बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नवनियुक्त मन्त्री

विराजभक्त श्रेष्ठ : वैकल्पिक राजनीतिदेखि मन्त्रीसम्म, अब छन् यस्ता चुनौती

शुक्रबार, १३ चैत २०८२, १२ : ५४
शुक्रबार, १३ चैत २०८२

सारांश

  • विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका छन्।
  • उनले यसअघि युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए, र विभिन्न महत्वपूर्ण काम गरेका थिए।
  • नयाँ मन्त्रीको काँधमा राष्ट्रिय गौरवका आयोजना र ऊर्जा संकट समाधान गर्ने चुनौती आएको छ।

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त भएका छन् । बालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारमा काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ मन्त्री बनेका हुन् । 

काठमाडौँको ऐतिहासिक वसन्तपुर क्षेत्रमा हुर्किएका श्रेष्ठ सम्पदा संरक्षणका अभियन्तानदेखि देखि वैकल्पिक राजनीतिका अगुवासम्मको पहिचान बनाएका छन् । 

उनको राजनीतिक यात्रा २०७४ सालमा तत्कालीन विवेकशील नेपाली दलबाट सुरु भएको हो । उज्ज्वल थापाको 'वान ट्री–मेरो जिम्मेवारी' जस्ता अभियानबाट प्रभावित भइ वैकल्पिक राजनीतिमा होमिएका थिए । २०७४ को प्रदेशसभा निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट उनी बागमती प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएर आफ्नो संसदीय यात्रा आरम्भ गरेका थिए । 

बागमती प्रदेशसभामा रहँदा श्रेष्ठले छुट्टै सांसदको पहिचान बनाउन सफल भएका थिए । विशेष गरी वातावरण संरक्षण, रुख कटानको विरोध र दिगो विकासका मुद्दामा उनको आवाज बलियो थियो । 

विवेकशील र साझा पार्टीबीचको एकीकरण र पछि उत्पन्न वैचारिक मतभेदका कारण उनले पार्टीबाट राजीनामा दिएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनअघि उनी स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा थिए तर पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई निर्वाचन जित्न सफल भएका थिए ।

झण्डै तीन वर्षको कार्यकालमा श्रेष्ठले संसदीय दलको उपनेताको भूमिका निर्वाह गरे भने छोटो समय युवा तथा खेलकुद मन्त्रीको भूमिकामा काम समेत गरे । 

झण्डै ५ महिना युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा रहँदा उनले वार्षिक खेलकुद क्यालेन्डर सार्वजनिक गर्ने, स्काउटको जग्गा विवाद समाधानमा काम गर्नेदेखि र एन्टी डोपिङ एजेन्सी गठन गर्ने लगायत महत्वपूर्ण काम गरेका थिए । 

अहिले उनको काँधमा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी आएको छ । यो यस्तो मन्त्रालय हो जस अन्तर्गत राष्ट्रिय गौरवको सूचीमा रहेका आठवटा आयोजना  पर्दछन् । 

खासगरी देशको विद्युतीकरणदेखि कृषियोग्य भूमिमा सिँचाईको व्यवस्थापन गर्नेसम्मको चुनाैती यो मन्त्रालयलाई छ । जसका लागि आयोजनाहरुलाई द्रुत गतिमा सम्पन्न गर्नु पर्नेछ । 

हिँउदमा हुने उर्जाको संकट र वर्षामा हुने अधिक उत्पादन व्यवस्थापन गर्नेदेखि कमजोर विद्युत पूर्वाधारका कारण हुने गरेको समस्या समाधान गर्न ट्रान्समिसन लाइन, सबस्टेशन निर्माण तथा भूमिगत विद्युतीकरणमा समेत मन्त्रालयले काम गर्नु पर्नेछ ।

त्यस्तै, बहुप्रतिक्षित बुढीगण्डकी, पश्चिम सेती लगायत आयोजनालाई तत्काल अघि बढाउनेगरी कामलाई अघि बढाउनु समेत उनको जिम्मेवारी हुनेछ । अहिले भइरहेको पेट्रोलियम तथा खाना पकाउने ग्यासको खपत घटाउन विद्युतीय सवारी र चुल्होको प्रयोग बढाउन नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी पनि उनको काँधमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप