गण्डकीमा सडक मापदण्डभित्रका पुराना घर अब नभत्किने
सारांश
- गण्डकी प्रदेशमा सडक विस्तार गर्दा मापदण्डमा परेका पुराना घर अब नभत्किने भएको छ।
- प्रदेश सरकारले सडक ऐन संशोधन गर्दै ऐन लागू हुनुअघि बनेका घर तथा संरचना नभत्काउने व्यवस्था गरेको छ।
- सर्वोच्च अदालतको आदेश र स्थानीयको गुनासोपछि सरकारले नागरिकको सम्पत्ति र आवासको हकलाई सम्मान गर्दै ऐन संशोधन गरेको हो।
पोखरा । गण्डकी प्रदेशभित्र सडक विस्तारका क्रममा मापदण्डमा परेका पुराना घर अब नभत्किने भएको छ । गण्डकी प्रदेशले सडक ऐन संशोधन गर्दै पुराना घर नभत्काउने गरी कानुन बनाएको हो । प्रदेश सरकारले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्दै ऐन लागू हुनुअघि बनेका पुराना घर तथा स्थायी संरचनाहरूलाई नभत्काउने कानुनी व्यवस्था गर्न लागेको हो ।
सोमबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले सडक ऐनको पहिलो संशोधन विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि संसदीय समितिमा छलफलका लागि पठाइएको छ ।
गत वर्ष जारी भएको सडक ऐनमा प्रदेश लोकमार्ग र प्रादेशिक सडकको सीमा (राइट अफ वे) र घर बनाउँदा सडकबाट छोड्नुपर्ने दूरी (सेट ब्याक) तोकिएको थियो । तर, ऐनले पुराना घरहरूलाई समेत समेट्ने देखिएपछि दमौली, भोर्लेटार, ब्यास जस्ता पुराना र घना बस्तीका स्थानीयले आफ्नो उठिबास हुने भन्दै गुनासो गर्दै आएका थिए । सर्वोच्च अदालतले समेत नागरिकको मञ्जुरी वा उचित मुआब्जा दिएर मात्र सडक विस्तार गर्नू भनी आदेश दिएपछि सरकारले ऐन संशोधन गरेको हो ।
‘विकासका नाममा नागरिकको उठिबास हुनुहुँदैन । हामीले नागरिकको सम्पत्ति र आवासको हकलाई सम्मान गर्दै यो संशोधन ल्याएका हौँ,’ मन्त्री केसीले भने । मूल ऐनमा दफा २४ (क) थप गरिएको छ । ऐन जारी हुनुपूर्व बनिसकेका भवन र स्थायी संरचनाको हकमा सडक मापदण्ड लागू नहुने उल्लेख गरिएको छ । यसको अर्थ, अब बन्ने नयाँ घरहरूले मात्र तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ ।
प्रदेश सरकारले खारेज गरिसकेको पूर्वाधार विकास निर्देशनालय र निर्देशक जस्ता शब्दहरू ऐनबाट हटाइएको छ, जसले प्रशासनिक कामलाई थप स्पष्ट र छरितो बनाउने विश्वास लिइएको छ । छलफलमा भाग लिँदै सांसदहरूले सरकारको कामलाई धन्यवाद दिए । अशोक कुमार श्रेष्ठले समय सापेक्ष ऐन संशोधन गरेर सरकारले व्यवहारिक प्रयोग गरेको बताए ।
अर्का सांसद रेशम जुग्जालीले सर्वोच्चको नजिर र जनताको आवाजलाई सुनेर सरकारले सही निर्णय लिएको सुनाए । उनले अब मुआब्जाको विषयलाई पनि थप स्पष्ट पारिनुपर्ने सुझाव दिए । राप्रपा सांसद विन्दु पौडेलले जनतालाई सुकुम्वासी बनाएर गरिने विकास उपयुक्त नहुने भन्दै संशोधनले जनतालाई ठूलो राहत दिने बताइन् । ऐनमा थप संशोधनका लागि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने समय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण