पूर्णबहादुर सहभागी कांग्रेसको सुर्खेत भेलाः देउवाको स्वास्थलाभ कामनासहित एकताको १० बुँदे सूत्र जारी
सारांश
- नेपाली कांग्रेस कर्णाली प्रदेशले पार्टी एकताका लागि १० बुँदे सूत्र जारी गरेको छ ।
- भेलाले १५ औं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।
- यसका साथै, भेलाले राष्ट्रपति पौडेलमाथिको असंसदीय व्यवहारको निन्दा र महंगी नियन्त्रणको माग गरेको छ ।
सुर्खेत । नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा शनिबार र आइतबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले पार्टी एकताका लागि १० बुँदे सूत्र जारी गरेको छ ।
आइतबार खड्काको सहभागिता रहेको उक्त कार्यक्रमलाई कर्णाली प्रदेशस्तरीय बृहत् एकता तथा भावी कार्यदिशा विषयक विचार गोष्ठी नाम दिइएको थियो भने आयोजक कांग्रेस कर्णाली प्रदेश कार्यसमिति थियो । यद्यपि कर्णालीबाट कांग्रेसका केन्द्रीय सदस्यले भने खड्का समूहको भेला भन्दै सहभागिता जनाएको थिएन ।
यस्तो छ १० बुँदे सूत्र
नेपाली कांग्रेस
कर्णाली प्रदेश
बृहत्तर एकता र भावी कार्यदिशाका लागि दश सुत्र–२०८३
नेपालको आधुनिक राजनीतिका युगपुरुष, लोकतान्त्रिक समाजवादका प्रणेता वी.पी. कोइराला, उदारताका सागर सुवर्ण शमशेर, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, नेपाली राजनीतिका शिखर पुरुष गिरीजाप्रसाद कोइराला, त्यागी नेता सुशील कोइराला, संघर्षका पर्याय शेरबहादुर देउवाबाट अनुप्राणित हुँदै निश्कलङ्कित नेता निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको शालीन नेतृत्वको ऊर्जाबाट आलोकित हुँदै, राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको अटल प्रतिबद्धतालाई अक्षुण राख्दै नेपाल र नेपालीको समृद्धिका लागि नेपाली कांग्रेसमा बृहत्तर एकताप्रति पूर्ण सङ्कल्पित छौँ । यही भावी कार्यदिशालाई सार्थक तुल्याउन नेपाली कांग्रेस, कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा २०८३ साल ज्येष्ठ २ र ३ गते सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय विचार गोष्ठीमार्फत शाश्वत एकताका लागि सम्बन्धित सबैमा आह्वान गर्दछौँ ।
१. नेपाली कांग्रेसको १५ औं महाधिवेशन एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्दछ भन्ने नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रष्ट दृष्टिकोण छ । यसका लागि वर्तमान सभापति गगनकुमार थापाज्यूले पार्टीका शीर्ष नेता, वर्तमान तथा पूर्व पदाधिकारीसँग सघन संवाद गरी समयमै पार्टीको १५ औं महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सम्पूर्ण कांग्रेसजनको सहभागीताको वातावरण सुनिश्चित गर्न नेतृत्वदायी पहल कदमी तत्काल प्रारम्भ गर्न हामी अनुरोध र आह्वान गर्दछौँ । यसका लागि १५ औं महाधिवेशनको सन्दर्भमा विगतमा नवीकरण गरेका र नयाँ कृयाशील सदस्यता लिइसकेका सबैले अधिवेशनमा सहभागी हुने व्यवस्था सुनिश्चित गर्न अपरिहार्य छ, कर्णालीको भौगोलिक बिषमता, शैक्षिक तथा सामाजिक अवस्था, सूचना प्रविधिमा पहुँचको अभाव जस्ता पक्षलाई समेत मध्यनजर गर्दै हाल पुनः नवीकरण गर्ने गरी सुरु गरिएको अद्यावधिक गर्ने कार्य स्थगित गरी तत्काल बृहत्तर एकता र सहमतिका आधारमा १५ औं अधिवेशनका सबै प्रकृया अघि बढाउने वातावरण निर्माण गर्न पार्टीका आदरणीय सभापति गगनकुमार थापासँग जोडदार माग गर्दै सोही अनुसारको वातावरण निर्माण गर्न देश भरिका कांग्रेसीजनमा नेपाली कांग्रेस कर्णाली प्रदेश हार्दिक अनुरोध सहित आह्वान गर्दछ ।
२. केन्द्रीय अनुशासन समितिमार्फत देशभरका जिम्मेवार नेता तथा कार्यकर्तामाथि गरिएका कारवाही तथा मागिएका स्पष्टिकरण फिर्ता लिई बृहत् एकताको वातावरण बनाउन आह्वान गर्दछौँ ।
३. समावेशीताको सिद्धान्त अनुरुप ‘कदमजम’ लाई पूर्ण कार्यान्वयन गर्दै, चेतना र वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा न्यूनतम २५ प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ । प्रवासी नेपालीहरुको सन्दर्भमा राष्ट्रसँग जोडिएका नागरिकका रुपमा सम्मान र विकासमा सहभागिता एवं सहकार्यको वातावरण निर्माणमा सिर्जनशील र प्रेमील सोच बनाउन केन्द्रीय नेतृत्वलाई आग्रह गर्दछौँ ।
४. नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिबद्धता सहित भू–राजनीतिक संवेदनशीलता बुझ्ने परिपक्व र साझा दृष्टिकोण अपनाउनु पर्दछ । आफ्नो राष्ट्र पहिलो भन्ने भावनाको प्रधानता हुनुपर्दछ । लोकतान्त्रिक व्यवस्था र सङ्घीय शासन प्रणालीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरुबिचको साझा संयन्त्र निर्माण गरी तत्काल प्रभावकारी पहल सुरु गरिनु पर्दछ ।
५. सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले हालै नेपाल सरकारको आगामी आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम संसदसमक्ष वाचन गरिरहँदा वि.सं. २०१५ सालदेखि स्थापित तथा विकसित संसदीय मान्यता विपरित सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले देखाउनु भएको अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित व्यवहारले सम्माननीय राष्ट्रपतिज्यूको मात्र होइन सिंगो जननिर्वाचित संसदको उपहास र अपमान भएकोमा नेपाली कांग्रेस कर्णाली प्रदेश दुःख महशुस गर्दछ ।
६. पछिल्लो समयमा महंगीको मारबाट प्रताडीत जनतालाई मुक्ति दिलाउन आवश्यक पहलको लागि केन्द्रीय नेतृत्वसँग अनुरोध गर्दछौँ ।
७. राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, सन्धि सम्झौता विपरित अध्यादेशमार्फत हनन गरिएका पेशाकर्मीहरुको टेडू युनियन हक अधिकार यथावत सुनिश्चितताप्रति केन्द्रीय नेतृत्वलाई नेपाली कांग्रेस कर्णाली प्रदेश गम्भीर ध्यानाकर्षण गराउँदछ ।
८. पूर्व मनसुनबाट आहत जनसमुदायलाई राहतको व्यवस्था गर्न माग गर्दै सम्भावित प्राकृतिक प्रकोपको खतरालाई मध्यनजर गरी जनधनको सुरक्षाका लागि तयारी रहन खबरदारीसहित आवश्यक पहल गर्न केन्द्रीय कार्यसमितिलाई नेपाली कांग्रेस कर्णाली प्रदेश अनुरोध गर्दछ ।
९. देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार प्रमुख प्रतिपक्षको सशक्त र रचनात्मक भूमिका खेल्नुपर्दछ । जसका लागि पार्टीका सबै तहका नेता कार्यकर्तामा उदाहरणीय चरित्र र व्यवहार देखिनुपर्दछ । जनताको दैनिक सुख दुःखमा व्यक्तिगत तथा संस्थागत सहभागिता र सहयोगको वातावरण निर्माण गरिनुपर्दछ । अतः कर्णाली प्रदेशको संयुक्त सरकारमा नेपाली कांग्रेस पनि साझेदार रहेकाले कर्णाली प्रदेशको समग्र उन्नयनका लागि सरकारले आफ्नो गतिविधि साझा र जनमुखी ढंगबाट सञ्चालन गर्न जरुरी छ । नेपाल सरकारको आ.व. ०८३/०८४ बजेट तथा कार्यक्रममा कर्णाली प्रदेशको विकासका लागि उल्लेखनीय बजेट व्यवस्था गराउन नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गर्न केन्द्रीय नेतृत्व समक्ष अनुरोध गरिन्छ ।
१०. जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । आन्दोलनका क्रममा घाइते भई उपचाररत सम्पूर्ण घाइतेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवा एवम् निवर्तमान केन्द्रीय सदस्य डा. आरजु देउवालाई जेनजी आन्दोलनका नाममा भएको निन्दनीय र साङ्घातिक आक्रमणको घोर भत्र्सना गर्दछौँ । हाल उपचारका लागि विदेशमा रहनु भएका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
जय नेपाल !
३ जेष्ठ, २०८३
वीरेन्द्रनगर, सुर्खेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण