शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

कर्णालीमा रास्वपाको बिजारोपण, कांग्रेस पहिलो बन्दा भत्किए कम्युनिस्टका ‘किल्ला’

आइतबार, २४ फागुन २०८२, २० : २३
आइतबार, २४ फागुन २०८२

सारांश

  • कर्णाली प्रदेशको निर्वाचनमा एमाले, माओवादी र कांग्रेस लगायतका दलहरूको नतिजामा उतारचढाव आयो।
  • एमालेले दैलेख-२ मा मात्र जित हासिल गर्यो, भने माओवादीले आफ्नो प्रभाव गुमायो, रास्वपाको उदय भयो।
  • कांग्रेसले कर्णालीमा पहिलेको भन्दा बढी सिट जित्यो, नयाँ अनुहारहरूले पनि चुनाव जिते।

सुर्खेत । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले माओवादीसँग गठबन्धन गर्दा कर्णालीमा ६ सिट जितेको थियो । २०७९ को चुनावमा माओवादी–कांग्रेसबिच गठबन्धन हुँदा शून्यमा सीमित बन्यो । यद्यपि समानुपातिकमा पहिलो दल बनेको थियो ।

एमालेका सचिव यामलाल कँडेल भन्थे- दुई ठुला दल मिलेका कारण हामी प्रत्यक्षमा जित्न नसकेको हो, सांगठनिकदेखि लोकप्रिय मतका हिसाबले पहिलो शक्ति हौँ । अघिल्ला दुईवटै चुनावमा गठबन्धन हुँदा दलहरुको वास्तविक शक्ति परीक्षण भएको थिएन । अहिले एक्लाएक्लै चुनाव लड्दा उनीहरुको वास्तविक शक्ति कमजोर रहेको पाइयो । 

आफूलाई पहिलो शक्ति दाबी गर्ने एमाले बिहीबार सम्पन्न निर्वाचनमा झण्डै पत्तासाफ हुनबाट जोगियो । १२ वटा क्षेत्रमध्ये दैलेख-२ मा मात्रै जित्न सक्यो । एमाले नेताहरूका अनुसार सुर्खेत र दैलेखका चार निर्वाचन क्षेत्र र सल्यानलाई जित्न सकिने क्षेत्रका राखिएको थियो । सुर्खेत-२ र सल्यानमा त दोस्रो नम्बरमै आएन । बरू एमालेको हैसियतमा नयाँ राजनीति दल रास्वपा स्थापित भयो ।

जुम्लामा राप्रपाले पुनः चुनाव जित्दा सुर्खेत-२ मा रास्वपाको बिजारोपण भएको छ । अघिल्लो पटक माओवादीको समर्थनमा ४ सिट जितेको कांग्रेसले १ बढाएर ५ सिटसहित पहिलो राजनीतिक दल बन्यो । सुर्खेत-२ र दैलेख-२ गुमाए पनि दैलेख-१ र जाजरकोटबाट पूर्ति गर्‍यो भने हुम्ला थप गर्न सफल बन्यो ।

माओवादीले कर्णालीलाई आफ्नो आधार इलाका माने पनि चुनावी परीणामले त्यो कायम नरहेको देखिएको छ । हाल यो एकीकृत समाजवादीसहित समायोजन भएर नेपाली कम्युनिस्ट पार्टीका नाममा अस्तित्वमा छ । २०७९ मा समाजवादीले ३ र माओवादीले ४ गरी ७ सिट जितेकोमा दुई दल एकीकृत हुँदा पनि अहिले ४ सिटमै सीमित बन्यो, दोस्रो राजनीति शक्ति बन्यो । जाजरकोट र हुम्ला जस्ता माओवादी प्रभाव क्षेत्र गुमे । नेकपाले यहाँ ८ सिट जित्ने आकलन गरेको थियो ।

एमालेको बिउ जोगाएका लक्ष्मी

२०७९ मा दैलेख-२ एमालेबाट लक्ष्मीप्रसाद पोखरेलले चुनाव जितेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीलाई ४ हजार ३३७ मतान्तरले पराजित गर्दै विजयी भए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिक्पालले एमालेका लक्ष्मीलाई १६७ मतान्तरले पराजित गरेका थिए ।

यहाँ २०६४ देखि २०७४ सम्मको निर्वाचनमा एमालेले जितेको थियो । २०७० मा चुनाव जितेका लक्ष्मी २०७९ मा दिक्पालसँग पराजित भए । लक्ष्मीले उक्त हारको बदला यो पटक लिए । लक्ष्मीले १३ हजार ८८९ मत पाउँदा कांग्रेसका दिक्पालले ९ हजार ५५२ मत पाए ।

पोखरेल शालीन र इमानदार छवि भएका नेता मानिन्छन् । २०३५ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका उनी २०४३ सालमा तत्कालीन छिउडीपुसाकोट गाविसको प्रधानपञ्च भएका थिए । २०५१ सालतिर एमाले भएका उनी पार्टी विभाजनपछि माले बने । २०५६ सालमा मालेबाट प्रतिनिधिसभा चुनाव लडे । २ हजार ७१२ मतसहित चौथो स्थानमा मत ल्याएका उनी पछि एमाले फर्किएका थिए ।

नेकपामा शक्तिले हार्दा महेन्द्रले जोगाए 

नेकपाका नेता शक्ति बस्नेतले जाजरकोटमा आधार किल्ला जोगाउन नसक्दा कालीकोटमा महेन्द्रबहादुर शाहीले भने चुनौतीका बिच आफ्नो क्षेत्र जोगाउन सफल बने । शाहीले ११ हजार ३३८ मतसहित चुनाव जिते । उनीसँग प्रतिस्पर्धामा आएका एमालेका नगिन्द्रबहादुर शाही ‘नेसनल’ ले १० हजार ३५२ मत ल्याए । नगिन्द्र २०७९ को चुनावमा पनि महेन्द्रसँग पराजित भएका थिए । कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाउँदा नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चौथोमा सीमित बने । उनले ४ हजार ५९९ मत मात्रै पाए । महेन्द्रले २०७० र २०७९ मा प्रतिनिधिसभा र २०७४ मा प्रदेशसभा चुनाव जितेका थिए ।

लगातार तीन पटक चुनाव जितेका र पटक–पटक मन्त्री बनिसकेका शक्ति बस्नेतका लागि चौथो पटकको चुनाव भारी भयो । उनलाई कांग्रेसका युवा नेता खड्कबहादुर बुढाले २ हजार ७३५ मतान्तरले पराजित गरे । बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०७ मत ल्याए । एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत पाए । 

निर्वाचिन भएका कांग्रेसका बुढा २०७४ मा शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित भएका थिए । यद्यपि उनी जिल्लामा युवाहरूबिच परिचित युवा नेता हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टीको जिल्ला उपसभापति तथा कार्यवाहक सभापति छन् ।

बुढा पश्चिम क्षेत्रका बासिन्दा हुन् भने उनी बाहेक सबैजसो उम्मेदवार पूर्वी जाजरकोटबाट थिए । २०५६ सालयता पश्चिम क्षेत्रबाट जाजरकोटले उम्मेदवार पाएको थिएन, जसकारण उनले सहानुभूतिको मत पाए । 

अर्कोतर्फ जाजरकोटमा शक्ति बस्नेतमाथि आम जनसमुदायदेखि अन्य पार्टी र स्वयं तत्कालीन माओवादीभित्रै उनीमाथि प्रश्न उठ्दै आएको थियो । कांग्रेसको विजयसँगै जाजरकोटमा माओवादी किल्ला भत्किएको छ । डोल्पामा नेकपाका धनबहादुर बुढाले आफ्नो विरासत जोगाउन सके । २०७० र २०६४ मा एमालेबाट चुनाल लडेका उनी २०७९ मा एकीकृत समाजवादीबाट लडेका थिए । उक्त दल हाल नेकपामा समाहितपछि उनी सोही दलबाट चौथो पटक ६ हजार ८०२ मत ल्याएर जिते ।

एमालेका लंकबहादुर रोकायाले ५ हजार ३९६ मत पाए । कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत पाए, जो धनबहादुरका आफ्नै सहोदर दाइ हुन् । सुरुमा दुई भाइबिच प्रतिस्पर्धा हुने आकलन गरिए पनि कर्ण तेस्रोमा सीमित बने । 

यसपालि रुकुम-पश्चिमको चुनाव भने फरक बन्यो । २०६४ देखि लगातार चुनाव जित्दै आएका जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर सोही दलबाट उम्मेदवार थिए भने नेकपाबाट गोपाल शर्मा । जिल्लामा बलिया मानिएका शर्माले चुनाव जित्न नसक्दा नेकपा उम्मेदवार गोपालले २१ हजार ६०९ मतसहित चुनाव जिते । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत लाउँदा जनार्दनले १४ हजार ३४६ मत मात्रै पाए ।

यस्तै सल्यानमा प्रचण्डका पूर्व स्वकीय रमेश मल्लले नेकपाबाट चुनाव जिते । अघिल्लो पटक एकीकृत समाजवादीबाट प्रकाश ज्वालाले चुनाव जितेका थिए । उनको समर्थनमा मल्लले २३ हजार १८९ मतसहित जित्दा रास्वपाका ललितबहादुर चन्दले २० हजार ९०४ पाए । यहाँ कांग्रेस र जित्ने दाबी गर्ने एमाले तेस्रो, चौथो बने । 

कांग्रेसले २ क्षेत्रमा १२ वर्षपछि गुमेको साख फर्कायो, २ मा जोगायो

कर्णालीमा यो पटक कांग्रेसले भने सन्तुष्ट परिणाम पायो । विशेष महाधिवेशनपछि दुई ठुला नेताहरु पूर्णबहादुर खड्का र हृदयराम थानीले मैदान छाड्दा पनि एक सिट थप गर्न सक्यो । विशेषगरी दैलेख-१ र हुम्लामा १२ वर्षपछि गुमेको साख फर्काउन सक्यो । दैलेख-१ मा युवा महिला नेतृ बासना थापाले १२ हजार ३७२ मतसहित चुनाव जित्दा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत पाए । यस्तै, तेस्रो स्थानमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ७ हजार ८ सय ९४ मत ल्याए भने नेकपाबाट चुनाव लडेका अम्मरबहादुर थापाले जम्मा ४ हजार १०९ मत मात्रै पाए । अघिल्लो थापाले कांग्रेसको समर्थनमा चुनाव जितेका थिए ।

दैलेख सदरमुकाममा रहेको होटल पार्किङकी सञ्चालक नवनिर्वाचित बासना २०७४ सालमा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन्, तर झिनो मतले पराजित भइन् । नेविसंघको राजनीतिबाट उदाएकी उनी काठमाडौँमै जन्मे-हुर्केकी हुन् । विवाहपछि दैलेख आएकी हुन् ।

अघिल्लो पटक माओवादीले चुनाव जितेको हुम्लामा १२ वर्षपछि कांग्रेसले चुनाव जितेको छ । कांग्रेसका जयपति रोकाया ८ हजार ७९७ मतसहित विजयी भए । नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत र एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त गरे । यहाँ २०७० यता कांग्रेसले चुनाव जित्न सकेको थिएन । 

Jaypati Rokaya

मुगुमा भने यसअघिको विरासत गुम्न दिएन । खड्ग शाही ७ हजार ९१४ मतले चुनाव जित्दा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत पाए । नेकपाका चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत पाएका छन् । यहाँ अघिल्लो पटक ऐनबहादुर शाहीले जितेका थिए ।

सुर्खेत-२ मा पूर्णबहादुर खड्काको विरासत उनका भाइ विष्णुबहादुर खड्काले जोगाएका छन् । विष्णुले ८ हजार मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीलाई पराजित गरे । खड्काले २६ हजार ८९५ मत पाउँदा एमालेका शाहीले १८ हजार ८९० मत पाए । रास्वपाका टेकबहादुर सिंहले १४ हजार ७२९ मत पाए, नेकपा चौथो स्थामा सीमित रह्यो । विष्णुले आकलन गरिए भन्दा निकै सहज तरिकाले चुनाव जिते । विष्णु यातायात व्यवसायी हुन् । वीरेन्द्रनगरको माया नर्सिङका सञ्चालक समेत रहेका उनको पेट्रोल पम्प पनि छ । 

व्यवसायमा भिजेका विष्णुलाई चुनावी मैदानमा चुनौती छ भनिएको थियो । एकातर्फ विशेष महाधिवेशनपछि आफ्ना दाइ पूर्णबहादुर कांग्रेस आधिकारिकताको विषय लिएर अदालत गएका थिए । पूर्णबहादुरले यो क्षेत्रमा २०४८ सालदेखि चुनाव लड्दै आएका थिए ।

रास्वपाको बिजारोपण

कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलको केन्द्र कर्णालीमा यो पटक नयाँ राजनीतिक दल रास्वपाको बिजारोपण भएको छ । सुर्खेत-२ मा कांग्रेस–एमालेलाई चकित पार्दै रास्वपाका रमेशकुमार सापकोटाले ३० हजार ८२६ मतसहित चुनाव जिते ।

Ramesh Sapkota

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायण कोइरालाले १६ हजार ३ सय ९२ मत पाउँदा एमालेका कुलमणि देवकोटाले १३ हजार १५५ मत मात्रै प्राप्त गरे । नेकपाका झकबहादुर मल्लले ४ हजार ५८७ मत पाए । चुनाव जितेका सापकोटा यातायात व्यवसायी हुन् । रास्वपाले सल्यान र दैलेखमा जनमत बढाएको छ । सल्यानमा दोस्रो र दैलेखमा तेस्रो शक्ति बन्यो । 

जुम्लामा ज्ञानेन्द्र शाही कायम

जुम्लामा पुनः राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले १४ हजार ८१६ मतसहित दोस्रो पटक चुनाव जित्न सफल भएका छन् ।

यहाँ नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत पाए । कमजोर संगठनका बाबजुद ज्ञानेन्द्रले दोस्रो पटक चुनाव जितेका हुन् । उनी राप्रपाबाट निर्वाचित हुने एक मात्र सांसद बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप