जगदीशका पाइलाहरू : प्रेम, संघर्ष र जिजीविषाको दस्ताबेज
सारांश
- वरिष्ठ चिकित्सक डा. जगदीशलाल वैद्यद्वारा लिखित "जगदीशका पाइलाहरू" कृतिले जीवनका अनुभूति, संघर्ष, प्रेम, पीडा र आत्मबललाई अभिव्यक्त गर्दछ।
- यो पुस्तक केवल एक व्यक्तिको आत्मकथा नभई प्रेम, समर्पण, धैर्य र जिजीविषाको महाकाव्य हो, जसले पाठकलाई जीवनसँग हार नमान्ने प्रेरणा दिन्छ।
- पुस्तकले जगदीश र रेहनाको प्रेम, कोभिड कालको संघर्ष, डा. अशोक बास्कोटासँगको मित्रता र बी एन्ड बी अस्पतालको सपनालाई सजीवताका साथ प्रस्तुत गर्दछ।
मेरा गुरु वरिष्ठ चिकित्सक डा. जगदीशलाल वैद्यद्वारा लिखित “जगदीशका पाइलाहरू” कृति पढ्ने अवसर प्राप्त भयो । पुस्तक पढ्दै जाँदा त्यसमा अभिव्यक्त जीवनका अनुभूति, संघर्ष, प्रेम, पीडा र आत्मबलले मन अत्यन्त स्पर्शित भयो । यही भावनाले प्रेरित भएर यस कृतिमाथि केही अनुभूति व्यक्त गर्ने प्रयास गरेको छु ।
मानिसको जीवन केवल सफलता र उपलब्धिको नाम होइन रहेछ । जीवन त कहिले आँधी, कहिले वर्षा, कहिले उज्यालो र कहिले अँध्यारोबिच पनि विश्वासको दियो निभ्न नदिने निरन्तर संघर्ष रहेछ । “जगदीशका पाइलाहरू” पढ्दा यही अनुभूति महसुस हुन्छ।
यो केवल एउटा व्यक्तिको आत्मकथा होइन, यो त प्रेम, समर्पण, धैर्य र जिजीविषाको महाकाव्य हो । पुस्तकका प्रत्येक पृष्ठमा जीवन हाँसेको पनि छ, रोएको पनि छ । कतै आशा छ, कतै बिछोडको पीडा, कतै संघर्षको गर्जन, त कतै मौन आँसुका धब्बाहरू ।
यस किताबभित्र कैयौँ यस्ता प्रसंगहरू छन्, जहाँ पाठक पढ्दै जाँदा भावनामा बग्न पुग्छ । कतै आँखा रसाउँछन्, कतै मन गर्वले भरिन्छ, कतै जीवनप्रतिको विश्वास अझ बलियो भएर आउँछ । संघर्षका कठिन मोडहरू पार गर्दै सफलता हासिल गरिएको यात्रा पढ्दा यो पुस्तक केवल संस्मरण जस्तो लाग्दैन, बरु जीवनसँग हार नमान्ने प्रेरणाको स्रोत बनेर उभिन्छ ।
जगदीश र रेहनाको सम्बन्ध पढ्दै जाँदा लाग्छ—साँचो प्रेम शब्दमा होइन, साथमा बाँच्छ । जीवनका असंख्य उतार चढावबिच पनि एक अर्काको हात नछोड्ने आत्मीयता नै उनीहरूको सम्बन्धको वास्तविक सौन्दर्य हो । एउटा आकस्मिक भेट जीवनभरको भरोसा बन्न पुग्नु स्वयंमा एउटा सुन्दर नियति हो ।
“त्यो कालो रात” को प्रसंग पढ्दा मन स्तब्ध हुन्छ । डकैतीको त्यो घटनाले केवल घर लुटेको थिएन, मानवीय संवेदनामाथि नै प्रहार गरेको थियो । तर त्यस्तो भयावह क्षणमा पनि धैर्य नटुट्नु, आत्मबल नहराउनु, फेरि उठेर उभिन सक्नु—यही नै जगदीशका पाइलाहरूको वास्तविक शक्ति हो ।
तर पुस्तकको सबैभन्दा मार्मिक, सबैभन्दा हृदय विदारक अध्याय भनेको कोभिड कालको संघर्ष हो । त्यहाँ पुगेपछि पाठक केवल पाठक रहँदैन, ऊ आफैँ परिवारको सदस्यझैँ भएर पीडा महसुस गर्न थाल्छ ।
रेहना म्याडमको अस्वस्थता, अस्पतालको त्रासदीपूर्ण वातावरण, जीवन र मृत्युबिचको अनिश्चित प्रतीक्षा—यी सबै दृश्यहरू शब्दमा होइन, सजीव अनुभूतिमा बदलिन्छन् ।
जब रेहनाले हात हल्लाउँदै अवरुद्ध कण्ठबाट भनिन्—
“ बाइ बाइ बूढा , मैले यति राम्रो जीवन बिताएँ,अब मलाई जान दिनुस्’ मैले धेरै दु:ख पाएँ,अब म बाँच्न चाहन्न ।अब मलाई बिदा गर्दिनुस्" । त्यो केवल एउटा बिरामीको वाक्य थिएन, त्यो जीवनसँग अन्तिम संवाद थियो ।
अनि फेरि उनले भनिन्—
“मलाई हेर्ने नर्स भवानीलाई मैले दिनहुँ लगाउने दुई वटा सुनका चुरा दिनु… बहिनी र बुहारीलाई पनि दुई–दुई वटा सुनका चुरा दिनू…” मृत्युको मुखसम्म पुग्दासमेत अरूलाई सम्झिने त्यो करुणा ! आफ्नो पीडाभन्दा बढी अरूको मायालाई महत्त्व दिने त्यो विशाल हृदय !
यी पङ्क्तिहरू पढ्दा मन थाम्नै सकिँदैन । उनले आफ्ना प्रियजन र नजिकका व्यक्तिहरूलाई सम्झिँदै गरेको त्यो करुणामय अभिव्यक्तिले मृत्युको क्षणसम्म पनि मानवीय सम्बन्धको गहिराइ देखाउँछ । आँखा रसाउँछन्, कण्ठ अवरुद्ध हुन्छ । जीवनभर सँगै हिँडेको मानिसलाई बिस्तारै टाढिँदै गएको हेर्नु कति पीडादायी हुन्छ भन्ने अनुभूति यस कृतिले गहिराइमा बुझाउँदछ। ।
तर यहीँबाट जीवनको अर्को सत्य उजागर हुन्छ—प्रेम कहिल्यै हार्दैन । आशा कहिल्यै पूर्ण रूपमा मर्दैन । जिजीविषाको दियो अन्तिम क्षणसम्म बलिरहन्छ । यस कठिन कोभिड कालपछि अहिले सुखद पक्ष के हो भने रेहना म्याडम पूर्ण रूपमा स्वस्थ भई सामान्य जीवनमा फर्किसक्नुभएको छ।यस कृतिले यही सन्देश दिन्छ—जीवन जतिसुकै कठोर किन नहोस्, अन्ततः आशा र सुखद समयको सम्भावना सधैं बाँकी रहन्छ।
यस कृतिमा अर्को अत्यन्त सुन्दर र प्रेरणादायी सम्बन्ध भनेको वरिष्ठ चिकित्सक डा. अशोक बास्कोटासँगको आत्मीय सहकार्य र मित्रता हो । जीवनमा रगतको सम्बन्धभन्दा माथि उठ्ने केही सम्बन्धहरू हुन्छन्—जहाँ विश्वास, सम्मान र साझा उद्देश्यले मानिसहरूलाई बाँधेको हुन्छ । जगदीश वैद्य र अशोक बास्कोटाको सम्बन्ध त्यस्तै दुर्लभ उदाहरण हो ।
बी एन्ड बी अस्पताल केवल एउटा संस्था होइन, त्यो दुई दूरदर्शी व्यक्तित्वको सपना, संघर्ष र विश्वासको परिणाम हो । एउटा अस्पताल निर्माण गर्नु केवल भवन ठड्याउनु होइन; त्यो त हजारौँ बिरामीको आशा, हजारौँ परिवारको भरोसा र समाजप्रतिको जिम्मेवारी बोकेको यात्रा हो । त्यस यात्रामा डा. अशोक बास्कोटा सधैँ जगदीश वैद्यका सहयात्री बनेर उभिएका देखिन्छन् ।
कृतिका पानाहरूमा बारम्बार महसुस हुन्छ—उनीहरूको सम्बन्ध केवल सहकर्मीको थिएन, त्यो आत्मीय मित्रताको पनि सम्बन्ध थियो । कठिन परिस्थितिमा एक अर्काको साथ नछोड्ने, संकटमा पनि संयमित रहने, र समाजप्रति केही गर्ने साझा सोचले उनीहरूलाई अझ उचाइमा पुर्याएको देखिन्छ ।
लेखकले डा. अशोक बास्कोटाप्रति व्यक्त गरेको सम्मान र आत्मीयता पढ्दा लाग्छ—साँचो सहकार्य प्रतिस्पर्धाले होइन, परस्पर विश्वासले टिकिरहन्छ । आजको स्वार्थकेन्द्रित समाजमा यस्तो मित्रता र सहकार्य दुर्लभ बन्दै गएको बेला यो सम्बन्ध आफैंमा एउटा प्रेरणा हो।
त्यसैले “जगदीशका पाइलाहरू” केवल एउटा आत्मकथा होइन; यो प्रेम, मित्रता, समर्पण, संघर्ष र मानवीय आत्मबलको जीवित दस्ताबेज हो । यो पुस्तक पढेर सकिएपछि पनि यसको भावनात्मक तरंग मनभित्र धेरै समयसम्म गुन्जिरहन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण