बालेन शाहलाई भत्किँदै गरेको घरधनीको खुलापत्र
सारांश
- घरधनीले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै आफ्नो २ आना जग्गामा बनेको घर भत्काउन लागेकोमा प्रश्न उठाएका छन्।
- घरधनीले राज्यको कुनै कानुन नमिचेको र सार्वजनिक जग्गा चर्चेको नभएको दाबी गरेका छन्।
- घरधनीले आफ्नो निजी जग्गामा बनेको घर भत्काउनुको कारण र त्यसको कानुनी आधारबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।
नमस्कार प्रधानमन्त्री बालेन शाह महोदय,
यो खुलापत्र लेख्दै गर्दासम्म म सामाखुसी खोलासँगै जोडिएको आफ्नै घरमा छु । तपाईं प्रधानमन्त्री निवासमा हुनुहुन्छ होला । पक्कै पनि तपाईं र तपाईंको परिवार सन्चै छ होला । तर म र मेरो परिवार त्रसित छ ।
मेरो घरले चर्चेको जमिन २ आना हो । जम्मा २ आना । किनभने मेरा बाबुसँग त्यति नै जमिन किन्न पुग्ने पैसो थियो । ०४९ सालमा बनेको त्यो घरलाई भुईँचालोले समेत दया गरेर नभत्काई छोडिदिएको थियो ।
म अहिले त्यही कुचुक्क परेको घरबाट हात थर–थर कमाउँदै यो पत्र लेख्दै छु । किनभने तपाईं मेरो प्रधानमन्त्री हो । तपाईं मैले तिरेको करको पैसोबाट सुविधा सम्पन्न बालुवाटारको भवनमा बसेर मेरा बाले एक–एक गाँस काटेर बनाएको छानो भत्काउने आदेश दिनासाथ मेरो घरमा असन्तुलनको बाढी पसेको छ । तपाईंको आदेशरुपी बाढीले हामीलाई खुम्च्याएर झन् भन्दा झन् निर्बल र निरीह भएको आभास दिलाइरहेको छ ।
एउटा–एउटा पात, पतकर र झिँजा जोडेर हामीले बस्न मिल्ने जम्मा एउटा घर बनाएका थियौँ । तपाईंले आज त्यसैमाथि डोजर चलाउने आदेश दिनु भयो । जबकि मैले राज्यको कुनै कानुन, यो देशको कुनै विधि विधान र महानगरको कुनै दफा मिचेर भिल्ला ठड्याएको छैन ।
प्रोस्टेडको क्यान्सर हड्डीसम्म फैलिसकेर प्रत्येक पल मृत्युसँग जुधिरहनु भएको मेरो ७४ वर्षको बुबा र आफ्नो खुट्टा भाँचिएर सहाराबिना हिँड्न नसक्ने मेरी सात दशककी आमा तपाईंको निर्णय कार्यान्वयन गर्ने कर्मचारी भेटेसँगै अवाक हुनुहुन्छ ।
के उहाँको मौनता तपाईंको चासोको विषय होइन ? के उहाँको वृद्धावस्थाको त्रसित मनोविज्ञानलाई सम्बोधन गर्ने दायित्व तपाईंको होइन ?
तर, तपाईंले निर्माण गरेको (अ)सामाजिक सञ्जालको प्रचारतन्त्रको अल्गोरिदममा यस्तो छ मानौँ खोला किनारमा मेरो घर छ भन्दा, सबैलाई लाग्छ यो देशको एक नम्बरको अतिक्रमणकारी मै हुँ । मेरो परिवार हो । तर, तपाईंलाई मैले मेरो वास्तविकता भन्नै पर्ने हुन्छ ।
सरकारले काठमाडौँमा पहिलो पटक नापी गर्दा पनि मेरो कित्ता त्यत्रै थियो, त्यही थियो । अनि नयाँ नापी आयो, मेरो बुबाको खुन–पसिनाले किनेको कित्ता नम्बर त्यसपछि फेरियो । पुरानो नक्सामा कित्ता नं ४०४ थियो, नयाँ नक्सामा कित्ता १८८ भयो । अरू केही फेरिएन । अर्थात् मैले पहुँच पुर्याएर वा ‘नेपो किड्स’ भए बापत त्यो जग्गा पाएको होइन । मेरा बाबुसँग हदबन्दी भन्दा धेरै हुने पैतृक जमिन थिएन, मेरी आमासँग दाइजोमा ल्याउने सयौँ तोला सुन थिएन । म चाहेर पनि ‘नेपो किड्स’ हुन सक्दिनथेँ ।
म जस्ता थुप्रैका बाबुसँग त त्यही खोला किनारको २ आना जमिन किन्ने पैसो समेत थिएन । म खोला किनार नै सही तर काठमाडौँकै गोल–भूगोलमा थिएँ । अनि म त्यही खोला किनारमा हुर्किँदै गएँ । मैले काठमाडौँको वैभव र तपाईंको सत्तासीन हुने लीला यही खोला किनारबाटै हेरेको हो ।
काठमाडौँको प्रमुख जिल्ला अधिकारीले गठन गरेको टोलीले आजैका दिन मेरो त्यही दुई आनाको घर भत्काउने गरी चिन्ह लगाएको छ । त्यो टोलीमा पुलिसको एउटा डफ्फा थियो र थिए विभिन्न अड्डाका कर्मचारीहरू ! अनि ती सबै–सबै मिलेर खोज्दा समेत मैले कब्जा गरेको एक इन्च पनि सार्वजनिक जग्गा भेटाउन सकेनन् । मेरो पुर्जा र नक्सा बाहिर मैले चर्चेको जमिन एक इन्च पनि छैन । तर तिनले मेरो घर भत्काउन रातो धर्को कोरेर गएका छन् र फरमान छ– मैले शुक्रवार साँझसम्म घर खाली गरिसक्नु पर्नेछ ।
जब मेरो गुँड भत्काउन रातो चिन्ह लगाइयो, मलाई भनियो ०४९ सालमा बनेको घरले ०६५ सालमा सरकारले बनाएको खोलाको मापदण्ड मिच्यो । मेरो घरले यस्तो कसरी गर्यो ? मैले केही बुझ्न सकेको छैन । थप बुझ्न मलाई सिडिओ कहाँ जान र बुझ्न भनियो ।
म सिडियो अड्डामा गएँ । सोधेँ, के मेरो ०४९ सालमा बनेको घरले ०६५ सालमा सरकारले बनाएको मापदण्ड मिचेको हो ? अनि त्यसै भएर तपाईंले मेरो गुँड भत्काउन आदेश दिनुभएको हो ? सिडियोको स्वर चर्को थियो । तर, उनका आँखा म तिर थिएनन् । सिडिओ कार्यालयको छानातिर हेरेर उनले भने, ‘त्यो मेरै आदेशमा भएको हो ।’
उनले आफूमाथिको छानो हेर्दै मेरो घरको छानो भत्काउन आदेश दिएको भन्दै थिए । के यो विरोधाभास तपाईंको चासोको विषय होइन प्रधानमन्त्री महोदय ।
म मान्छु, मैले ३५ फिटको नक्सा पास गरेर ४० फिटमा घर बनाएँ हुला ! त्यसो हुँदा मैले राज्यको कानुन मिचेको, अटेरी गरेको ठहरिन्छ । त्यतिबेला मसँग बोल्ने नैतिकता हुँदैन थियो । तर यहाँ त मैले कुनै कानुन, कुनै नियम मिचेको छैन । तर, पनि मेरो घरको छानो भत्काउनै पर्ने तपाईंको रहरको स्रोत के हो ?
म पनि त्यही देशको नागरिक हुँ । यहाँको माटोमा मेरो बा–आमाको र मेरो पसिनाको थोपा मिसिएको छ । यो देशको परिवर्तनमा, संविधान निर्माणमा मेरो पनि हिस्सा छ । संविधानका प्रत्येक धाराहरूमा मेरो पनि लगानी छ । कानुन मान्दै, कर तिर्दै यो देशको शासन व्यवस्थामा लगानी गर्ने म जस्तो सामान्य नागरिकको घर भत्काउन आदेश दिने तपाईंलाई कुन संविधान र कानुनले अधिकार दियो ?
के तपाईंले यसबारे यो देशका नागरिकलाई भन्नु पर्ने हुँदैन ? यो देशको संविधान, कानुन आम नागरिकले मान्नु पर्छ भने तपाईंले मान्नु पर्दैन ?
सरकारी डफ्फा लागेर नाप्दा समेत मैले अतिक्रमण गरेको एक इन्च सार्वजनिक जमिन फेला नपरेको उत्तिकै साँचो हो !
(अ)सामाजिक सञ्जालहरूमा सरकार र रास्वपाका नेताहरू हाम्रो कल्याण कसरी गर्ने भन्नेबारे बोलेका बोल्यै छन् । तर, आफ्नै जग्गामा बनेको मेरो घर भत्काएर हाम्रो कल्याण कसरी हुन्छ ? मैले बुझेको छैन । कसले किन ? कुन कानुनका आधारमा मेरो निजी जग्गामा बनेको मेरो बास भत्काउन आदेश दियो मैले अझै बुझेको छैन ।
प्रहरीको डफ्फा देखेँ, सिडियोको चर्को स्वर सुने, तर मेरो निजी जमिनमा बनेको बास भत्काएर कुन लोकको के कल्याण गर्न खोजिएको हो भन्नेबारे तपाईंले सार्वजनिक रूपमा जबाफदेही हुनु पर्दैन ? मैले अझै बुझेको छैन ।
म यही प्रश्न मेरा प्रतिनिधिहरूलाई पनि सोध्न चहान्छु । स्थानीय सरकार र सांसदले अथवा सरकारी दलको प्रमुखले मलाई जवाफ देउन् । मेरो घर किन भत्काइँदै छ ? मेरो जस्तै यो देशका आम नागरिकको छाना भत्काएर कसको ज्ञानको चच्छु खोल्न खोजिएको हो ।
ज्ञानका क्रान्ति नायक हाम्रा प्रधानमन्त्रीलाई मेरो प्रश्न छ– लालपुर्जा र नक्सा भएको निजी जमिनमा बनेको बास भत्काउनै पर्ने ज्ञानको स्रोत के हो ?
मेरो घरको छानो भत्कँदै छ र मेरो मनमा प्रश्नै प्रश्नहरू छन् । ती प्रश्नहरूको जवाफ कसैले दिएको छैन । मानिसको बास भत्काउन सकिन्छ प्रधानमन्त्री महोदय, तर तिनको मनमा रहेको प्रश्नहरू भत्काउन सकिने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण