सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

फ्राइडे रिलिज : आजबाट हलमा फिल्म ‘रोल नं १’, ‘कुम्भ’ र ‘शेप अफ मोमो’

शुक्रबार, १५ जेठ २०८३, १२ : २२
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • आजबाट तीन नयाँ नेपाली फिल्म 'रोल नं १', 'कुम्भ' र 'शेप अफ मोमो' प्रदर्शनमा आएका छन् ।
  • 'रोल नं १' शैक्षिक विषयमा, 'कुम्भ' एक्सन कथामा र 'सेप अफ मोमो' ग्रामीण महिलाका कथामा निर्माण भएका छन् ।
  • 'रोल नं १'ले धेरै शो पाएको छ भने 'सेप अफ मोमो'ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रशंसा पाएको छ ।

काठमाडौँ । आजबाट तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘रोल नं १’, ‘कुम्भ’ र ‘शेप अफ मोमो’ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदशर्शनमा आएका यी तीनै फिल्म देशभर एक–अर्कोसँग भिड्न तयार भएका हुन् ।

तीनमध्ये फिल्म ‘रोल नं १’ ले शो भने धेरै पाएको छ । ‘रोल नं १’ शैक्षिक विषयलाई केन्द्रमा राखेर निर्माण भएको हो भने ‘कुम्भ’ एक्सन कथामा निर्माण भएको हो । ‘सेप अफ मोमो’ ले ग्रामीण भेगको महिलाका कथा उठाएको छ ।

‘रोल नं १’ 

सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि आमाबुबाले गर्ने सङ्घर्षको कथामा बनेको फिल्म हो ‘रोल नं १’ । शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको समेत देखाएको फिल्म विनोद पौडेलले निर्माण गरेका हुन् ।

मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्ममा बाल–कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् । फिल्ममा प्रशान्त शिवाकोटीको सङ्गीत छ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ । फिल्मको स्कुल स्कुलमा गएर प्रचार प्रचार गरिएकोले फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ ।

‘सेप अफ मोमो’ 

सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राई निर्देशित फिल्म ‘सेप अफ मोमो’ स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय छ ।

डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्मसकाे सह–निर्माणमा बनेको फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ ।

फिल्म ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । ती महोत्सवमा फिल्मले पुरस्कारसँगै प्रशंसासमेत पाएको छ । कार्यकारी निर्माता जोया अख्तरले फिल्मले सिक्किमेली महिलाहरूको जीवनलाई अत्यन्त आत्मीय र प्रामाणिक ढङ्गले प्रस्तुत गरेको बताइन् ।

‘कुम्भ’

एक्सन–ड्रामामा आधारित फिल्म ‘कुम्भ’मा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय छ ।

दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको फिल्म रणधीर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको छायाङ्कन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप