदर्शन सहकारी पीडितलाई यसपटक छैन भोट हाल्ने मन
पोखरा । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलमुनी फूलको नर्सरी व्यवसाय गर्ने प्रेमबहादुर रानाले सूर्यदर्शन सहकारीमा ३३ लाख रुपैयाँ गुमाए । विद्यार्थीलाई ट्युसन पढाएर नर्सरी खोलेका उनले त्यही नर्सरीको सबै कमाइ सहकारीमा जम्मा गरे । पछिल्लो ५ वर्षयता उनले उक्त सहकारीबाट १ रुपैयाँ पनि फिर्ता पाएका छैनन् । आफ्नो २५ वर्ष शिक्षण र नर्सरी व्यवसायको आम्दानी सहकारीमार्फत नेताहरूले नै खाएको उनले बुझेका छन् ।
‘भोट माग्न आउने नेताहरू देख्दा मलाई धिक्कार लाग्छ । उनीहरू हाम्रो पीडामाथि पीडा थप्न मात्र आएका हुनजस्तो लाग्छ,’ राना भन्छन्, ‘त्यति दुख गरेर जम्मा परेको पैसा रातारात खाइदिँदा हाम्रो मन कति रोएको छ, तिनीहरूलाई त पाप लाग्छ ।’ रानालाई यसपालि भोट हाल्ने जाँगर पनि चलेको छैन । ‘यसपालि भोट हाल्न मन लागेकै छैन, जसले जिते पनि हाम्रो पैसा फिर्ता आउलाजस्तो छैन क्यारे,’ उनले भने, ‘मनभरि पीडा लिएर कसलाई भोट दिनु ?’
पोखरा–१३ आर्बाका गोपी दाहाल पनि आफ्नो डुबेको पैसा फिर्ता गराइदिने मान्छे पाए मात्रै भोट हाल्ने बताउँछन् । सानो व्यवसाय गरेर जम्मा पारेको उनको ६ लाख यही सूर्यदर्शन सहकारीमा डुबेको छ । उनले पनि ६ वर्षदेखि पैसा फिर्ता पाएका छैनन् । बचत गर्न थालेको ९ वर्ष भए पनि चाहिएको बेला पैसा झिक्ने र राख्ने गरिरहेका थिए । पछिल्लो पटक, कोरोनाकाल अघि जम्मा गरेको पैसा उनले अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । उनी पनि नेताहरूकै कारण आफ्नो पैसा फसेको गुनासो गर्छन् ।

‘नेताले पैसा लगेर मासेको कागज हामीसँग प्रस्टै छ । उनीहरू लगेको छैन भन्छन्, 'उनले भने, ‘हामी पीडितलाई त यसरी दिनदाहडै ढाँट्न सक्छन् भने तिनीहरूले देश कस्तो बनाउलान् ?’ सहकारी पीडितले पैसा फिर्ता पाउने दलहरूको घोषणापत्रमा पनि उनलाई विश्वास छैन । ‘घोषणापत्र भनेका कागजका खोस्टा मात्र हुन् । कहिले पूरा भएका छन् र ?,’ उनले प्रश्न गरे, ‘वास्तविक सहकारी पीडितको पक्षमा अहिलेसम्म कोही बोलेको छैन । यसपालि सहकारी ठगलाई भोट नहाल्ने हाम्रो सल्लाह छ ।’
पोखरा–१२ माटेपानीकी प्रमिला शर्माले बाल बचत खाता खोलेर महिनैपिच्छे पैसा जम्मा गर्दै आएकी थिइन् । उनको सानो व्यवसाय थियो, घरखर्च चल्थ्यो । गाँस काटेर बच्चाको भविष्यका लागि उनले जम्मा गरेको पैसा सूर्यदर्शनमा मात्रै होइन, पोखरा सहकारीमा पनि डुबेको छ । सूर्यदर्शनमा १ लाख हाराहारी गुमाएकी उनले पोखरा सहकारीमा साढे १२ लाख भन्दा बढी फसाइन् । अहिले व्यवसाय चलेको छैन । बच्चाको स्कुलको शुल्क तिर्न नसकेर बिल थुप्रिन थालेको छ । ‘श्रीमान् पनि पहिलेजस्तो काम गर्न सक्नुहुन्न । मेरो पनि विजनेस चलेन,’ उनले भनिन्, ‘अहिले घरमै अचार बनाएर बेच्न थालेको छु । सहकारीमा राखेको पैसा आए पुरानै व्यवसाय सुरु गर्न हुन्थ्यो ।’
शर्मा पनि दलहरूको घोषणापत्रले सहकारी पीडित आस्वस्त हुने ठाउँ नबनेको गुनासो गर्छिन् । ‘घोषणापत्रमा लेखिएका कुरामा मलाई रत्तिभर विश्वास छैन । चुनावपछि सबै उस्तै हुन्,’ उनले भनिन्, ‘काम गरेर नदेखाएसम्म कुनै नेतासँग विश्वास छैन । हाम्रो पैसा खानेलाई त कहिलै पनि भोट हाल्दिनँ, अरूसँग पनि भरलाग्दो योजना त छैन ।’
आफूहरूले जम्मा गरेको पैसा कसले कहाँ लग्यो भनेर प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन उनीहरूले पढेका छन् । प्रतिवादीहरू अदालतमा हुँदा उनीहरू अदालतमै पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यही सहकारीको रकम अपचलनमा आरोपित छन् । उनी अघिल्लो पुसमा कास्की अदालतबाट ६५ लाख धरौटी तिरेर निस्केका थिए । सूर्यदर्शन सहकारीका संचालकहरू संसदीय छानबिन समितिले अस्पष्ट प्रतिवेदन दिएका कारण आफूहरू झन् पीडित बन्नुपरेको गुनासो गर्छन् ।
‘सहकारीको रकम फलानो व्यक्तिले लगेको देखिएन भनेर रिपोर्ट बनाइयो । रकम नलगेको भए सावाँब्याजको त्यत्रो चेक किन काटेको त ? त्यो समितिले किन हेरेन ?,’ संघर्ष समितिका संयोजक किरण श्रेष्ठ भन्छन्, ‘पैसा बकाइदा लगेको छ । त्यसका प्रमाण हामी नै हौं । चुनावअघि सबै नेताहरूले हाम्रो पैसा फिर्ता हुने ग्यारेन्टी सार्वजनिक रूपमा गर्नुपर्छ । अनि मात्रै मतदानमा सहभागी हुन्छौं ।’
उनीहरू चुनावअघि नै ऋणीहरूसँग बार्ता बस्न तयार छन् । यसअघि प्रहरीको प्रतिवेदन आउनेबित्तिकै प्रतिवादी बनाइएकाहरूका आसेपासेले रकम फिर्ता गराउन पहल गर्ने भन्दै बैठकसमेत राखेका तर अहिलेसम्म फिर्ता हुने बाटो नदेखेको श्रेष्ठको गुनासो छ । ‘हिजो पैसा फिर्ता हुन्छ भनेर वार्ता गराउनेहरू आज उम्मेदवार छन् । सञ्चारमाध्यममा प्रश्न गर्दा तिनैले कोही दोषी छैन भनेर वक्तव्य दिएका छन्,’ उनले भने, ‘हामी जो भए पनि छोड्नेवाला छैनौं । अब ऋणीहरूलाई पनि प्रतिवादी बनाएर मुद्दा अघि बढ्छ । त्यसपछि फागुन २१ मा जित्ने हार्ने धेरै समस्यामा पर्छन् ।’
वार्ता गर्न र सम्बन्धित निकाय चहार्न शनिबार एउटा समिति पनि बनाइएको छ । शुक्रबार पोखरामा भएको नेपाली कांग्रेसको आमसभामा पीडितहरूले सभापति गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका थिए । शुक्रबार नै रास्वपा सभापति लामिछानेले आफूमाथि लागेको आरोपको प्रमाण थापासँग चितवनको आमसभाबाट मागेका थिए ।
सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड अपचलन भएको आरोपसहित मुद्दा दायर भएको थियो । १८ हजार ७ सय जना बचतकर्ता भए पनि १ हजार १ सय ५७ जनाले मात्रै किटानी जाहेरी दिएका थिए । उनीहरूको जाहेरीमा १ अर्ब १५ करोड अपचलन भएको देखिएको छ । सरकारी अनुसन्धान अनुसार ३ करोड ३७ लाख रवि लामिछानेको नाममा व्यक्तिगत बिगो कायम भएको छ भने ५ करोड ५९ लाख गोर्खा मिडियामा गएको देखाइएको छ ।
पीडितहरूले आफ्नो बिगो अनुसारको रकम तिरे लामिछानेको मुद्दा फिर्ता लिन तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण