बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकियो

सोमबार, १४ वैशाख २०८३, ११ : २४
सोमबार, १४ वैशाख २०८३

सारांश

  • मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले 'फ्रि बिजुली, फ्रि पानी' र छोरीको विवाहमा नगद सहयोग जस्ता लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएकोमा आश्चर्य व्यक्त गरेकी छन्।
  • मेयर साहले माथिको आदेश भन्दै भुक्तानी रोक्ने कार्य संविधान र कानुन विपरीत भएको र स्थानीय सरकारलाई काम गर्ने वातावरण दिनुपर्ने बताएकी छन्।
  • कार्यक्रमको भुक्तानी रोकिएपछि स्थानीय बासिन्दाले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह नगरपालिकाद्वारा सञ्चालित ‘फ्रि बिजुली, फ्रि पानी’ कार्यक्रम तथा छोरीको विवाहमा नगद सहयोग जस्ता लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएकोमा आश्चर्यचकित भएकी छन् । 

वर्षौँदेखि सञ्चालित यी लोकप्रिय कार्यक्रमको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतले माथिको आदेश भन्दै रोकेकोमा मेयर साह आक्रोशित बनेकी छिन् । 

‘माथिको आदेश भन्दै मौलापुरमा भाँडभैलो गर्न खोजिएको छ । नगरवासीले पाउँदै आएको सेवा, सुविधा रोक्ने षडयन्त्र कसले गरिरहेको छ म आफै आश्चर्यचकित छु । संविधान र कानुन अनुसार स्थानीय सरकारले काम गर्न पाउनुपर्छ, कानुन विपरीत कुनै पनि हस्तक्षेप स्वीकार्य छैन । म प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई भन्न चाहन्छु, तपाई स्थानीय सरकार चलाएको एउटा अनुभवी व्यक्ति हो । त्यसैले तपाईँको कार्यकालमा स्थानीय सरकारलाई कानुन अनुसार काम गर्ने वातावरण दिनुस् । मौलापुरको जनताले पाउँदै आएको सेवा सुविधालाई कुनै पनि बहानामा रोकने कार्य हामीलाई स्वीकार्य छैन ।” मेयर साहले भनिन् । 

‘तपाईंको सङ्घीय सरकारले पठाएको हाकिमले बैठकको कार्यसूची आफै तय गर्छन् र निर्णय प्रमाणित पनि उपमेयरबाट गराउन भन्छन् । यो प्रचलित कानुन र मूल्य मान्यताको विपरीतको कार्य होइन ? हो भन्ने यस्तो कार्य तुरुन्त रोक्नुस् ।’ उनले थपिन् । 

मौलापुर नगरपालिका देशैभरी यस्तै लोकप्रिय कार्यक्रमका कारण चर्चित रहेको छ । यहाँको लोकप्रिय एवं राम्रा कार्यक्रम अन्य पालिकाले समेत अनुसरण गरिरहेको सन्दर्भमा यस्तो कार्य कसैले रोक्न नसक्ने उनले बताइन् । यसको निकास छिटै हुने विश्वास समेत उनले व्यक्त गरेकी छन् ।

तर यी लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएपछि स्थानीय बासिन्दा सङ्घर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । वैशाख १३ गतेदेखि टोल टोलमा अन्तरक्रिया तथा हस्ताक्षर सङ्कलन गरिरहेको सङ्घर्ष समितिले ⁠वैशाख १५ गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने, ⁠वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने, र ⁠ज्येष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप