शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पलेँटीको अबको शृङ्खलामा अग्रज गीतकार शिवशङ्कर थापा

बुधबार, १३ जेठ २०८३, ११ : ४७
बुधबार, १३ जेठ २०८३

सारांश

  • २१ वर्षदेखि सञ्चालनमा रहेको लघु साङ्गीतिक कार्यक्रम पलेँटीको आगामी शृङ्खलामा अग्रज गीतकार शिवशङ्कर थापाका गीति रचनाहरू प्रस्तुत गरिनेछन् ।
  • कार्यक्रममा गायक तथा सङ्गीतकार दीप श्रेष्ठ, सङ्गीतकार सुवर्ण लिम्बू, प्रकाश गुरुङ, आभास, बलराम समाल, युवराज पोर्तेल र मणि बर्देवाले धुन भरेका थापाका लोकप्रिय गीतहरू गुन्जनेछन् ।
  • गीतकार थापाले पलेँटीजस्तो स्रष्टालाई सम्मान गर्ने मञ्चमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन् ।

काठमाडौँ । २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम पलेंटीको आगामी श्रृङ्खलामा सुप्रसिद्ध गीतकार शिवशङ्कर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् । आगामी शुक्रबार आयोजना हुने कार्यक्रम थापाका थुप्रै गीत गुन्जनेछ ।

थापा लामो समयदेखि झापाको बिर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द–शिल्पी हुन् । शिवशङ्कर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो । थापाका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन् । श्रेष्ठले धुन भरेका गीतहरू– ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’, ‘मेरो आँखामा हरदम’ लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन् ।

उल्लेखित गीतका साथै गीतकार थापाले रचेका गीतहरू– ‘हावासँगै बगूँ भन्छ’, ‘मेरो रहर ब्युँझिएर’, ‘केही ल्याउन सकिनँ’, पनि उत्तिकै लोकप्रिय रहँदै आएका छन् । जसलाई सङ्गीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन् ।

गीतकार थापाका अनुज पुस्ताका सङ्गीतकार आभासले पनि उनका शब्दमा भरखरै सहकार्य गरेका छन् । ‘म त अक्षरको मान्छे हुँ, शिरदेखि पढ या पाउदेखि पढ’ बोलको गीतलाई पलेँटीका कण्ठ–शिल्पीले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन् । यसका साथै कार्यक्रममा सङ्गीतकारहरू बलराम समाल, युवराज पोर्तेल, मणि बर्देवाले धुन भरेका रचनाहरू पनि प्रस्तुत हुनेछन् ।

यसपालिको पलेँटीमा कण्ठ–शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशङ्कर थापाका सम्पूर्ण रचनाहरूलाई आफ्ना कण्ठले गुञ्जायमान बनाउने छन् । पलेँटीका निम्ति काठमाडौं आइपुगेका गीतकार शिवशङ्कर थापा भन्छन्, ‘पलेँटीमा सहभागी हुन पहिलेदेखि नै अनुरोध भएको हो । स्वास्थ्यको प्रतिकूलताले गर्दा, बल्ल मौका जुर्‍यो । जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुसी लागेको छ । पलेँटीले स्रष्टाहरूलाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ । यो लहरमा मिसिन पाएँ; आभारी छु ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप