बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ईश्वर पोखरेलसँग 'वारपार'

‘आफ्ना कमजोरी ढाकछोप गर्न बाह्य शक्तिलाई दोष दिने कम्युनिस्टहरूको बानी छ’

बिहीबार, २४ वैशाख २०८३, २० : ००
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको निर्वाचन परिणामलाई शर्मनाक पराजय मानेका छन्।
  • पोखरेलले नेतृत्वको पुनर्गठन अनिवार्य भइसकेको र आफू नयाँ पुस्ताका लागि बाटो खाली गर्न तयार रहेको बताएका छन्।
  • उनले आफ्ना कमजोरी ढाकछोप गर्न बाह्य शक्तिलाई दोष दिने कम्युनिस्टहरूको बानी रहेको टिप्पणी गरेका छन्।

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल पार्टीको आधिकारिक धारणा बाहेक सार्वजनिक रूपमा पार्टीभित्रको विवादका विषयमा खासै टिप्पणी गर्दैनन् । ‘हामी एमालेहरू’ भनेर भाषण सुरु गर्छन् र ‘हामी एमालेहरू’ भनेर नै भाषण समापन गर्छन् भन्ने सुनिन्छ ।

तर रातोपाटीको ‘वारपार’मा अन्तर्वार्ताका क्रममा पोखरेल निकै खुले । केपी शर्मा ओलीले अध्यक्षबाट बिदा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा उनले राखे । पोखरेल गत महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीसँग आमनेसामने भएका थिए । 

‘नेतृत्वको पुनर्गठन अनिवार्य भइसकेको छ, म नयाँ पुस्ताका लागि बाटो खाली गर्न तयार छु । समस्याको जड माथि छ, समाधान पनि माथिबाटै खोजिनुपर्छ,’ उनले भने । पीडालाई शक्तिमा बदलेर नीति, विधि र नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने उनले बताए । नेपालका कम्युनिस्टहरू अहिले ‘रिस्की पोइन्ट’ (खतराको बिन्दु)मा रहेको उनको मूल्यांकन छ । 

यिनै समग्र विषयमा केन्द्रित रहेर एमाले नेता पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

निर्वाचन सम्पन्न भएको लामो समय भइसक्यो, एमालेले निर्वाचनको परिणामबारे औपचारिक समीक्षा गर्‍यो कि छैन ?

नेकपा एमालेले अहिलेसम्म औपचारिक रूपमा निर्वाचनको समीक्षा गरिसकेको छैन । समीक्षाका लागि पार्टीका संस्थागत बैठकहरू बस्नुपर्ने हुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र अन्य केही प्राविधिक अप्ठ्याराहरूका कारण बैठक बस्न सकिरहेको छैन ।

Ishwar Pokharel

यद्यपि, केही अनौपचारिक र कार्यवाहक अध्यक्षको अध्यक्षतामा केही छलफल त भए, तर त्यसलाई सामग्रिक समीक्षा भन्न मिल्दैन। अध्यक्ष पूर्ण रूपमा सक्रिय भएपछि बस्ने बैठकले नै चुनावको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्नेछ ।

पार्टी अध्यक्ष बिरामी हुँदा वा अस्पताल जाँदा पूरै पार्टी ठप्प हुने र उहाँ नहुँदा समीक्षा पनि नहुने ? एमालेमा उहाँबाहेक अरू कोही छैन र ?

बाहिर हेर्दा त्यस्तो सन्देश (इम्प्रेसन) पक्कै गएको छ । तर एउटा जीवन्त पार्टीमा सबै प्रक्रिया नेतृत्वकै वरिपरि घुम्छन् भन्ने हुँदैन । केही सामान्य समीक्षाका कामहरू भइरहेका छन् । तर यति ठुलो निर्वाचनको परिणाम र आगामी कार्यदिशा तय गर्नका लागि अध्यक्षसहितको बैठक बस्नु अनिवार्य छ । उहाँ यो जटिलताबाट मुक्त भएपछि हामी सामग्रिक रूपमा बस्छौँ ।

निर्वाचनको समीक्षामा तपाईंको व्यक्तिगत दृष्टिकोण चाहिँ के हो ? तपाईंको दलको नेताले त संसद्को रोस्ट्रममै उभिएर निर्वाचनमा अल्गोरिदम, सेना, कर्मचारी, विदेशी शक्ति र विभिन्न फाउन्डेसनले हराएको आरोप लगाउनुभयो । तपाईं पनि त्यही निष्कर्षमा हुनुहुन्छ ?

तपाईंले संसदीय दलको नेताले संसदमा बोल्नुभएका कुराहरू सुन्नुभयो, त्यो एउटा पाटो भयो । तर त्यसपछि बसेका सचिवालयका बैठकले ती कतिपय कुराहरूमा भ्रम नपरोस् भनेर स्पष्ट पारेको छ । हाम्रो आधिकारिक धारणा प्रवक्ता मार्फत बाहिर आएकै छ । संसदीय दलको नेताले बोलेका कतिपय कुराहरूलाई लिएर बाहिर भ्रम पैदा भएको छ भने त्यसलाई संस्थागत निर्णयले चिर्ने काम गर्छ । 

एमाले भन्ने पार्टी कति वटा छ ?

एमाले एउटै छ, तर कहिलेकाहीँ अभिव्यक्तिमा भिन्नता देखिन सक्छ ।

निर्वाचनको नतिजालाई तपाईं कसरी हेर्नुहुन्छ ? एमालेले जितेको हो कि हारेको ?

सिधा र स्पष्ट शब्दमा भन्नुपर्दा यो निर्वाचनमा नेकपा एमालेको शर्मनाक पराजय भएको हो । मत संख्या वा सिट संख्या, जसरी हेरे पनि हामीले जुन अपेक्षा गरेका थियौँ, त्यो परिणाम आएन । यसलाई सामान्य हार मात्र मानेर पुग्दैन, यो एक प्रकारको धक्का हो । यसको गम्भीर समीक्षा हुनुपर्छ । हाम्रा नीति, विधि र गतिविधिहरूमा कतै न कतै गम्भीर समस्याहरू रहे, जसकारण हामीले यो परिणाम भोग्नुपर्‍यो ।

यो पराजयको मुख्य कारण के हो ? नेतृत्वको कमजोरी कि अरू नै केही ?

यसका बहुआयामिक कारण छन् । पहिलो त हाम्रो नीतिमा स्पष्टताको कमी देखियो । दोस्रो, हामीले अपनाउँदै आएको सामूहिक नेतृत्व प्रणाली कमजोर भयो । पार्टीभित्र ‘चेक एन्ड ब्यालेन्स’ (नियन्त्रण र सन्तुलन) को प्रणाली फितलो भयो ।

Ishwar Pokharel1

विधि र पद्धतिभन्दा पनि व्यक्तिको इच्छा र कार्यशैली हाबी हुन थाल्यो । जब पार्टी संस्थागत ढंगले चल्दैन, तब त्यसको असर चुनावमा देखिन्छ । यी सबै कारणले गर्दा नै हामीले पराजय व्यहोर्नुपरेको हो ।

यति ठुलो पराजयपछि नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्दैन ? 

नैतिकताको प्रश्न सधैँ जीवित रहन्छ । तर त्यसभन्दा पहिले समीक्षा हुनुपर्‍यो । समीक्षाबाट कसको भागमा कति कमजोरी देखिन्छ, त्यो स्पष्ट भएपछि मात्रै जिम्मेवारीको कुरा आउँछ । 

तपाईं नेतृत्व परिवर्तनको पक्षमा उभिनुभएको हो ?

नेतृत्व परिवर्तनका तीनवटा विधि हुन्छन् । पहिलो, सम्बन्धित व्यक्तिले परिस्थितिको बोध गरेर मार्गप्रशस्त गर्ने । दोस्रो, पार्टीका वैधानिक प्लेटफर्महरूमा कुरा उठेर दबाब सिर्जना हुने । र, तेस्रो, विधानअनुसार महाधिवेशन वा विशेष महाधिवेशनबाट अगाडि बढ्ने । आवश्यकता अनुसार यी उपाय अपनाउनुपर्ने हुन्छ ।

एमालेले अहिले तलका कमिटीहरूमा समीक्षा मागिरहेको छ । टाउकोमा साबुन लगाएर खुट्टाबाट पखालेजस्तो भएन र यो ? समीक्षा त माथि नेतृत्वबाट हुनुपर्ने होइन ?

तपाईंको तर्कमा दम छ । वास्तवमा यति गम्भीर परिस्थितिको मूल्यांकन माथिबाटै सुरु हुनुपर्छ । नेतृत्व, नीति र निर्णय प्रक्रियामा कहाँ त्रुटि भयो भन्ने कुरा माथिबाटै हेर्नुपर्छ । सचिवालयले तलका कमिटीहरूबाट सुझाव मागेको चाहिँ तल्लो तहका कार्यकर्ताको मनोविज्ञान बुझ्नका लागि होला ? तर यो अलि उल्टो देखिएको छ । एमालेको जिम्मेवार कार्यकर्ताको नाताले म भन्छु, समस्याको जड माथि छ भने समाधान पनि माथिबाटै खोजिनुपर्छ ।

तपाईं २०३१ सालदेखि यो पार्टी बनाउन लाग्नुभएको नेता । आज एमालेको यो अवस्था देख्दा मन कत्तिको दुख्छ ?

स्वाभाविक रूपमा मन दुख्छ । जुन आन्दोलन निर्माणमा आफ्नो जीवन खर्चियो, त्यसको स्थिति नाजुक हुँदा पीडा हुन्छ नै, तर पीडा मात्र समाधान होइन । पीडालाई शक्तिमा बदलेर नीति, विधि र नेतृत्वमा पुनर्गठन गर्नुपर्छ । यदि हामीले आफूलाई सुधारेनौँ भने अगाडि बढ्न सकिन्न ।

तपाईं सधैँ भन्नुहुन्छ- कुनै पनि चिज अपडेट भएन भने आउटडेट हुन्छ । एमाले अब आउटडेटेड हुने दिशामा हो ?

यो प्रकृतिको नियम हो । एमाले होस् वा कुनै पनि प्रणाली, यदि समयसापेक्ष आफूलाई परिमार्जन र अपडेट गर्न सकेन भने त्यो आउटडेट हुन्छ । कि त हामी सच्चिनुपर्छ, कि त सकिनुपर्छ । एमालेभित्र अहिले सच्चिनुपर्छ भन्ने ठुलो पंक्ति छ । हामी धुलो टक्टकाएर पुनः उठ्ने सामर्थ्य राख्छौँ । हाम्रा विगतका चुनौतीहरू यसभन्दा पनि कठिन थिए, तर हामी फर्किएर आयौँ ।

अध्यक्ष केपी ओलीले बाह्य षड्यन्त्रका कारण निर्वाचनमा हारियो भन्नुहुन्छ, तपाईं आन्तरिक कमजोरी भन्नुहुन्छ । कुन कुरा सत्य हो ?

कम्युनिस्टहरूमा एउटा खराब बानी छ, आफ्ना कमजोरी ढाकछोप गर्न बाह्य शक्तिलाई दोष दिने । षड्यन्त्र त भइरहन्छ, प्रतिस्पर्धामा विपक्षीले जालझेल गर्छ नै । तर त्यसलाई चिर्ने क्षमता नेतृत्वमा हुनुपर्छ । यदि तपाईं राज्य सञ्चालनमा हुनुहुन्छ र आफ्नै वरिपरि के भइरहेको छ भन्ने थाहा पाउनुहुन्न भने त्यो अरूको दोष होइन, आफ्नै असफलता हो । आन्तरिक कुरा सबल भयो भने बाह्य षड्यन्त्रले केही गर्न सक्दैन ।

तपाईंले ११औँ महाधिवेशनमा केपी ओलीलाई ‘सम्मानजनक बिदाइ’ लिन सुझाव दिनुभएको थियो । अहिले पनि त्यसमा अडिग हो ? 

मैले महाधिवेशनको बन्दसत्रमा पनि भनेको थिएँ, उहाँको पालामा राम्रा काम भए तर कमजोरीहरू पनि धेरै भए । ती कमजोरी नसच्चिने हो भने पार्टी र देशलाई नोक्सान हुन्छ । त्यसैले उहाँले सम्मानजनक बिदाइ लिएर नयाँ नेतृत्वलाई मार्गप्रशस्त गर्नुपर्छ । यो सिलसिला अहिले पनि जारी छ । नेतृत्वको पुनर्गठन अब अनिवार्य भइसकेको छ ।

नेतृत्व पुनर्गठन भएमा नयाँ को आउँछ त ? तपाईं आफैँ आउन खोज्नुभएको हो ?

को आउँछ भन्ने कुरा पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाले तय गर्छ । तर मेरो व्यक्तिगत धारणा भन्नुहुन्छ भने अब नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ । हामीले नयाँ र सक्रिय साथीहरूलाई अगाडि सार्नुपर्छ ।

Ishwar Pokharel2

म आफैँ पनि नयाँ पुस्ताका लागि बाटो खाली गर्न तयार छु । पोलिटिकल स्पिरिट बोकेका र इच्छाशक्ति भएका युवाहरू अगाडि आउनु नै एमालेको भविष्यका लागि हितकर हुन्छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किने र नेतृत्व लिने चर्चा छ नि त । 

विद्या भण्डारीजी एउटा लामो राजनीतिक पृष्ठभूमिबाट आउनुभएको नेता हो । उहाँले पार्टीमा फर्किएर भूमिका खेल्न चाहनुभयो भने उहाँलाई स्वागत गर्नुपर्छ । उहाँको सदस्यता नवीकरणमा जुन बखेडा झिकियो र उहाँप्रति जुन अपमानजनक व्यवहार गरियो, त्यो अत्यन्तै दुःखद् र पूर्वाग्रहपूर्ण छ । पार्टीको विधान, संविधान वा अन्तर्राष्ट्रिय अभ्यास केहीले पनि उहाँलाई सक्रिय राजनीतिमा आउन रोक्दैन । उहाँलाई रोक्न खोज्नु दूषित मनसाय हो ।

भारतका कम्युनिस्टहरू नसच्चिएका कारण आज सकिए । नेपालका कम्युनिस्टहरूको बाटो पनि त्यही त होला नि ?

नेपालका कम्युनिस्टहरू अहिले ‘रिस्की पोइन्ट’ (खतराको बिन्दु) मा छन् । यदि हामी समयमै सच्चिएनौँ भने हाम्रो हालत पनि त्यस्तै हुन सक्छ । कि त सच्चिनुपर्‍यो, कि त सकिनुपर्‍यो । मलाई विश्वास छ, नेपालका कम्युनिस्टहरू सच्चिनेछन् ।

महाधिवेशनमा तपाईंलाई साथ दिने धेरै कार्यकर्ताले अहिले टिकट नपाएको वा जिम्मेवारी नपाएको गुनासो गरिरहेका छन् । तपाईंले आफ्ना मान्छेलाई जोगाउन सक्नुभएन भन्ने आरोप छ नि ?

म कुनै एउटा गुटको मात्र नेता होइन, पूरै पार्टीको नेता हुँ । निर्वाचनमा टिकट वितरणको एउटा विधि हुन्छ, तर कतिपय ठाउँमा त्यो विधिको पालना भएन । मैले मेरो नेतृत्व र अध्यक्षले विवेक पुर्‍याउनुहोला भन्ने विश्वास गरेँ, तर कतिपय ठाउँमा त्यो विवेक पुगेन । कार्यकर्तामा पीडा र असन्तुष्टि हुनु स्वाभाविक हो ।

वर्तमान सरकारको काम गराइलाई कसरी हेर्नुहुन्छ ? निकै तीव्र गतिमा हिँडिरहेको देखिन्छ नि, होइन ? 

अहिलेको सरकारलाई संख्याको हिसाबले ठुलो अनुकूलता छ । नयाँ साथीहरू आउनुभएको छ, उहाँहरूलाई मेरो शुभकामना छ । तर मैले एउटा प्रवृत्ति के देखिरहेको छु भने काम गर्ने नाममा विधि र प्रक्रिया मिच्ने काम भइरहेको छ । यो ‘उत्ताउलोपन’ले दीर्घकालीन रूपमा नोक्सान गर्छ । 
राम्रो काम गर्नका लागि तरिका पनि राम्रो हुनुपर्छ । प्रक्रिया मिचेर गरिएको कामको स्वाद केही समयका लागि मिठो भए पनि त्यसले लोकतन्त्रलाई बलियो बनाउँदैन ।

केपी ओलीकै नेतृत्वमा एमाले अगाडि बढ्दैन त अब ?  

उहाँकै नेतृत्वमा अब अगाडि बढ्न धेरै कठिन छ । यो मेरो व्यक्तिगत विचार मात्र होइन, परिस्थितिले भनिरहेको कुरा हो । पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित नगरी हामी अगाडि बढ्न सक्दैनौँ । त्यसैले सम्मानजनक बिदाइ र नयाँ नेतृत्वको निर्माण नै अहिलेको उत्तम विकल्प हो ।

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप