बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्र बैंकको प्रतिवेदन

चैतमा ४.४७ प्रतिशत पुग्यो महँगी, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी

सोमबार, २८ वैशाख २०८३, १७ : ५८
सोमबार, २८ वैशाख २०८३

सारांश

  • चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ।
  • खाद्य तथा पेय पदार्थ समूहमा ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ४.७२ प्रतिशत महँगी रहेको छ।
  • चैत महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४.९६ प्रतिशत महँगी रहेको छ।

काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्ता महँगी (मुद्रास्फीति) मा वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको प्रतिवेदन अनुसार चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत मात्र थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ४.७२ प्रतिशत रहेको छ। खाद्य समूह अन्तर्गत विशेषगरी घिउ तथा तेलको मूल्यमा १२.८७ प्रतिशत, फलफूलमा ११.६७ प्रतिशत र तरकारीमा ९.१८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, दाल तथा गेडागुडी, खाद्यान्न र मरमसलाको मूल्यमा भने केही गिरावट आएको राष्ट्र बैंकले जनाएको छ।

गैर(खाद्य समूह तर्फ विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशत र यातायातको भाडा १२.०३ प्रतिशतले बढेको छ। यस्तै शिक्षा क्षेत्रको महँगी ७.४६ प्रतिशतले वृद्धि भएको छ।

क्षेत्रगत आधारमा हेर्दा चैत महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४.९६ प्रतिशत महँगी रहेको छ। तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमालमा ३.२० प्रतिशत मुद्रास्फीति रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रहरूमा महँगीको दर निकै कम थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप