शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

नगर प्रहरीबाट दुर्व्यवहार भोगेकी महिलालाई नगरप्रमुखले कार्यकक्षमै बोलाएर दिइन् क्षतिपूर्ति

बुधबार, ०६ जेठ २०८३, १७ : ५९
बुधबार, ०६ जेठ २०८३

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काफल बेच्दै हिँडेकी धमिला चौलागाईलाई नगरप्रमुख मोहनमाया ढकालले क्षतिपूर्ति उपलब्ध गराएकी छन् ।

बुधबार उनलाई आफ्नै कार्यकक्षमा बोलाएर नगरप्रमुख ढकालले १० हजार रुपैयाँ राहत र प्रोत्साहन रकम प्रदान गरेकी हुन्।

मङ्गलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौलागाईको काफलको डालो जबरजस्ती घोप्ट्याइदिएका थिए। 

महिलाले आफ्नो सामान जोगाउन खोज्दाखोज्दै पनि दुई जना नगर प्रहरीले जबरजस्ती डालोपल्टाइदिएपछि काफल भुईँमा छरपस्ट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

उक्त घटनाको भिडियो सार्वजनिक भएपछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो।जनस्तरबाट चर्को विरोध भएपछि नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीहरूलाई कारबाही र पीडित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

निर्णय भएको केही समयपछि नै पीडित महिला धमिलालाई बोलाएर उनको क्षति भएको काफलको मूल्यसँगै थप रकम गरी १० हजार उपलब्ध गराइएको नगरप्रमुख मोहनमाया ढकालले रातोपाटीलाई बताइन् । धमिला कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी छन्।

उनको करिब ७–८ सय रुपैयाँ बराबरको काफल नोक्सान भएको थियो । तर, उनलाई परेको मानसिक र आर्थिक अवस्थालाई मध्यनजर गर्दै नगरप्रमुख ढकालले १० हजार रुपैयाँ प्रदान गरेकी हुन् ।

नगरप्रमुख ढकालले उनलाई सुरक्षित ठाउँमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा केही समस्या परे नगरपालिकाले सहयोग गर्ने पनि बताइन्। क्षतिपूर्ति पाएपछि धमिला खुसी हुँदै फर्किएकी थिइन्।

साथै उनको बुधबारको सबै काफल नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले खरिद गरिदिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप