धितोपत्र बजारमा अवैध खेलोफड्को: दीपक भट्टले नीतिगत छिद्रको प्रयोग गरी बजार प्रभावित पारेको खुलासा
सारांश
- व्यवसायी दीपक भट्टले नीतिगत छिद्रको प्रयोग गरी धितोपत्र बजारमा अस्वाभाविक कारोबार र अवैध चलखेल गरेको खुलासा भएको छ।
- प्रतिवेदन अनुसार भट्टले दलाल व्यवसायीसँगको मिलेमतोमा रकम भुक्तानी नगरी अर्बौंका शेयर कारोबार गर्दै बजारको मूल्यमा कृत्रिम उतारचढाव ल्याएका छन्।
- धितोपत्र बोर्डले भट्टसहितका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई सिफारिस गरेको छ।
काठमाडौं । व्यवसायी दीपक भट्टले धितोपत्र बजारमा अस्वाभाविक कारोबार र बजार हेरफेर गरेको खुलासा भएकाे छ। धितोपत्र बोर्डले तयार पारेको 'प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन २०८३' ले भट्टले विभिन्न कम्पनीको शेयर कारोबारमा संगठित रूपमा अवैध चलखेल गरेको देखाएको हो।
प्रतिवेदन अनुसार भट्टले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) सँगको मिलेमतोमा रकम भुक्तानी नै नगरी अर्बौंका शेयर खरिद–बिक्री गरेको देखिएको छ। उनले भृकुटी स्टक ब्रोकिङमार्फत शेयर खरिद गर्दा कुनै पनि रकम नबुझाई उधारोमा कारोबार गरेको र पछि सोही शेयरको मूल्य बढाएर राफसाफ गर्ने गरेको पाइएको हो। यो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ विपरित रहेको प्रतिवेदनमा उल्लेख छ।
जाँचबुझका क्रममा भट्टले नेपाल रि–इन्स्योरेन्स कम्पनी, नबिल डिबेन्चर, एनआईएमबी ९० लगायतका धितोपत्रहरूमा ठूलो मात्रामा खेल्ने गरेको देखिएको छ। विशेषगरी एनआरआईसीको शेयर मूल्य कृत्रिम रूपमा बढाउन उनले आफ्नै परिवारका सदस्य र निकटका व्यक्तिहरूको प्रयोग गरेको प्रतिवेदनले पुष्टि गरेको छ।
भट्टले आफ्नी पत्नी आयुष्मा नेपाल भट्ट, बालुवाटारका शुभी अग्रवाल, सन्दीप चाचान लगायतका व्यक्तिहरू र इन्फिनिटी होल्डिङ्स जस्ता कम्पनीहरूलाई समेत यो सञ्जालमा जोडेको देखिएको छ।
भट्टले एउटै समयमा विभिन्न स्थानका फरक–फरक 'आईपी एड्रेस' प्रयोग गरी शेयर खरिद–बिक्री गर्ने गरेका थिए। उनले एउटै डिम्याट खाताबाट अस्वाभाविक संख्यामा कारोबार गर्दै बजारलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको प्राविधिक विश्लेषणले देखाएको छ। उनले हिमालयन रि–इन्स्योरेन्सको संस्थापक शेयरधनी रहेका व्यक्तिहरूसँग मिलेर दोस्रो बजारमा मूल्य बढाउने योजनाबद्ध काम गरेको समेत भेटिएको छ।
धितोपत्र बोर्डले भट्टको यो कार्यलाई धितोपत्र सम्बन्धी ऐनको दफा ९४, ९५ र ९६ बमोजिमको 'मूल्यमा उतारचढाव गराएको', 'झुठो कारोबार गरेको' र 'बजारलाई प्रभावित पारेको' कसूरका रूपमा व्याख्या गरेको छ। प्रतिवेदनले भट्टको यो कार्यबाट आम लगानीकर्ता जोखिममा परेको र बजारको स्वच्छता कायम राख्न उनीमाथि हदैसम्मको कारबाही हुनुपर्ने ठहर गरेको छ।
जाँचबुझ समितिले आफ्नो राय सुझावमा दीपक भट्टसहित उनीसँग आबद्ध सन्दीप चाचान, राजबहादुर शाह, ऋषिराज मोर र विभिन्न बीमा कम्पनीका सञ्चालकहरूमाथि थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सरकारी वकीलको कार्यालय पठाउन सिफारिस गरेको छ। भट्ट हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा प्रहरी हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण