'जनप्रतिनिधिले आफै डोजर चलाउने र ठेक्का लिने काम बन्द गरून्'
हेटौँडा । बागमती प्रदेशसभा सदस्य सुस्पा भुजेलले विकास निर्माणका योजनाहरूमा जनप्रतिनिधिहरू नै निर्माण व्यवसायी बन्ने काम बन्द गर्न आग्रह गरेकी छन् ।
जनप्रतिनिधिहरूले निर्माणको काम आफ्नो कम्पनीबाट लिने र आफ्नै डोजर परिचालन गर्ने कार्य रोक्न आग्रह गरेकी हुन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकको विशेष समयमा नेकपाकी सांसद भुजेलले जनप्रतिनिधिहरूले नै ठेक्कापट्टामा सहभागी हुने र आफ्ना मेसिनरी औजार प्रयोग गर्ने प्रवृत्तिले सुशासनको खिल्ली उडाएको बताइन् । विकासका नाममा हुने स्वार्थको द्वन्द्वलाई जनप्रतिनिधिहरूले प्रश्रय दिइरहेको उनले बताइन् ।
‘जनप्रतिनिधि आफैँले आफ्नो भ्याकुम (मेसिन) चलाउँछन् । आफैँ टेन्डरको बिट (बोलपत्र) मा जान्छन् । कतिपय ठाउँमा त इन्जिनियरिङ पनि आफैँले गर्छन् । म यो सदनमार्फत संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, अब कुनै पनि जनप्रतिनिधिले आफैँ बिट गर्न पाउने अधिकारको कटौती गरियोस् र उसले आफ्नो डोजर चलाउने काम पनि बन्द गरिदियोस्,’ उनले भनिन् ।
उनका अनुसार जनप्रतिनिधिहरूको स्वार्थ बाझिने कार्यशैलीले गर्दा योजनाहरूको गुणस्तर खस्किएको र वास्तविक निर्माण व्यवसायीहरू मारमा परेका छन् । जबसम्म जनप्रतिनिधिहरू नाफामूलक ठेक्कापट्टा र डोजर मोहबाट मुक्त हुँदैनन्, तबसम्म सुशासन र पारदर्शिता केवल कागजमा मात्र सीमित रहने उनको भनाइ छ ।
सांसद भुजेलले सरकार गठन भएको लामो समय बित्दा पनि परिणाम शून्य रहेको बताइन् । उनले जनताको विश्वास जित्न भाषण होइन, व्यवहार र सोच बदल्न नेतृत्वलाई सुझाव दिइन् ।
‘समय केवल कुरा गर्ने होइन । परिणाम दिने हो । सरकार गठनको नौ महिना बित्न लाग्दा पनि सरकारले आफ्नो भूमिका निर्वाह गर्न सकेन । विनियोजित बजेटहरू लाथालिंग छन् । नागरिकले हामीप्रति आशा होइन । आशाको परिणाम शून्य पाएका छन्,’ उनले भनिन्, ‘जबसम्म शासन पारदर्शी हुँदैन । तबसम्म दिगो विकासको कुरा कागजमा मात्र सीमित रहन्छ । भ्रष्टाचारले विकासलाई मात्र होइन । भविष्यलाई नै खाइरहेको छ । यसका लागि कडा अनुगमन र डिजिटल पारदर्शिता अनिवार्य छ ।’
सांसद भुजेलले प्रदेशको ३ हजार २३० सहकारी दर्ता भए पनि हालसम्म १ हजार २०० वटा मात्र नवीकरणमा आएको बताइन् । सहकारीको नियमन र अनुगमनमा सरकार किन मौन रहेको उनले बताइन् । स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति र प्रविधिको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको उनको भनाइ छ ।
अब बहाना बनाएर उम्किने समय नरहेको भन्दै सरकारलाई नतिजामुखी काममा लाग्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण