सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
सर्वदलीय बैठक

सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले

सोमबार, २५ जेठ २०८३, १२ : ५०
सोमबार, २५ जेठ २०८३

सारांश

  • नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म विरोध जारी रहने बताएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको सर्वदलीय बैठकमा रवि लामिछानेको भारत भ्रमण र संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो ।
  • बैठकमा संसदको अवरोध हटाउने विषयमा कुनै सहमति नभएको र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने एमालेको माग छ ।

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महरले विरोध जारी रहने बताएका हुन् ।

बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिए । तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए । 

‘दुई विषयमा घनिभूत छलफल भयो । पहिलो, रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराउनुभयो । त्यसमा हामीले इपीजीको विषयमा प्रश्न उठायौँ । अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभयो । भोलिपल्ट सीमाको विषयमा छलफल भयो कि भएन ? त्यसमा उहाँले केही न केही भन्ने प्रयास गर्नुभयो । तर स्पष्ट जवाफ आएन’, उनले भने । 

यसैगरी संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताए । यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको उनले बताए । 

महरले भने, ‘संसद्को अवरोध गर्ने हाम्रो चाहना होइन । प्रधानमन्त्रीले तुरुन्तै संसदमा आएर जवाफ दिनुपर्छ भन्यौँ । सार्वभौम संसदमा जवाफ दिने विषयमा सभापतिले पार्टीभित्र छलफल गर्छौँ तर अहिले संसदमा जवाफ दिनुहुँदैन भन्नुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप