आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

फोटो प्रदर्शनी ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ को अवधि थप तीन दिन लम्बियो

आइतबार, १७ जेठ २०८३, ०० : २२
आइतबार, १७ जेठ २०८३

सारांश

  • पत्रकार जीवन लामाको एकल फोटो प्रदर्शनी ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ को अवधि दर्शकहरूको रुचि र उत्साहजनक उपस्थितिका कारण तीन दिन थप गरिएको छ ।
  • दोलखाको चेर्दुङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा पत्रकार लामाले खिचेका ३१ वटा तस्बिरहरू समेटिएका छन् ।
  • फोटो पत्रकार लामा, जसले हालै ‘लाइफटाइम फोटो जर्नालिज्म च्छोरोल्पा एचिभमेन्ट २०८२’ बाट सम्मान पाएका छन्, जन्मथलो र देशको पर्यटन प्रवर्द्धनमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँ । नयाँ बानेश्वरस्थित उमोजा कफीमा सञ्चालन भइरहेको पत्रकार जीवन लामाको एकल फोटो प्रदर्शनी ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ को अवधि थप तीन दिन लम्बिएको छ ।

जेठ १४ गतेदेखि सुरु भई जेठ १६ गते (शनिबार) सम्म सञ्चालन गर्ने तय भएको यो प्रदर्शनी दर्शकहरूको रुचि र उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै थप तीन दिनका लागि लम्ब्याइएको आयोजक संस्था एक्सप्लोर नेपाल नेटवर्कका प्रमुख एवं पर्यटन अभियन्ता लिलाराम खड्काले जानकारी दिएका छन् ।

दोलखा जिल्लाको रमणीय पर्यटकीय गन्तव्य जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित चेर्दुङ (३,६९० मिटर) को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा पत्रकार जीवन लामाले खिचेका ३१ वटा तस्बिरहरू राखिएका छन्, जसमा गौरीशङ्कर हिमशृङ्खला, स्थानीय जीवनशैली, जिरी उपत्यका, झ्याँकु गाउँ, साइक्लिङ र संस्कृतिका विविध पाटाहरू समेटिएका छन् ।

यसअघि प्रदर्शनीको शुभारम्भ विश्व पर्वतारोहण महासंघका मानार्थ विज्ञ दूत एवं पर्यटनविज्ञ आङछिरिङ शेर्पाले गरेका थिए । उद्घाटन कार्यक्रममा मेलुङ गाउँपालिकाका प्रमुख हिराकुमार थोकर, वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, पर्यटन पत्रकार अमृत भादगाउँले र पत्रकार मेनका कुँवरले चेर्दुङको पर्यटन विकास र प्रवर्द्धनका लागि यो प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकु गाउँमा जन्मिएका फोटो पत्रकार लामा वि.सं. २०६२/६३ को जनआन्दोलनदेखि व्यावसायिक पत्रकारितामा सक्रिय छन् । उनले आफ्नो जन्मथलो र समग्र देशको पर्यटन प्रवर्द्धनका लागि तस्बिर र कलमका माध्यमबाट निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएका छन्। उनी हालै गौरीशंकर च्छोरोल्पा मिडियाद्वारा ‘लाइफटाइम फोटो जर्नालिज्म च्छोरोल्पा एचिभमेन्ट २०८२’ बाट सम्मानित समेत भइसकेका छन् ।

जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकाको क्षेत्रमा फैलिएको चेर्दुङ प्रकृति र अध्यात्मको संगमस्थल हो । यहाँबाट नुम्बुर, रामदुङ, छेकिगो, धारे मेलुङत्से, लाक्पा दोर्जे, टासी लाप्चा, गौरीशङ्कर लगायतका हिमशृङ्खलाहरूको सुन्दर दृश्य नियाल्न सकिन्छ । साथै यहाँ हिन्दूहरूको पवित्र चेर्दुङेश्वर महादेव मन्दिर र बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र गुरु रिम्पोचे ९पद्मसम्भव० को पाइला अंकित शिला रहेका छन् । यस क्षेत्रको व्यापक प्रवर्द्धनका लागि हाल ‘जाऔं है चेर्दुङ’ अभियान समेत सञ्चालनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप