आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

शनिबार, १६ जेठ २०८३, २३ : १२
शनिबार, १६ जेठ २०८३

सारांश

  • काठमाडौँ महानगरपालिका-११ ले ७० वर्ष पुगेका १२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो।
  • ज्येष्ठ नागरिकले घुम्न पाउँदा र साथीभाइ भेट्दा खुसी व्यक्त गरे।
  • उनीहरूले समाज र भेटघाटले जीवनमा सन्तोष मिल्ने बताए।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका एक सय २५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ । सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वडा नं ११ कार्यालयले तीर्थयात्रा गराउन पलान्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका व्यक्तिसँग सामूहिक खाना र खाजा खाँदा उहाँहरूको अनुहारमा खुसीको आभास थियो ।

तीर्थयात्रामा सहभागी ८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकामा आनन्द अनुभूति भएको प्रतिक्रिया दिइन् । ७० वर्षीया इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका पीडा बिर्सिन सजिलो हुने धारणा राखिन् ।

यस्तै, ७१ वर्षीया मीरा डङ्गोल महर्जनले र ७५ वर्षीया हिरामाया महर्जनले अनुभव सुनाउँदै भनिन्, “मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र हुँदो रहेनछ । समाज र आफूजस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।”

अर्का ज्येष्ठ नागरिक ७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भने, “सहरको जीवन एक्लै जस्तै हुने, आज आफ्नै उमेर समूहका अन्य साथीलाई भेट्दा खुब रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका जस्तै भयो । पीडा कम भयो ।”

उनले महानगरले यस्तो कार्यक्रम नियमित आयोजना र अन्य समयमा औषधि, उपचारलगायत काममा पनि सहजीकरण गर्नुपर्ने सुझाव दिए ।

महानगर भवन व्यवस्था समितिका संयोजक एवं वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, “हाल घरमा ज्येष्ठ नागरिकले एक्लो जीवन बाँच्नुपर्ने अवस्था छ । रुचि र अरुचिका कुरा सोध्ने पनि छैनन् । कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । त्यसैले तीर्थयात्रामा लिने कार्यक्रम गरेका हौँ ।”

वडामा आठ सय ५० भन्दा बढीले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहेका छन् । यस वर्ष एक सय ५१ जनालाई पोषण भत्ताबापत हरेकलाई रु १२ हजार प्रदान गरिएको छ । यो सङ्ख्या गएको वर्ष एक सय ८१ थियो । वडामा पोषण भत्ता प्राप्त गर्ने नौ जना पूर्ण अपाङ्गता, १५ जना अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका सात जना व्यक्ति ज्येष्ठ नागरिक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप