शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली नेपाली रुपैयाँ छाप्ने गिरोह पक्राउ

शुक्रबार, ०८ जेठ २०८३, २२ : ३२
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • रुपन्देहीमा प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका दुई जनाबाट नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैँची र तयारी अवस्थामा रहेका नक्कली नोटसहितका सामग्री बरामद गरिएको छ।
  • प्रहरीले गोप्य सूचनाको आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बुटवल । रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी ‘विक्की’ रहेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नोट छाप्न प्रयोग गरिने उपकरण, कैँची तथा प्रिन्ट भइसकेका र प्रिन्ट गर्न बाँकी अवस्थाका नक्कली नोटसहितका सामग्री बरामद गरेको जनाएको छ ।

प्रहरीले बिहीबार राति उनीहरूलाई पक्राउ गरे पनि शुक्रबार साँझ मात्रै प्रेस विज्ञप्तिमार्फत घटनाबारे सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटै नम्बर ९ङ २५ ०२४९१२० रहेका ५०० दरका ३० थान तयारी नक्कली नोट, १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ गर्न बाँकी ७ थान नोट, १ थान सिपियु, १ थान प्रिन्टर र १ थान मोनिटर बरामद गरिएको छ। यसैगरी ४ रिम प्रिन्ट पेपर, २ थान मोबाइल र १ थान कैँची पनि बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीमाथि थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप