सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय मानवअधिकार आयोगकाे प्रतिवेदन

सुधन गुरुङलगायत आयोजकमाथि थप अनुसन्धान गर्न मानव अधिकार आयोगको निर्देशन

बुधबार, १३ जेठ २०८३, १६ : ५३
बुधबार, १३ जेठ २०८३

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले 'हामी नेपाल' संस्थाका अध्यक्ष सुधन गुरुङसहित जेनजी आन्दोलनका आयोजकहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।
  • भदौ २३ र २४ गते भएको प्रदर्शनमा शान्तिपूर्ण रहने प्रतिबद्धता विपरीत हिंसात्मक गतिविधि भएको ठहर गर्दै आयोगले यस्तो निर्देशन दिएको हो।
  • आयोगले आयोजकहरूको भूमिका, प्रदर्शनमा भएको घुसपैठ र सार्वजनिक सम्पत्तिको क्षतिमा उनीहरूको कमजोरीबारे सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘हामी नेपाल’ संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङसहित जेनजी आन्दोलनका आयोजकहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। 

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा शान्तिपूर्ण रहने प्रतिबद्धता विपरीत हिंसात्मक गतिविधि भएको ठहर गर्दै आयोगले यस्तो निर्देशन दिएको हो।

आयोगको प्रतिवेदनको सिफारिस खण्डको बुँदा नम्बर ९ मा प्रदर्शनका लागि आयोजकहरूले जिल्ला प्रशासन कार्यालयबाट शान्तिपूर्ण कार्यक्रम गर्ने भनी अनुमति लिएका थिए । तर, प्रदर्शन नियन्त्रण बाहिर गई हिंसात्मक रूप लिँदा र तोडफोड हुँदा समेत आयोजकहरूले त्यसलाई रोक्न नसकेको आयोगको निष्कर्ष छ। आयोगले आयोजकहरूको भूमिका र प्रदर्शनमा भएको घुसपैठका विषयमा गम्भीर प्रश्न उठाएको छ।

थप अनुसन्धानको दायरामा पर्नेहरूमा ‘हामी नेपाल’ का अध्यक्ष सुधन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउड रहेका छन् । उनीहरूले आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न र प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक जिम्मेवारी पूरा नगरेको आयोगले जनाएको छ।

आयोगले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुनुमा आयोजकहरूको फितलो व्यवस्थापन र कमजोरीलाई पनि एउटा कारण मानेको छ ।

भविष्यमा आयोजना गरिने यस्ता कार्यक्रमहरूमा आयोजकलाई थप जिम्मेवार बनाउन र घटनाको गहिराइसम्म पुग्न यी व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप