आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
साताको कविता

कुन जातका हौ भाइ ?

शनिबार, १६ जेठ २०८३, १२ : ३०
शनिबार, १६ जेठ २०८३

भारतको उत्तर प्रदेश भदोहीमा ५ अगस्ट १९९४ मा जन्मिएका बच्चा लाल ‘उन्मेष’ पछिल्लो युवा पुस्ताका प्रखर भारतीय कवि हुन्। हालसम्म उनका ‘छिछले प्रश्न गहरे उत्तर’ एवं ‘कौन जात हो भाई’ दुई कविता सङ्ग्रह प्रकाशित छन्।

दलित चेतनालाई सुस्पष्ट स्वर दिने उनी ‘ओमप्रकाश वाल्मीकि स्मृति साहित्य सम्मान’ र ‘मलखान सिंह सिसोदिया कविता पुरस्कार’ बाट सम्मानित भइसकेका छन्। रातोपाटीको साताको कवितामा यसपटक उनै उन्मेषको कविता पस्केका छौँ। हिन्दीबाट नेपालीमा यसको अनुवाद रोहित बास्तोलाले गरेका हुन्।

कुन जातका हौ भाइ ?

‘दलित हुँ हजुर !’

हैन के, तिमी केमा पर्छौ भनेर सोधेको !
म तपाईंको गालीमा पर्छु,
फोहोर नालीमा पर्छु,
अनि अलग्गै पारिएको थालीमा पर्छु हजुर !

भनेपछि हिन्दुमा पर्छौ ?
हो पर्छु नि हजुर ! तर तपाईंको चुनावको बेलामा मात्रै।

के खान्छौ त भाइ ?
‘जे दलितले खान्छ त्यही खान्छु हजुर !’

हैन तिमीले, के–के खान्छौ त भनेको !
म तपाईंको कुटाइ खान्छु,
ऋणको भार खान्छु,
धेरै गाह्रो–साह्रो पर्दा
कहिले नुन त, कहिले अचारसँग भात मुछेर खान्छु हजुर !

हैन, मलाई त तिमी कुखुरा खान्छौ जस्तो लागेर !
खान्छु नि हजुर ! तर तपाईंको चुनावमा !

के पिउँछौ त भाइ ?
‘जे एउटा दलितले पिउँछ, त्यही पिउँछु हजुर !’

हैन, के–के पिउँछौ त भनेको !
म छुवाछूतको पीडा पिउँछु,
फुटेका सपनाहरूको तागत पिउँछु,
अनि खुला आँखाले देखिएका सबै भ्रम पिउँछु हजुर !

हैन, मलाई त तिमी रक्सी पिउँछौ कि जस्तो लागेर ?
पिउँछु नि हजुर ! तर तपाईंको चुनावमा !

के पायौ त भाइ ?
‘जे दलितले पाउँछ त्यही पाएँ हजुर !’

हैन, तिमीले के–के पायौ त भनेको !
अपमानले भरिएको जिन्दगी,
तपाईंले छोडेको फोहोर,
त्यसमा पनि तपाईंहरू जस्ता परजीवीसामु जीवनको बन्धकी हजुर !

मैले त तिमीले केही प्रतिबद्धता पायौ होला भन्ठानेर ?
त्यो पनि पाउँछु नि हजुर ! तर तपाईंको चुनावको बेलामा।

के–के गर्‍यौ त भाइ ?
‘जे दलितले गर्छ, त्यही त गरेँ हजुर !’

हैन, मैले सोधेको तिमीले के–के गर्‍यौ त ?
मैले सयौँ दिन लगाएर पोखरी बनाउने काम गरेँ।
निथ्रुक्क पसिनामा डुबुल्की मार्दै बिहानदेखि बेलुकासम्म काम गरेँ
र, आउँदा–जाँदा बाटोमा बिष्ट–बराजुलाई सलाम ठोकेँ हजुर !

मैले त तिमीले ठूलै केही काम पो गर्‍यौ कि भनेर ?
गरेँ नि हजुर ! तपाईंको चुनावको प्रचार !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बच्चा लाल ‘उन्मेष’
बच्चा लाल ‘उन्मेष’
लेखकबाट थप