सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने चेतावनी

शनिबार, ०५ वैशाख २०८३, १७ : ४१
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी दिएको छ।
  • अभियानका संयोजक तथा सदस्यहरूले छिमेकी राष्ट्रको तुलनामा नेपालमा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले नेपाल आयल निगम र  सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । सो सङ्गठनले शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगम घेर्ने चेतावनी दिएको हो ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगभ घेराउ गर्ने चेतावनी दिए । ‘जनतालाई पुरानाहरूको जन्जालबाट मुक्त गर्छु भन्ने नयाँहरूले जनतालाई महँगीको भारले थिच्ने, दुई तिहाइको उपहारले यही हो’ सिंहले प्रश्न गरे । ‘यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौँ’ सिंहले चेतावनी दिए ।

सह संयोजक अजय सोडारीले  छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथाव भए पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ हुँदा नेपालमा २ सय १९ हुनु लाजमर्दो विषय हो’ सोडारीले भने ।

५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै सोडारीले भने– ‘कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस् ।’ दुई तिहाइको सरकारले जनतालाई न्याय देलान् भन्ने अपेक्षाकाबीच पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले भने, ‘पेट्रोलको प्रतिलिटर १५७ बाट २१९ गाएको छ, डिजेल/मट्टीतेलमा  १४२ बाट २३७ पुगाएर सरकारले आफ्नो शक्ति देखाइदियो ।’

सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्त गर्दै सोडारीले भने, ‘महँगी बढेको बढ्यै छ, मानौ यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन् ।’

उनले परराष्ट्र र कूटनीति खलबलिँदै गएको र कालापानी लिपुलेखको भूमि अरू देशले नै प्रयोग गर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

‘हामी लास र दोष होइनौँ, हाम्रो विवेक छ, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अपहरण सैह्य छैन, जनजीविका र जनताका आधारभूत समस्यामा हामी एक दिन त के, एक घण्टा पनि कुर्न तयार छैनौँ’ सोडारीले भने ।

जेनजी प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकार सिंहदरबारमा सर्वसाधारणलाई निषेध गरिएको भन्दै तानाशाही कदमतिर उद्धत भएकाे आरोप लगाए ।

जेनजी जनम सिंहले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए । जेनजी सुशील बुढाथोकीले इन्धनको मूल्यलाई स्थिर नराखे सबैतिर महँगी आकाशिने भएकाले तत्काल मूल्य घटाउनुपर्ने बताए ।

जेनजी अनिष त्रिपाठीले पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्य वृद्धिले दुई तिहाइको बालेन सरकारले जनताको आशा र भरोसामाथि कुठाराघात गरेको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप