सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
विचार

एयरहोस्टेसको वास्तविकता : ग्राउन्डेड सपना, अस्तव्यस्त दैनिकी, असुरक्षित भविष्य

बिहीबार, ०७ जेठ २०८३, १२ : ३७
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • नेपालमा एयरहोस्टेसको पेसालाई प्रायः प्रतिष्ठा र स्वतन्त्रताको प्रतीकका रूपमा प्रस्तुत गरिए पनि यसको वास्तविकता दोहोरो बोझ, सीमित सशक्तीकरण र असुरक्षित भविष्यले भरिएको छ।
  • एयरहोस्टेसहरूले कडा पेसागत नियम, भावनात्मक श्रम र निश्चित शारीरिक मापदण्ड पूरा गर्नुपर्छ, जसले गर्दा उनीहरूलाई तनाव र मानसिक समस्याको सामना गर्नुपर्छ।
  • धेरै एयरहोस्टेसहरू अस्थायी वा करारमा काम गर्छन्, जसको करिअर अवधि छोटो हुन्छ र उनीहरूलाई पेसागत तथा घरेलु जिम्मेवारीबीच तादात्म्यता मिलाउन गाह्रो हुन्छ।

नेपालमा एयरहोस्टेसको कामलाई प्रायः प्रतिष्ठा, सफलता, सशक्तीकरण, आधुनिकता र स्वतन्त्रताको प्रतीकका रूपमा प्रस्तुत गर्ने गरिन्छ। यो पेसाले युवा महिलालाई परम्परागत सांस्कृतिक बन्धन र घरायसी कामबाट बाहिर निस्केर आधुनिक र विश्वस्तरीय जीवनशैलीतर्फ लैजाने अपेक्षा गरिन्छ। तर, यो चित्रणले पेसाको वास्तविकता पूर्ण रूपमा देखाउँदैन।

वास्तवमा नेपालको आन्तरिक एयरलाइन्सहरूमा काम गर्ने एयरहोस्टेसहरूले भोगिरहेको दोहोरो बोझ गौण छ। एकातिर उनीहरूले आफ्नो कार्यस्थलमा कडा पेसागत नियम र संस्थागत अपेक्षा पूरा गर्नुपर्छ भने अर्कोतिर परिवार र समाजले तोकेको परम्परागत भूमिकाहरू पनि निभाउनुपर्छ। यसकारण यो पेसामा बाहिर बुझिने र देखाइने जस्तो सशक्तीकरण सीमित र धेरै हदसम्म भ्रमपूर्ण देखिन्छ।

नेपालमा उड्डयन क्षेत्रको विकासलाई प्रायः आधुनिकता र प्रगतिको सङ्केतका रूपमा हेर्ने गरिन्छ। सन् १९४९ मा गौचर विमानस्थल स्थापना भएपछि र सन् १९५८ मा रोयल नेपाल एयरलाइन्स सुरु भएपछि यो क्षेत्र विस्तार हुँदै गयो। देशभर साना–ठूला आन्तरिक विमानस्थल निर्माण भएसँगै निजी एयरलाइन्स कम्पनीहरू पनि स्थापना हुन थाले। सोसँगै विमान परिचारिका अर्थात् एयरहोस्टेसको माग पनि बढ्दै गयो। यसले समाजमा महिलाहरूको आधुनिक पहिचानको एउटा मानक समेत निर्माण गर्‍यो।

नेपालमा धेरै युवा महिलाका लागि एयरहोस्टेस बन्नु केवल जागिर मात्र होइन। यसलाई सफल र सम्पन्न जीवनका साथै विभिन्न स्वतन्त्रताहरू प्राप्त गर्ने माध्यमको रूपमा बुझिन्छ।

सुरुवाती समयमा महिला सशक्तीकरणको एउटा गतिलो उदाहरणका रूपमा यो पेसालाई लिइन्थ्यो। यो पेसालाई आत्मविश्वास, साहस, गतिशीलता र प्रेरणाको प्रतीकको रूपमा प्रशंसा गरिन्थ्यो। बिस्तारै यो छविमा ग्ल्यामर, आर्थिक स्वतन्त्रता, सामाजिक प्रतिष्ठा लगायतका अन्य आयामहरू जोडिँदै गए।

नेपालमा धेरै युवा महिलाका लागि एयरहोस्टेस बन्नु केवल जागिर मात्र होइन। यसलाई सफल र सम्पन्न जीवनका साथै विभिन्न स्वतन्त्रताहरू प्राप्त गर्ने माध्यमको रूपमा बुझिन्छ। विभिन्न एयरहोस्टेस तालिम केन्द्र तथा प्रशिक्षण केन्द्रहरूले आजकाल यस्तै सपनाहरू (सौन्दर्य, सम्पन्नता, सफलता र आत्मविश्वास) लाई देखाउँदै विज्ञापन गर्छन्।

तर, यो पेसाको वास्तविकता त्यति मात्रै नभई फरक छ। यो पेसाले महिलाहरूलाई निश्चित रूप, व्यवहार र प्रस्तुतीकरणमा ढाल्दछ। यसको अर्थ यो पेसाले केवल अवसर मात्र दिँदैन, महिलालाई विशेष प्रकारको श्रमिकका रूपमा रूपान्तरण पनि गर्छ।

नेपालमा शिक्षा र रोजगारीमा महिलाको सहभागिता बढे पनि संरचनागत असमानता भने अझै गहिरो छ। उड्डयन र आतिथ्यजस्ता क्षेत्रमा महिलाहरू प्रायः त्यस्ता भूमिकामा केन्द्रित हुन्छन् जहाँ उनीहरूको रूप, हेरचाह गर्ने स्वभाव र भावनात्मक नियन्त्रणलाई महत्त्व दिइन्छ। यस्ता भूमिकाहरूले परम्परागत लैङ्गिक अपेक्षालाई चुनौती दिनुको सट्टा पुनःस्थापित गर्छन्। एयरहोस्टेसको काम यसैको स्पष्ट उदाहरण हो।

यो पेसाको एउटा मुख्य विशेषता भनेको सौन्दर्य र भावनात्मक श्रम हो। एयरलाइन्सहरूले काममा नियुक्त गर्नु अगावै निश्चित शारीरिक मापदण्ड तोक्छन्। जस्तै– तौल, अनुहारको बनावट, पहिरन र समग्र प्रस्तुति। कामका क्रममा उनीहरू सधैँ नम्र, धैर्यवान् र शान्त प्रस्तुत हुनुपर्छ। यसको अर्थ उनीहरूले आफ्ना वास्तविक भावना लुकाएर भए पनि मुस्कानसहित सेवामा तल्लीन हुनैपर्छ।

अधिकांश एयरहोस्टेसहरू अस्थायी वा करारमा काम गर्छन्। उनीहरूको न्यूनतम तलब थोरै भए पनि उडान समय, भत्ता लगायतका सुविधाहरूले कमाइ भने अन्य काममा भन्दा राम्रै हुने गर्छ।

यी अपेक्षाहरू स्वाभाविक वा प्राकृतिक होइनन्। यिनीहरू सामाजिक र संस्थागत रूपमा लामो समयको अभ्यास वा अन्तरक्रियाबाट निर्मित हुन्। लामो समयको यस्तो भावनात्मक श्रमले तनाव, थकान र विभिन्न मानसिक समस्याहरू निम्त्याउन सक्छ।

नेपालको सन्दर्भमा यस्ता समस्याहरू झन् जटिल छन्। ती कर्मचारीहरूलाई आवश्यक मनोवैज्ञानिक तथा भावनात्मक सहयोग वा परामर्श एकदमै कमजोर छ। एयरलाइन्स कम्पनीहरूको नारा र वास्तविकताबीचमा धेरै अन्तर छ। आफू उड्नका लागि तयार नभए केही समय आराम गर्ने व्यवस्था त हुन्छ, तर काम गर्ने वातावरणका कारण त्यो मनोवैज्ञानिक थकानले कहिल्यै निको हुने मौका पाउँदैन।

अधिकांश एयरहोस्टेसहरू अस्थायी वा करारमा काम गर्छन्। उनीहरूको न्यूनतम तलब थोरै भए पनि उडान समय, भत्ता लगायतका सुविधाहरूले कमाइ भने अन्य काममा भन्दा राम्रै हुने गर्छ। तर, एउटा प्रश्न के उब्जिन्छ भने त्यो कमाइले साँच्चै मिहिनेत गरे बराबरको छ त? उनीहरूको मानसिक स्वास्थ्य र दीर्घकालीन सुरक्षामा खास ध्यान दिइँदैन। यस्तो अवस्थामा आर्थिक स्वतन्त्रताको वाचा अस्थायी र अनिश्चित हुन पुग्छ।

अर्को ठूलो समस्या भनेको छोटो करिअर अवधि हो। उमेर, विवाह र गर्भावस्थाजस्ता कारणले उनीहरूमध्ये धेरैले यो पेसा छोड्ने निर्णय लिन्छन्। अनिश्चित उडान तालिकाका कारण परिवार तथा बालबच्चालाई पर्याप्त समय दिन सधैँ सम्भव हुँदैन। त्यसैगरी, अव्यक्त रूपमा, घरपरिवार र समाजको अपेक्षा पनि सकेसम्म धेरै समय परिवारलाई देओस् भन्ने हुन्छ।

यसले हाम्रो परिवार तथा एयरलाइन्स कम्पनीभित्र जरा गाडेर बसेको पुरुषप्रधान सोच अझै जीवित छ भन्ने देखाउँछ। महिलाको श्रमको मूल्य युवा अवस्था र रूपसँग जोडिएको छ भन्ने संस्थागत सोच आधुनिक भनिएका कम्पनीहरूमा अदृश्य रूपमा कसरी विद्यमान छ भन्ने अड्कल काट्न सकिन्छ। यसले दीर्घकालीन करिअरको अवसर दिनुको सट्टा महिलालाई चाँडै पेसाबाट बाहिर निकाल्छ, जसले गर्दा उनीहरूसँग असुरक्षित तथा अनिश्चित भविष्य र सीमित सीप मात्रै बाँकी रहन्छ।

अनियमित तथा ओभरटाइम काम, रात्रिकालीन वा अबेरसम्मको ड्युटी र लामो यात्राले पारिवारिक सम्बन्धमा तनाव ल्याउँछ।

नेपालमा एयरहोस्टेसहरूले भोग्ने अर्को ठूलो समस्या भनेको दैनिक रूपमा जागिरमा गर्नुपर्ने काम र घरायसी कामको दोहोरो बोझ हो। उनीहरूले कडा नियम र समय तालिकाअनुसार काम गर्नुपर्छ, त्यो पनि आफ्ना भावना सबै दबाएर। घर फर्केपछि पनि उनीहरूले परिवारको हेरचाह, घरायसी काम र पारिवारिक–सामाजिक अपेक्षा पूरा गर्नुपर्छ। यस्तो दोहोरो जिम्मेवारीले मानसिक तनाव र थकान निम्त्याउँछ।

यो बोझ उनीहरूको कामको प्रकृतिका कारण झन् बढ्छ। अनियमित तथा ओभरटाइम काम, रात्रिकालीन वा अबेरसम्मको ड्युटी र लामो यात्राले पारिवारिक सम्बन्धमा तनाव ल्याउँछ। नेपाली समाजमा महिलाले परिवारलाई प्राथमिकता दिनुपर्छ भन्ने धारणा अझै पनि विद्यमान भएकाले उनीहरूको अनुपस्थितिलाई घरमा नकारात्मक रूपमा हेरिन्छ। तर पुरुषहरूको हकमा भने यस्तो हुँदैन वा स्वीकार्य छ।

त्यसैगरी सामाजिक धारणा पनि ठूलो चुनौती हो। सम्मानित पेसा भए पनि एयरहोस्टेसहरूलाई प्रायः नैतिकताको आधारमा मूल्याङ्कन गरिन्छ। उनीहरूको अन्तरक्रिया र घरबाहिरको बसाइलाई शङ्काको दृष्टिले हेरिन्छ। यसै कारण उनीहरूले कार्यालय र घर दुवैमा आफ्नो इमानदारिता प्रमाणित गर्नुपर्ने दबाब झेलिरहेका हुन्छन्। यसले उनीहरूलाई निरन्तर काम र घर दुवैमा उत्कृष्ट देखिन बाध्य बनाउँछ, जुन मनोवैज्ञानिक तनाव बढाउनका लागि काफी छ।

अर्को महत्त्वपूर्ण समस्या भनेको उनीहरूको श्रमलाई वस्तुकरण गरिनु हो। व्यक्तिको अधीनमा नहुने कुराहरू जस्तै– अनुहारमा दाग भएको, दाँत बिग्रिएको, उचाइ कम भएको, जन्मिँदै लिएर आएको निशानहरू इत्यादिलाई एयरलाइन्स कम्पनीहरूले नियुक्त गर्दैनन्। अझै भनौँ, क्षमता र स्वरूप दुवैमा अब्बल हुनेहरूका लागि मात्रै हो यो पेसा।

सर्भिस सेक्टरमा महिलाको श्रम मात्र होइन, उनीहरूको छवि पनि बिक्रीयोग्य बनाइन्छ। नेपालमा एयरहोस्टेससम्बन्धी प्रशिक्षण दिने संस्थाहरूको व्यापारीकरणसँग पनि यो समस्या जोडिएको छ। यी संस्थाहरूले छोटो समयमा सफल भइने र उच्च आम्दानीको आश्वासन दिन्छन्, जसले गर्दा धेरैले समय र पैसा लगानी गर्छन्। तर वास्तवमा उनीहरूले कडा प्रतिस्पर्धा, सीमित अवसर र अनिश्चित भविष्यको सामना गर्नुपर्छ।

एयरहोस्टेसहरू पेसागत र घरेलु जिम्मेवारीबीच तादात्म्यता नमिल्दा अनावश्यक मनोवैज्ञानिक तनावमा फस्छन्।

समग्रमा, एयरहोस्टेस पेसाले बाहिर देखिने र वास्तविक सशक्तीकरणबीचको भिन्नता स्पष्ट रूपमा देखाउँछ। बाहिरबाट हेर्दा यो आधुनिकता, स्वतन्त्रता र प्रगतिको प्रतीक जस्तो देखिए पनि व्यवहारमा यसले परम्परागत लैङ्गिक मान्यतालाई नयाँ तरिकाले पुनःस्थापित गर्छ।

महिलाहरूलाई पुरातन धारणाकै कसीमा बसेर आधुनिक देखिनुपर्ने, साथै मर्यादित पनि रहनुपर्ने; आर्थिक रूपमा स्वतन्त्र हुनुपर्ने, तर परिवारको सम्पूर्ण जिम्मेवारी पनि बहन गर्नुपर्ने; र पेसागत रूपमा सक्षम हुनुपर्ने, तर आफ्ना भावना नियन्त्रणमा राख्नुपर्ने बाध्यता छ। यही विरोधाभासले उनीहरूको दैनिक जीवन दोहोरो बोझले कठिन बनाउँछ।

तसर्थ, नेपालमा यो पेसाले अवसर र सीमितता दुवै देखाउँछ। यसले आम्दानी, समृद्धि र आत्मनिर्भरता त दिन्छ, तर कडा नियम, निगरानी र असुरक्षा पनि थोपार्छ। परिणामस्वरूप, एयरहोस्टेसहरू पेसागत र घरेलु जिम्मेवारीबीच तादात्म्यता नमिल्दा अनावश्यक मनोवैज्ञानिक तनावमा फस्छन्।

तर उनीहरूलाई पर्याप्त मनो–सामाजिक परामर्श र सहयोग उपलब्ध हुँदैन। यो समस्या केवल उड्डयन क्षेत्रमा मात्रै सीमित छैन। यसले नेपाली समाजमा अन्य पेसासँग समेत विद्यमान व्यापक लैङ्गिक असमानतालाई देखाउँछ।

यसको समाधानका लागि कार्यस्थलमा महिलामैत्री नीतिहरू, श्रम सुरक्षा र स्थायित्व सुनिश्चित गराउनु आवश्यक छ। साथै, समाजको सोचमा परिवर्तन ल्याउने किसिमको बहस र अन्तरक्रिया पनि उत्तिकै जरुरी छ। समाजमा जरा गाडेर बसेको पुरातन लैङ्गिक धारणा परिवर्तन नभएसम्म सशक्तीकरणको सपना अधुरै रहनेछ र धेरै महिलाहरूले यो दोहोरो बोझ बोकेरै जीवन बिताउनुपर्ने निश्चित छ।

(आठ वर्ष एयरहोस्टेसका रूपमा काम गरेकी बस्नेत त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको समाजशास्त्र विभागमा एमफिल–पिएचडी कार्यक्रमकी शोधार्थी हुन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वरात्मिका बस्नेत
स्वरात्मिका बस्नेत
लेखकबाट थप