बुटवलमा पैसा बाँडेको आरोपमा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप
सारांश
- बुटवलस्थित नमोबुद्ध होटलमा एमाले कार्यकर्ता र रास्वपा कार्यकर्ताबीच झडप भएको छ।
- झडपमा रास्वपाका पूर्वमेयर चित्र बहादुर केसीसहित ३ जना घाइते भएका छन्।
काठमाडौँ । रुपन्देहीको बुटवलस्थित नमोबद्ध होटलमा नेकपा (एमाले)का कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूमाथि पैसा बाँडेको आरोप लगाउँदै आक्रमण गरेका छन् ।
आक्रमणबाट रास्वपामा आबद्ध सैनामैनाका पूर्वमेयर चित्र बहादुर केसीसहित ३ जना घाइते भएका छन् । रुपन्देही क्षेत्र नम्बर–२ बाट चुनाव लडेका रास्वपाका उम्मेदवार सुलभ खरेल बसेको होटलमा एमाले कार्यकर्ता पुगेर ‘पैसा किन बाँडेको ?’ भन्दै पुगेका थिए ।
एमालेमा आबद्ध बाबुराम पन्थी सहितको समूह र रास्वपाका कार्यकर्ताबिच झगडा भएको प्रहरीको भनाइ छ । होटलमा झगडा भएको रुपन्देहीका एसपी जनक शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘झगडा गर्नेहरूको पहिचान भएको छ, उनीहरूलाई हामी कानुनी दायरामा ल्याउँछौँ ।’
रास्वपाको तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु भुसालले भने बैठक बसिरहेको बेलामा एमालेका कार्यकर्ताले आक्रमण प्रयास गरेको बताएकी छन् । उनले भनिन्, ‘हारको मानसिकताले एमालेका कार्यकर्ताहरू आक्रमणमा उत्रिएका हुन् ।’
यता बुटवलका एक स्थानीय तथा व्यवसायीले रास्वपाका मान्छेहरू होटलमा बसेर पैसा बाँड्ने योजनाले आएका र उति नै बेला एमालेका कार्यकर्ताहरू आएपछि झडप भएको बताएका छन् । नाम उल्लेख गर्न नचाहने तर आफूलाई प्रत्यक्षदर्शीसमेत भएको बताएका उनले भने, 'पैसा लिएर आएका थिए । बाँड्न चै भ्याएनन् । झोला लिएर भागे । उनीहरू योजनाबद्ध तरिकाले आएका थिए ।' आफूभन्दा मात्र १०० मिटर अगाडि उक्त घटना भएको र भिडियो खिच्ने सुरसार गर्दा गर्दै पैसाको झोला लिएर एक व्यक्ति भाग्न सफल भएका उनले रातोपाटीसँग बताए ।
झडप भएको उक्त नमोबुद्ध होटल बुटवल बसपार्क अगाडि पर्छ । बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।
घटनाबारे प्रतिक्रिया दिँदै रास्वपाका उम्मेदवार सुलभ खरेलले भने, ‘भोलिको मत परिणामले सबैको उत्तर दिनेछ ।’
इलाका प्रहरी कार्यालय बुटवलले कुटपिटमा संलग्नहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण