शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

सांसद नदोहोर्‍याउने जुम्ली भाष्य तोडेका ज्ञानेन्द्र शाही

शनिबार, २३ फागुन २०८२, २० : २९
शनिबार, २३ फागुन २०८२

सुर्खेत । जुम्लामा यसअघि एक पटक सांसद भइसकेको व्यक्ति अर्को निर्वाचनमा फेरि विजयी भएको इतिहास थिएन । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत निर्वाचित भए । २०५१ सालमा नेमकिपाले नै उम्मेदवार फेर्दै भक्तबहादुर रोकायालाई अघि सार्‍यो, र जिते पनि ।

२०५६ सालमा एमालेका देवीलाल थापा निर्वाचित भए । त्यसपछिका चुनावमा माओवादी प्रमुख राजनीतिक शक्तिका रूपमा उदायो । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका नरेश भण्डारी निर्वाचित भए । २०७० को निर्वाचनमा कांग्रेसका ललितजंग शाही निर्वाचित हुँदा २०७४ को निर्वाचनमा माओवादीका गजेन्द्र महत निर्वाचित भए । 

२०७९ को प्रतिनिधिसभा चुनावमा कांग्रेस—माओवादीबिच गठबन्धन हुँदा पनि राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनाव जिते । यसरी हेर्दा जुम्ला अहिलेसम्म प्रतिनिधिसभातर्फ कुनै पनि सांसदलाई दोहोर्‍याएर मौका नदिने जिल्लामा पर्थ्यो । यसै कारण जुम्लामा भाष्य नै बन्यो— जुम्ली जनताले कहिल्यै सांसद दोहोर्‍याउँदैनन् । तर यो पटक उक्त भाष्य ज्ञानेन्द्रले भत्काएर दोस्रो पटक प्रतिनिधिसभा चुनाव जिते ।

शनिबार सम्पन्न मतगणना अनुसार राप्रपाका शाहीले आफ्ना प्रतिद्धन्द्धी नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई ३ हजार १८१ मतान्तरले पराजित गरे । शाहीले १४ हजार ८१६ मत पाउँदा भण्डारीले ११ हजार ६३५ मत पाए । भण्डारी पनि जुम्लामा प्रभावशाली नेता हुन्, उनी पनि दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । तर कमजोर संगठनका बाबजुद ज्ञानेन्द्रले दोस्रो पटक चुनाव जितेर इतिहास रचेका छन् । यहाँ नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ र एमालको शान्तिलाल महतले ४ हजार ५१८ मत पाए । बाँकी उम्मेदवारले ५०० मत कटाउन सकेनन् ।

यस कारण ज्ञानेन्द्रले जिते चुनाव

कमजोर संगठन तर पनि ज्ञानेन्द्रलाई जुम्ली जनताले दोस्रो पटक किन जिताए त ? जुम्लाका एक पुराना कम्युनिस्ट नेतालाई रातोपार्टीकर्मीले सोध्दा उनी भन्छन्, ‘ज्ञानेन्द्रले अरु केही नगरे पछि संसद्मा सबैलाई थर्कमान बनायो । अरु केही नगरे पनि कम्तीमा उसले कर्णालीका समस्याहरु संसद्मा बोल्यो ।‘ साथै, जुम्ली स्याउले बजार नपाउँदा सामाजिक सञ्जालबाट नै प्रचार गरेर बजारीकरण गर्दा स्याउ बिक्रीमा उछाल आएको कुरा पनि उनले भने । 

‘कम्तीमा जुम्ला र कर्णालीबारे बोल्यो- केपी ओलीले झापामा ठुलो बजेट दिँदा उसले कर्णालीलाई हेपेको हो ? झापालाई दिने बजेट भन्दा सिङ्गो कर्णालीलाई दिएको बजेट कम भएको भन्दै संसद्मा लड्यो,’ ती कम्युनिस्टले भने, ‘यही कुरा जुम्लीले मन पराए त हामी के गरौँ ।’

यद्यपि उनको राजावादी एजेन्डा भने जुम्लीले मन नपराएको बताइन्छ । चुनावी अभियानका बेला उनलाई हामीले सोध्यौं, अघिल्लो निर्वाचनमा जित्नुभयो, तर संसदमा राजा ल्याउने कुरा मात्रै गरेको, विकासलाई ध्यान नदिएको भनेर कतिपय मतदाता असन्तुष्ट छन् भनिन्छ नि ?

उनको जवाफ थियो, ‘केही गणतन्त्रवादी, अझ मार्क्सवादी हुन्छन् नि, उनीहरूलाई त्यस्तो लाग्छ होला । जनतामा त्यस्तो केही छैन । हामीले जनताका मुद्दा पनि उठाएका छौँ नि ! कसैको मार्क्स आस्था हो भने हाम्रो राजा आस्था हो । त्यसैले जनताका मुद्दा आजसम्म जुम्लामा यसरी उठाउने व्यक्ति नै म पहिलो हो । यो कुरालाई जनताले हेरेका छन् ।‘

जुम्लामा बलियो रहेको माओवादीलाई दुईवटै चुनाव उनले हराए । २०४८ माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका—३ पिगीमा जन्मिएका उनी २०७९ को चुनाव भन्दाअघि विशेषतः सामाजिक सञ्जालमा छाइरहने भाइरल पात्रका रूपमा परिचित थिए । भ्रष्टाचार विरोधी अभियन्ताको परिचय बनाएका उनी भ्रष्टाचारका फाइल हातमा लिने, युट्युबरलाई सँगै लगेर चर्को–चर्को आवाजमा बोल्थे ।

त्यही कारण उनी सामाजिक सञ्जालमा चर्चाको पात्र बने । उनी चर्चामा मात्र आएनन् विवादित पनि बनिरहने व्यक्ति हुन् । उनको चर्चा २०७६ वैशाख १८ गते सुर्खेतमा गरेको कार्यक्रममा पत्रकारहरू उपस्थित नभएपछि पत्रकारहरूलाई अपशब्द प्रयोग गरेको अभियोगमा सुर्खेतको एक कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेपछि भएको हो । त्यसपछि उनलाई सुर्खेतबाट गिरफ्तार गरी सार्वजनिक बसमा यातना दिँदै काठमाडौँ लगिएको कुराले चर्चा पाएको थियो । 

तर उनको संघर्ष भने कम छैन । जुम्लाको दुर्गम भेगमा जन्मिएका उनी कक्षा पाँचसम्म गाउँकै प्राथमिक विद्यालयमा पढे । कक्षा ६ देखिमाथि पनि जुम्ला सदरमुकाम खलंगामा पढे । एसएलसीपछि काठमाडौँको त्रिचन्द्र कलेज पुगेका उनले त्यहाँ विज्ञान विषय पढे । आईएस्सी पढेपछि सीए पढ्नका लागि भारतको राजधानी दिल्ली पुगे, तर पढाइ पूरा नगरी नेपाल फर्किए । 

दिल्लीमा एउटा चार्टर एकाउन्टेन्ट फर्ममा काम गरेको बताउने ज्ञानेन्द्र भारतीयले नेपालीहरूमाथि गर्ने व्यवहारका कारण नेपाल फर्किएको बताउँछन् । नेपालमा नै केही गर्छु भन्ने उद्देश्य लिएर फर्किएको र भ्रष्टाचार विरोधी संघर्षमा लागेको उनी बताउँछन् । 

यति मात्र होइन, सुरुमा नेपाल आएर उनले एभिन्युज टिभीमा काम गरे । उनको आक्रामक प्रस्तुति उच्च तहका व्यक्तिहरूले मन नपराए पनि सर्वसाधारणले वाईवाई गरिरहे, जसको फाइदा उनले दुई चुनावमा लिए ।

उनी संसदीय राजनीतिमा आउनुअघि विवादमा तानिरहन्थे । २०७६ भदौ २९ मा ललितपुर पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेको अवस्थामा पत्रकारको भेषमा कार्यक्रम स्थलमा पुगेका एमाले निकट कार्यकर्ताहरूले शाहीमाथि आक्रमण गरे । यस्तै २०७६ असोजमा चितवनमा पनि उनीमाथि आक्रमण भएको थियो ।

२०७७ वैशाख ९ मा ललितपुरमा राहत वितरणमा निस्किएका शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको थियो । त्यही समयमा सुर्खेतमा पनि उनीमाथि आक्रमण भएको थियो । राहत वितरणकै क्रममा सुर्खेत पुगेका उनीमाथि वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक समूहले आक्रमण गरेको थियो । २०७९ को चुनाव भन्दा केही समयअघि मात्रै उनी राप्रपा प्रवेश गरेका थिए । हल्लाखल्लाकै दुनियाँबाट एकाएक राप्रपामा प्रवेश गरेका उनी अहिले उक्त पार्टीको प्रवक्ता छन् । सम्भवतः यसपटक राप्रपाबाट चुनाव जित्ने उनी मात्रै हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप