शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा सार्वजनिक भयो रोयल इनफिल्डको 'गोवन क्लासिक ३५०', यस्तो छ मूल्य र विशेषता

बुधबार, ०२ वैशाख २०८३, १६ : ४८
बुधबार, ०२ वैशाख २०८३

काठमाडौँ । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा ख्याति कमाएको रोयल इनफिल्डले नेपाली बजारमा आफ्नो नयाँ मोडल '२०२६ एडिसन गोवन क्लासिक ३५०' सार्वजनिक गरेको छ । 

स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने बोबर–इन्स्पायर्ड डिजाइनमा आधारित यो मोटरसाइकल नयाँ राइडर–केन्द्रित सुविधाहरूका साथ बजारमा ल्याइएको हो ।

नयाँ गोवन क्लासिक ३५० मा ३४९ सीसीको एयर–अयल कुल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । यस इन्जिनले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्दछ । कम्पनीका अनुसार यो इन्जिनलाई विशेष गरी 'लेड–ब्याक बोबर स्टाइल' अनुरूप ट्युन गरिएको छ, जसले सहरको व्यस्त सडकदेखि खुला राजमार्गसम्म अत्यन्तै स्मूथ र आरामदायी यात्राको अनुभव प्रदान गर्दछ । यसमा ५–स्पिड गियरबक्सका साथै नयाँ 'असिस्ट–एन्ड–स्लिपर क्लच' र अपग्रेड गरिएको 'यूएसबी टाइप–सी' चार्जिङ पोर्ट समेत उपलब्ध गराइएको छ ।

डिजाइनको कुरा गर्दा यस मोटरसाइकलले आफ्नो सिग्नेचर सिंगल–सिट बोबर स्टाइलिङलाई कायम राखेको छ । यसमा फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप आल्मुनियम ट्युबलेस स्पोक ह्विल्स, चोपर–स्टाइल फेन्डर्स, स्ल्यास–कट एग्जस्ट र मिड–एप ह्यान्डल बारहरू रहेका छन्, जसले यसलाई प्रिमियम र बोल्ड लुक दिएका छन् ।

लन्चका अवसरमा रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. का निर्देशक मेघराज पौडेलले गोवन क्लासिक ३५० ले नेपालका राइडरहरू माझ विशेष आकर्षण पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो मोडलले स्वतन्त्र जीवनशैली रुचाउनेहरूका लागि ब्रान्डको लाइन–अपमा एउटा फरक र विशिष्ट पहिचान बनाउने बताउनुभयो । यो मोटरसाइकल नेपालभरका सबै आधिकारिक रोयल इनफिल्ड शोरुमहरूमा उपलब्ध हुने जानकारी दिइएको छ ।

कम्पनीले यसको मूल्य रङ्ग अनुसार दुई समूहमा विभाजन गरेको छ । 'सैक ब्ल्याक' र 'पर्पल हेज' रङ्गको मूल्य ५ लाख ९८ हजार रुपैयाँ तोकिएको छ भने 'ट्रिप टिल' र 'रेभ रेड' भेरियन्टको मूल्य ६ लाख २ हजार रुपैयाँ कायम गरिएको छ ।
सन् १९०१ देखि 'प्योर मोटरसाइकलिङ' को दर्शन बोकेको रोयल इनफिल्ड विश्वकै पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो । आइकर मोटर्स लिमिटेड अन्तर्गतको यो ब्रान्डले नेपालमा सीकेडी एसेम्बली फ्यासिलिटीमार्फत स्थानीय रूपमै मोटरसाइकल उत्पादन गर्दै आएको छ । हालसालै कम्पनीले शहरी गतिशीलताका लागि 'फ्लाइङ फ्ली' नामक इलेक्ट्रिक ब्रान्ड समेत घोषणा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप