शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
कविता

ए हजुर कता ?

शनिबार, २१ चैत २०८२, १३ : ५०
शनिबार, २१ चैत २०८२

सारांश

  • लेखकले देशमा वैज्ञानिक शिक्षा, सुशासन र आर्थिक समृद्धिका लागि प्रभावकारी छलफलको आवश्यकता औंल्याएका छन्।
  • गाउँको विकास, रोजगारी सिर्जना, पर्यटन र भौतिक पूर्वाधार निर्माणका लागि एकजुट भई लाग्नुपर्नेमा जोड दिइएको छ।
  • भ्रष्टाचार अन्त्य गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र बिदेसिएका युवालाई स्वदेश फर्काउने उपाय खोज्न आग्रह गरिएको छ।

ए हजुर कतातिर ?  
ए हजुर तपाईं कतातिर ?
छलफल चलाऊ यतातिर
बुर्जुवा शिक्षा फाली वैज्ञानिक शिक्षा ल्याउने
गरिब र धनीको शिक्षा एउटै बनाउने 
५० वर्षदेखि भन्दै आको 
अहिलेसम्म नि किन पुरा नभाको ?
गरौँ न यतातिर छलफल 
बेकार केको हो खलबल ।

गाउँ बस्तीका
रित्ता घरका ताला कसरी खोल्ने ?
बाँदर–बँदेल कतातिर हुल्ने ?
उद्योग, व्यवसाय कहाँ–कहाँ खोल्ने ?
बिसौँ वर्ष नबन्ने पुल 
बनाउन नपाउँदै भत्कने बाटो
गाडी नचढ्ने रोड
ज्यानै लानेखालका मोड
यस्ता विषयमा चलाऊ न छलफल 
किन हामीले गरेको अलमल ? 

पर्यटन विकास कसरी गर्ने ?
भोकाको पेट कसरी भर्ने ?
जलविद्युतको विकास गरी
उज्यालो नेपाल बनाउने कसरी ?
स्वास्थ्यको पहुँच हरेक जनतालाई 
सबैलाई कानुन समान बनाई
रच्नुपर्‍यो नि सुन्दर देश
छलफल यतातिर चलाएको बेस ।

जडीबुटीको प्रशोधन गरी
खानी निकालौँ ढिलो नगरी 
जनताको घर–घर पानीको धारा
खेतबारी सिञ्चित पारौँ न सारा
वन्यजन्तु धपाई, बजार खोजी 
जनतालाई रोजगार रोजी–रोजी 

वैदेशिक सम्बन्ध कस्तो हुने ? 
रासन कसरी सस्तो पाउने ? 
भ्रष्टाचार निर्मूल कसरी हुन्छ ?
समृद्धिले आकाश कसरी छुन्छ ?
गाउँघर हराभरा कसरी पार्ने
एकीकृत बस्ती विकास गरी
जोखिमयुक्त बस्तीहरू कतातिर सार्ने ? 
छलफल चलाऊ न यतातिर 
ए हजुर तपाईँहरू कतातिर ? 

बन्द कारखाना कसरी खोल्ने ?
सुशासनयुक्त सरकार चलाई
जनतालाई मीठो कसरी बोल्ने ?
आर्थिक समृद्धि ल्याउने कसरी ?
आत्मनिर्भर बन्नुछ जसरी, 
बिदेसिएका युवा देशमा फर्काइ
देश निर्माणमा लगाउने कसरी 
सीमा सुरक्षा गर्ने कसरी ?
हत्या हिंसा दुर्व्यसनी कसरी हर्ने ?

छलफल चलाउनु पर्दैन र यता 
तपाईँहरू लुखुर–लुखुर कता ?
ए हजुर, त्यता हैन अब आउनुस् न यता
गरौँ छलफल जुटाऊ न एकता ।

(ओली पूर्व संविधानसभा सदस्य हुन् ।)
कोटीगाउँ, डोटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गौरी ओली
गौरी ओली
लेखकबाट थप