सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

बिहीबार, ०७ जेठ २०८३, १२ : ३६
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ ।
  • सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ५० जनाले आवेदन दिएका छन् ।
  • नयाँ उपकुलपति छनोट प्रक्रिया 'विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३' अनुसार अघि बढ्नेछ ।

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ ।

उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आव्हान गरेको थियो । उक्त सूचना बमोजिम सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ५० जनाले आवेदन दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८/३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५, राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ । आवेदकहरूको कागजात अध्ययन (छानबिन) गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशन गरेर छनोट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ ।

गत वैशाख २४ गते स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएको थियो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया सुरु भएको हो ।

छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप