शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

हुरीबतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित

आइतबार, १० जेठ २०८३, ०५ : ०६
आइतबार, १० जेठ २०८३

सारांश

  • जुम्लामा हुरीबतासले विद्यालयको छानो उडाएको छ ।
  • यसले पठनपाठन र सौर्य ऊर्जा प्रणालीमा क्षति पुर्याएको छ ।
  • विद्यालयले पुनर्निर्माणका लागि सहयोग मागेको छ ।

जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ ।

हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । शुक्रबार साँझा आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको वडाध्यक्ष रावतको भनाइ छ ।

विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन । सौर्य ऊर्जामै निर्भर रहेको विद्यालयमा अहिले ऊर्जाविहीन बनेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताए ।

हुरीबतासले विद्यालयको छानो उडाएपछि आगामी दिनमा नियमित कक्षा सञ्चालनमा थप समस्या हुने भएको छ । विद्यालयमा करिब रु १० लाखबराबरको क्षति पुगेको प्रधानाध्यापक बुढाको भनाइ छ । स्थानीय समुदाय, अभिभावक र श्रमदानबाट निर्माण गरिएको विद्यालय क्षतिग्रस्त भएपछि विद्यालय व्यवस्थापनले पुनर्निर्माणका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरेको विद्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप