शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

लोसपाबाट निर्वाचित प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गर्ने सूचनापछि विश्वासको मतमा ढिलाइ

शुक्रबार, ०१ जेठ २०८३, १३ : ४१
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • तत्कालीन लोसपाबाट निर्वाचित केही प्रदेशसभा सदस्यले फ्लोर क्रस गर्न सक्ने सूचना आएपछि विश्वासको मतमा ढिलाइ भएको छ ।
  • जसपा नेपालसँग पार्टी एकता गरिसक्दा पनि विश्वासको मतमा फ्लोर क्रस गर्ने तयारी गरेपछि जसपा नेपालले आधिकारिक निर्णय गर्न सकेको छैन ।
  • यसकारण बिहान डाकिएको मधेश प्रदेशसभा बैठक दिउँसो डेढ बजेसम्म पनि सुरु हुन सकेको छैन ।

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागि बस्ने भनिएको प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बस्न नसकेको हो ।

तत्कालीन लोसपाबाट निर्वाचित केही प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गर्न सक्ने सूचना आएपछि विश्वासको मतमा ढिलाइ हुन गएको बताइएकाे छ ।

जसपा नेपालसँग पार्टी एकता गरिसक्दा पनि विश्वासको मतमा फ्लोर क्रस गर्ने तयारी गरेपछि जसपा नेपालले आधिकारिक निर्णयसमेत गर्न सकेको छैन, जुनकारण बिहान डाकिएको सदनको बैठक ढिलाइ भएको एक मन्त्रीले बताए । यसबारे सत्ता गठबन्धनभित्र अहिले छलफल चलिरहेको स्रोतले जनाएको छ ।

प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिन लागेका हुन् । मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो ।

कानुनी व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । हाल मधेस प्रदेश सभामा १०२ जना प्रदेशसभा सदस्य छन् । सरकार टिकाउन कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि अहिले सरकारसँग ६३ जना सांसदको समर्थन रहेको बताइएको छ। 

सरकारलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका २६ तथा नेपाल कम्युनिस्ट पार्टीका १५ जना प्रदेश सभा सदस्यको समर्थन छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप