वामपन्थी आपसमा भिड्दा २७ सिट गुम्यो, कुन प्रदेशमा कति क्षति ?
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी दललाई ठूलो धक्का, जम्मा ४२ सिटमा सीमित।
- एमाले र नेकपा मिलेको भए थप सिट जित्न सक्ने विश्लेषण, तर मधेसमा अवस्था कमजोर।
- विभिन्न प्रदेशमा वामपन्थी दलहरूको गठबन्धन नहुँदा रास्वपा र कांग्रेसलाई फाइदा।
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा वामपन्थी घटकलाई नेपाली राजनीतिक इतिहासमै ठुलो धक्का लाग्यो । २७५ सदस्यीय प्रतिनिधि सभामध्ये १६५ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीमा नेकपा एमालेले ९ र नेपाली कम्युनिस्ट पार्टीले ८ गरी कुल १७ सिटमा मात्र वामपन्थी दल विजयी भए ।
एमाले ताप्लेजुङ, इलाम–२, धनकुटा, संखुवासभा, बाँके– २, दार्चुला, बझाङ, अछाम–२, दैलेख–२ मा विजयी भयो । ४१ क्षेत्रमा एमाले दोस्रो बन्यो । नेकपा रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, कालीकोट, सल्यान, धनुषा–१, सिन्धुपाल्चोक–२ मा विजयी हुँदा १७ स्थानमा दोस्रो बन्यो ।
समानुपातिकतर्फ एमालेले १६ र नेकपाले ९ गरी कुल २५ सिट जितेका छन् । प्रत्यक्ष र समानुपातिक गरी वामपन्थीले जितेको कुल ४२ सिट हो ।
अघिल्लो निर्वाचनमा नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी)को मात्रै ४२ सिट थियो । एमालेको ७८, नेमकिपा र राजमोको एक/एक गरी कुल १२२ सिट वामपन्थीले जितेका थिए ।
२०४८ सालदेखि हरेक निर्वाचन जित्दै आएको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा यो पटक प्रतिनिधि सभामा प्रतिनिधित्वविहीन भए ।
२०७९ सालको निर्वाचनमा समानुपातिकमा सर्वाधिक लोकप्रिय मत ल्याएर पहिलो दल बनेको एमाले योपटक १४ लाख ५५ हजार ८८५ मत ल्याएर तेस्रो स्थानमा पुग्यो । अघिल्लो निर्वाचनमा करिब १५ लाख मत ल्याएको नेकपा योपटक ८ लाख ११ हजार ५७७ मत ल्याएर चौथो स्थानमा खुम्चियो ।
नेमकिपाले ५० हजार, राजमोले ३० हजार र पहिलोपटक निर्वाचनमा होमिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २५ हजार मत पनि कटाउन सकेन । एमाले २०७०, २०७४ र २०७९ को निर्वाचनमा लगातार लोकप्रिय मत पाएर पहिलो दल बनेको थियो ।
२०६४ सालमा पहिलो दल बनेको माओवादी त्यस यताका तीन वटै निर्वाचनमा तेस्रो स्थानमा रहँदै आएको थियो । यो पटक विभिन्न घटकसँग एकता गरी बनेको नेकपा चौथो स्थानमा सीमित भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला सरकारको नेतृत्व गरेको एमालेको गलत नीतिका कारण नेपालमा वामपन्थी आन्दोल संकटतर्फ धकेलिएको राजनीतिक वृत्तमा चर्चा छ । तीन वर्ष अगाडि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रत्यक्षमा १२५, समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ अर्थात् झन्डै दुई तिहाइ स्थानमा कब्जा जमाउँदा सबैभन्दा संकटमा वमपन्थी दल परेका छन् ।
अघिल्लो निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिट प्राप्त गर्दै दोस्रो स्थानमा खुम्चियो ।
०७४ सालमा दुई ठुला वामपन्थी दल एमाले र साविक माओवादी केन्द्रसँग चुनावी गठबन्धन हुँदा दुई तिहाइ नजिक सिट जित्न सफल भएका थिए । योपटक रास्वपामा देखिएको देशव्यापी जनलहर, जेनजी आन्दोलन दमन गर्न कम्युनिस्ट नेतृत्वको सरकारले खेलेको भूमिका, एमालेभित्र देखिएको अन्तरविरोध र नेकपा घटक दलहरू विभाजनका कारण ठुलो क्षति पुगेको देखिन्छ ।
समग्रमा अघिल्लो संसदमा वामपन्थी जनमत ४२.०६ प्रतिशत रहेकोमा योपटक २१.५० प्रतिशतमा खुम्चिएको छ । यो जनमत ३४ वर्ष यताकै सबैभन्दा कमजोर हो ।
यद्यपि निर्वाचनमा कम्तीमा एमाले र नेकपा मिलेर गएको भए २७ सिट सुरक्षित गर्न सक्ने प्रस्ट आधार चुनावी परिणामले देखाएको छ । यी दुई दल मिलेको अवस्थामा चार स्थानमा जित्ने सम्भावना मत परिणामले देखाएको छ । तर मधेस प्रदेशमा भने सबै वामपन्थी दल मिल्दासमेत एक सिट पनि जित्ने स्थिति देखिँदैन ।
गण्डकी प्रदेशमा पनि वामपन्थी दललाई ठुलो क्षति पुगेको छ । वामपन्थी दलहरू आपसमा प्रतिस्पर्दा गर्दा त्यसको प्रत्यक्ष फाइदा रास्वपा र कांग्रेसलाई पुगेको देखिन्छ । वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा भाग लिएको भए कुन प्रदेशमा कति सिट सुरक्षित गर्न सकिन्थ्यो भन्नेबारे संक्षिप्तमा यहाँ विश्लेषण गरिएको छ ।
- कोशी प्रदेश
२८ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा वामपन्थीले पाँचथर, इलाम–१, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा जित सुनिश्चित गर्न सक्थ्यो भने उदयपुर–२ जित्ने सम्भावना थियो ।
पाँचथरमा कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ १७ हजार २३३ मत ल्याएर विजयी भए । दोस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार हस्त राज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको एमालेका अइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत प्राप्त गरे । चौथो स्थानमा रहेका नेकपाका हर्क बहादुर नेम्वाङ ११ हजार ४४३ मत ल्याए । अइन्द्र र हर्कले पाएको कुल मत २५ हजार ९७७ छ । यस आधारमा यो निर्वाचन क्षेत्रमा वामपन्थी दल बिच गठबन्धन हुँदा जित्ने अवस्था देखिएको हो ।
यस्तै, इलाम–१ मा कांग्रेसका निश्कल राई १४ हजार ५४३ ल्याएर विजयी भए । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरी दोस्रो भए । तेस्रोमा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरे । चौथोमा नेकपाका रनबहादुर राईले ७ हजार ६६५ मत ल्याए । यहाँ एमाले र नेकपाका उम्मेदवारले पाएको कुल मत १९ हजार ६३१ हुन्छ । यस आधारमा वाम गठबन्धनको मत यस क्षेत्रबाट निर्वाचित निश्कल राईको तुलनामा बढी देखिन्छ ।
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरे । पाँचौँ स्थानमा रहेका नेकपाका रणध्वज लिम्बूले प्राप्त गरेको ९१९ मत जोड्दा यहाँ वामपन्थी दलको मत ११ हजार ६०१ हुन्छ । यी दुई वामपन्थी उम्मेदवारले प्राप्त गरेको मत जोड्दा वाम गठबन्धनले झिनो मतान्तरले जित्ने देखिन्छ ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको भोजपुरमा योपटक नयाँ दल श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई १६ हजार ६६३ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । पाँचौँ स्थानमा रहेको नेकपाका अजम्बर राई काङमाङले ५ हजार ७२८ मत प्राप्त गरे । यी दुई उम्मेदवारले प्राप्त गरेको मत २० हजार ४७८ हुन्छ । वामपन्थी आपसमा प्रतिस्पर्धा गर्दा त्यसको फाइदा श्रम संस्कृतिले उठाएको छ ।
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की १३ हजार १६६ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपाका असिम राईले ९ हजार ४१४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको एमालेका कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरिन् । नेकपा र एमालेका उम्मेदवारले प्राप्त गरेको कुल मत १७ हजार ६४२ छ ।
खोटाङमा श्रम संस्कृतिका आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका देव विक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे । चौथो स्थानमा रहेका नेकपाका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरे । यस क्षेत्रमा पनि एमाले र नेकपाका उम्मेदवारले प्राप्त गरेको कुल मत २२ हजार १५७ छ, जो निर्वाचित उम्मेदवार आरेन राईको भन्दा बढी हुन जान्छ ।
ओखलढुंगामा रास्वपा विश्वराज पोखरेल जम्मा पाँच मतान्तरले विजयी भए । उनी १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुमार लुईंटेलले १३ हजार ९४८ मत प्राप्त गरे । नेकपाका अमिरबाबु गुरुङले ११ हजार २९६ मत पाए । एमालेकी अस्मिता थापाले १० हजार ७२० मत पाइन् । यहाँ नेकपा र एमालेका उम्मेदवारले प्राप्त गरेको मत जोड्दा वामपन्थी मत २२ हजार १६ हुन जान्छ, जो जितका लागि पर्याप्त हो ।
उदयपुर–२ मा वामपन्थीले अन्तरविरोध हल गरेको भए जित्ने सम्भावना देखिन्छ । यहाँ रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ ल्याएर विजयी हुँदा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत प्राप्त गरे । नेकपाका सुरेश कुमार राईले ५ हजार १९७ मत प्राप्त गरे । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेकपाले मेजर राईलाई कारबाही गरेकाले यहाँ मत प्रभावित भएको देखिन्छ ।
- मधेस प्रदेश
३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशामा यो निर्वाचनमा वामपन्थी दलहरू बढारिएका छन् । यद्यपि विवादास्पद धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका यादव विजयी भएको निर्वाचन आयोगले घोषणा गर्यो । मतदानकै पूर्वसन्ध्यामा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन अयोगले खारेज गरेका कारण यादव विजयी हुन सफल भए । यस सम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
रौतहट–२ बाहेक रास्वपाका उम्मेदवार अत्याधिक मतान्तरले विजयी भएकाले मधेसमा वाम गठबन्धन मिलेर प्रतिस्पर्धा गरेको अवस्थामा समेत रास्वपाको पक्षमा रहेको लहर प्रभावित नहुने मत परिणामले देखाएको छ ।
रास्वपाका भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहको पुर्ख्यौली थलो महोत्तरी भएकाले त्यसको ठुलो प्रभाव मतदातामा परेको देखिन्छ । ०४८ सालदेखि मधेसमा प्रभाव जमाएका मधेसवादी दलहरूले अहिले एक सिट पनि जित्न सकेनन् ।
- बागमती प्रदेश
संघीय राजधानी रहेको काठमाडौँ उपत्यकामा वामपन्थी दलहरूले योपटक एक सिट पनि जितेनन् । कुल ३३ सिट रहेको बागमती प्रदेशमा सिन्धुपाल्चोक–२ मा नेकपा विजयी भयो । रसुवामा कांग्रेसका उम्मेदवार विजयी हुँदा एमालेले यो प्रदेशमा एक सिट पनि जितेन ।
३४ वर्ष नेपाल मजदुर किसान पार्टीले राज गरेको भक्तपुर–१ मा समेत योपटक रास्वपाले विजय प्राप्त गर्यो । यद्यपि वामपन्थी गठबन्धन गरेको भए रामेछाप, सिन्धुली–१ र २, भक्तपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–१, मकवानपुर–२ जित्ने आधार प्रस्ट देखिएको छ भने दोलखा र नुवाकोट–१ मा पनि जित्ने सम्भावना बलियो देखिन्छ ।
रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी २४ हजार ८०८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका माधव प्रसाद ढुंगेलले १७ हजार ६०९ प्राप्त गरे । चौथो स्थानमा रहेको नेकपाका श्याम कुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरे । यहाँ एमाले र नेकपाले प्राप्त गरेको कुल मत ३० हजार ९६३ छ, जो रास्वपाका निर्वाचित उम्मेदवारको भन्दा ८ हजारले बढी हो ।
सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की १६ हजार ६५९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदिप कुमार कटुवाल क्षेत्रीले १५ हजार ८७५ मत प्राप्त गरे । चौथो स्थानमा रहेका नेकपाका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७०८ मत प्राप्त गरे । एमाले र नेकपाका उम्मेदवारको कुल मत २० हजार ५८३ देखिन्छ, जसको आधारमा यहाँ पनि वाम गठबन्धन भइदिएको भए वामपन्थी उम्मेदवार नै निर्वाचित हुने अवस्था प्रस्ट छ ।
सिन्धुली–२ मा रास्वपाका अशिष गजुरेल १७ हजार ९४० मत ल्याएर विजयी हुँदा नेकपाका लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे । एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत प्राप्त गरे । एमाले र नेकपाका उम्मेदवारले प्राप्त गरेको कुल मत २६ हजार ३८६ हुन्छ, जो निर्वाचित उम्मेदवार गजुरेलको मतभन्दा बढी हो ।
भक्तपुर–१ लाई नेपाल मजदुर किसान पार्टीको गढ मानिँदै आएको थियो । यहाँ रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे । एमालेका सोम प्रसाद मिश्र ३ हजार ७२१ मतसहित चौथो स्थानमा रहे । छैटौँ स्थानमा रहेको नेकपाका हरिराम लवजुले एक हजार १७७ मत प्राप्त गरे । यहाँ नेमकिपा, एमाले र नेकपाको मत जोड्दा ३३ हजार ४५ हुन्छ ।
सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुली २४ हजार ४१२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरे । एमालेका सरेश नेपालले ११ हजार ९६१ मत पाए । यहाँ वामपन्थी दलका उम्मेदवारले पाएको कुल मत २९ हजार २८८ छ । यो क्षेत्रमा २०६४ सालदेखि माओवादी केन्द्रले जित्दै आएको थियो ।
मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती ३० हजार ५० मत ल्याएर विजयी भए । एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे । चौथो स्थानमा रहेका नेकपाका लवशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गरे । वामपन्थी उम्मेदवारले प्राप्त गरेको कुल मत ३१ हजार ३३८ देखिन्छ, जो निर्वाचित उम्मेदवार उप्रेतीले पाएको मतभन्दा बढी हो ।
दोलखामा रास्वपाका जगदीश खरेल ३२ हजार ३७६ मत ल्याएर विजयी भए । एमालेका एमाले पार्वत गुरुङले १७ हजार ४४९ र नेकपाका विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरे । गुरुङ र खड्काले प्राप्त गरेको मत जोड्दा ३० हजार ५१४ हुन्छ । यस आधारमा यहाँ वामपन्थी गठबन्धन गरेको भए जित्ने सम्भावना देखिन्छ ।
काभ्रे–१मा रास्वपाका मधुकुमार चौलागाईं २९ हजार ६१८ मत ल्याएर विजयी भए । दोस्रो स्थानमा कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत प्राप्त गरे । नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ प्राप्त गर्दा एमालेका अमि तामाङले १३ हजार ८१४ मत ल्याए । एमाले र नेकपाका उम्मेदवारको कुल मत २७ हजार ९९८ छ, जसको आधारमा यहाँ वामपन्थी मत रास्वपाका निर्वाचित उम्मेदवारको तुलनामा बढी छ ।
नुवाकोट–१ मा रास्वपाका विक्रम तिमिल्सिना २२ हजार ६०९ मत ल्याएर विजयी भए । कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरे । नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत पाए । एमालेका बद्री मैनालीले ८ हजार ९३२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महेन्द्र तामाङले १५६ मत प्राप्त गरे । यहाँ वामपन्थी उम्मेदवारको कुल मत २२ हजार ४६५ छ ।
- गण्डकी प्रदेश
१८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा वामपन्थी शक्ति निकै कमजोर देखिएको छ । गठबन्धन बनाएर गएको भए गण्डकी प्रदेश अन्तर्गत बागलुङ–२ मामात्र वामपन्थी उम्मेदवारले जित्ने देखिन्छ ।
बागलुङ–२ मा रास्वपाका उम्मेदवार शोम शर्मा १२ हजार ६४७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरे । नेकपाका ज्ञाननाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा एमालेका मञ्जु शर्माले ७ हजार ८६४ मत प्राप्त गरे । वामपन्थी उम्मेदवारले प्राप्त गरेको कुल मत १८ हजार ५७३ छ, जो गठबन्धन हुँदा जितका लागि पर्याप्त हुने निर्वाचन परिणामले देखाएको छ ।
- लुम्बिनी प्रदेश
कुल २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा वामपन्थी गठबन्धन बनाएर चुनावमा गएको भए गुल्मी–२, कपिलवस्तु–२, प्यूठान र बर्दिया–२ मा जित निश्चित हुने अवस्था देखिन्छ ।
गुल्मी–२ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थी झिनो मतान्तरले विजयी भएका छन् । पन्थी १६ हजार ९६७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गोकर्ण विष्टले १६ हजार ४०६ मत प्राप्त गरे । चौथो स्थानमा रहेको नेकपाका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरे । एमाले र नेकपाका उम्मेदवारले प्राप्त गरेको मत जोड्दा १९ हजार ४८७ हुन्छ ।
कपिलवस्तु–२ मा रास्वपाका विक्रम थापा २७ हजार ६३५ मत ल्याएर विजयी भए । कांग्रेसका सुरेन्द्र राज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे । नेकपाका बृजेश कुमार गुप्ताले २० हजार ४८२ मत प्राप्त गर्दा एमालेका दृगनारायण पाण्डेयले ७ हजार ३५७ मत प्राप्त गरे । यहाँ पनि एमाले र नेकपाका उम्मेदवारको कुल मत रास्वपाका निर्वाचित उम्मेदवार थापाको भन्दा बढी हुन्छ । यहाँ वामपन्थी दलका उम्मेदवारको कुल मत २७ हजार ८३९ छ ।
प्यूठानमा रास्वपाका सुशान्त वैदिक २७ हजार ४६९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. गोविन्द पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरे । एमालेका सूर्य थापा क्षेत्रीले १६ हजार ७१० मत प्राप्त गरे । नेकपाका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दा राजमोका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत प्राप्त गरे । यहाँ वामपन्थी उम्मेदवारले प्राप्त गरेको कुल मत ३३ हजार ४३८ छ ।
बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मत ल्याएर विजयी भए । कांग्रेसका किशोर सिंह राठोरले २० हजार ४२० मत प्राप्त गरे । नेकपाका सुरेश पन्थले १९ हजार १८० मत पाउँदा एमालेका विमला विकले १० हजार ७७२ मत प्राप्त गरिन् । यहाँ एमाले र नेकपाका उम्मेदवारको कुल मत २९ हजार ९५२ छ, जो निर्वाचित उम्मेदवारको भन्दा बढी हो ।
- कर्णाली प्रदेश
माओवादी आधार क्षेत्र रहेको कर्णाली प्रदेशमा वामपन्थी मिलेर गएको भए योपटक राम्रो नतिजा आउने तथ्यांकले देखाएको छ । १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेकपा ४ र एमाले एक स्थानमा विजयी भएको थियो । वामपन्थीबिच प्रतिस्पर्धा हुँदा मुगु, जुम्ला, हुम्ला, जाजरकोट र दैलेख–१ गुमेको देखिन्छ । ती क्षेत्रमा वामपन्थी दलबिच गठबन्धन हुँदा जित वामपन्थीहरूकै पक्षमा हुने तथ्याङ्कले देखाएको छ ।
मुगुमा कांग्रेसका खड्ग शाही ७ हजार ९१४ मत ल्याएर विजयी भए । एमालेका पूर्णबहादुर रोकायले ६ हजार ७१८ र नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गरेका थिए । यी दुई उम्मेदवारले पाएको कुल मत १२ हजार २७६ छ ।
जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही १४ हजार ८१६ मत ल्याएर विजयी भए । यहाँ नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ र चौथो स्थानमा रहेका एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गरे । यी दुई उम्मेदवारले प्राप्त गरेको मत १६ हजार १५३ हुन्छ ।
हुम्लामा कांग्रेसका जयपति रोकाय ८ हजार ७९७ मत ल्याएर विजयी भए । यहाँ नेकपाका डा. दीपेन्द्र रोकायले ७ हजार २४३ मत प्राप्त गर्दा एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा वामपन्थी उम्मेदवारले पाएका कुल मत ११ हजार ५७४ हो ।
२०६४ सालदेखि माओवादी केन्द्रले जित्दै आएको जाजरकोटमा योपटक कांग्रेसले विरासत फर्काएको छ । कांग्रेसका खडक बहादुर बुढा २० हजार १४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका शक्ति बहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरे । एमाले र नेकपाका उम्मेदवारले पाएको कुल मत ३४ हजार २९० छ, जो निर्वाचित उम्मेदवारको तुलनामा बढी हो ।
दैलेख–१ मा कांग्रेसका बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रविन्द्र राज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । चौथो स्थानमा रहेका नेकपाका अम्बरबहादुर थापाले ४ हजार २५६ मत प्राप्त गरे । एमाले र नेकपाका उम्मेदवारको मत जोड्दा १६ हजार ५२ हुन्छ । वाम गठबन्धन भएको अवस्थामा यो क्षेत्रमा पनि वामपन्थी उम्मेदवार निर्वाचित हुने अवस्था रहेको तथ्याङ्कले देखाएको छ ।
- सुदूरपश्चिम प्रदेश
वामपन्थी गठबन्धन बनेको अवस्थामा सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम–१, डोटी र बैतडीमा वामपन्थीकै दबदबा हुने अवस्था देखिएको छ । कुल १६ निर्वाचन क्षेत्र रहेको यहाँ एमालेले ३ सिट जित्यो भने नेकपाले एक सिट पनि जित्न सकेन ।
बाजुरामा कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मत ल्याएर विजयी भए । यहाँ एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरे । चौथो स्थानमा रहेको नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ३०१ मत पाए । यहाँ वामपन्थी उम्मेदवारले पाएको कुल मत १९ हजार ९३४ छ ।
अछाम–१ मा कांग्रेसका भरत कुमार स्वार १० हजार ७५९ मत ल्याएर विजयी भए । नेकपाका प्रभावशाली नेता रहेका डा. भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गरे । एमालेले माओवादी पृष्ठभूमिका दीपक बहादुर साउदलाई उम्मेदवार बनाउँदा नेकपालाई धक्का लागेको देखिन्छ । एमालेका साउदले ७ हजार ३५९ मत प्राप्त गरे । वामपन्थी उम्मेदवारले पाएको कुल मत १७ हजार ५९२ छ ।
डोटीमा कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८९७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरे । चौथो स्थानमा रहेको नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ मत प्राप्त गरे । यहाँ वामपन्थी उम्मेदवारको कुल मत १९ हाजार ५२३ छ ।
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे । एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गर्दा नेकपाका प्रमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरे । यहाँ वामपन्थी दलका उम्मेदवारले प्राप्त गरेको कुल मत २४ हजार ५६ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण