आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी

आइतबार, १७ जेठ २०८३, १२ : ३८
आइतबार, १७ जेठ २०८३

सारांश

  • गीतकार शिवशंकर थापाका गीतहरू कालिकास्थानस्थित नेपालयको 'आर' शालामा आयोजित 'पलेँटी' कार्यक्रममा गुन्जिएका छन्।
  • कार्यक्रममा थापाले आफ्ना गीतहरूको रचनागर्भ र व्यक्तिगत अनुभूतिको खुलासा गरेका थिए, जसले दर्शकलाई भावुक र प्रफुल्लित तुल्यायो।
  • कार्यक्रममा नयाँ र पुराना गरी विभिन्न गीतहरूको साङ्गीतिक प्रस्तुतिसँगै गीतकार थापाका जीवनका रोचक र मार्मिक क्षणहरू पनि साझा गरिए।

काठमाडौँ । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रसिद्ध गीतकार शिवशंकर थापाका गीतहरू गुन्जिएका छन् । विगत २१ वर्षदेखि जारी ‘पलेँटी’ को नयाँ शृङ्खलामा उनका गीतहरू गुन्जिएका हुन् । शिवशंकर थापासँगै पलेँटीमा संलग्न गीतकारको सङ्ख्या एक दर्जन पुगेको छ ।

तीन खण्डमा विभाजन कार्यक्रमको पहिलो खण्डमा नयाँ र पुराना गीत गरी पाँच वटा साङ्गीतिक प्रस्तुतिहरू भएका थिए । जसमा सङ्गीतकार सुवर्ण लिम्बु, प्रकाश गुरुङ, आभास र बलराम समालका धुनहरू समावेश थिए ।

कार्यक्रममा गीत संगीतका साथसाथै गीतकार शिवशंकर थापाको गीति रचनाको रचना–गर्भ र व्यक्तिगत अनुभूतिको खुलासा मूल आकर्षणमा रहेको थियो ।

कार्यक्रमको सुरुवात पवन गोलेको स्वरमा प्रसिद्ध बनेको सुवर्ण लिम्बुद्वारा सङ्गीतबद्ध गीत ‘हावासँगै बगुँ भन्छ’ बाट भएको थियो । त्यसपछि सङ्गीतकार प्रकाश गुरुङद्वारा धुन भरिएका ‘मेरो रहर बिउँझिएर’ र ‘केही ल्याउन सकिनँ’ बोलका गीतहरू प्रस्तुत भएका थिए ।

साङ्गीतिक प्रस्तुतिसँगै गीतकारले आफ्नो अतीतको थैलीलाई बिस्तारै खोल्दै गएका थिए । सङ्गीतकार प्रकाश गुरुङसँग भोटेबाहलस्थित डेरामा भेटेको रसिलो युवा उमेरको सम्झना सुन्दा दर्शक दीर्घामा हाँसोको लहर फैलिएको थियो ।

कार्यक्रमको चौथो प्रस्तुतिमा नयाँ गीत ’म त अक्षरको मान्छे हुँ’ बोलको गीत रहेको थियो । यस क्रममा गीतका सङ्गीतकार आभासले रचनाकार शिवशंकर थापासँग आफूले तीन दशक पहिले संगत गरेको सम्झना गरेका थिए । यस गीतका सन्दर्भमा रचनाकार शिवशंकर थापा भन्दै थिए– ‘मेरा गीतका विषयवस्तुमा मान्छे र तिनका कथाहरू हुने गर्छन् । म मान्छेहरूलाई अक्षरका रूपमा पढ्न खोज्छु, यो गीत त्यसकै परिणाम हो ।’

पाँचौँ प्रस्तुतिमा शिवशंकर थापा निकै भावुक देखिन्थे । सङ्गीतकार बलराम समालले धुन भरेको ‘कति साह्रो फाटेछु म’ बोलको गीत आफ्नी श्रीमतीको अवसानपछिको एक्लोपनबाट अभिप्रेरित भएको सन्दर्भ कोट्याउँदा थापाका गह रसिला देखिन्थे ।

दोस्रो खण्डमा गायक तथा सङ्गीतकार दीप श्रेष्ठको कण्ठमा प्रसिद्ध भएका गीतहरू समावेश गरिएका थिए । दर्शक दीर्घामा उपस्थित सङ्गीतकार तथा गायक दीप श्रेष्ठ नयाँ पुस्ताका कण्ठ शिल्पीबाट आफ्ना रचनाहरू सुन्दा मुग्ध देखिन्थे ।

यस खण्डको पहिलो प्रस्तुति ‘मेरो आँखामा भरदिन बादल छाइरह्यो’ बोलको गीत रहेको थियो । यस गीतको रचना–गर्भ उल्लेख गर्ने क्रममा गीतकार थापाले झापा विद्रोहका बन्दीहरूलाई जेल सार्ने क्रममा भएको ’सुखानी हत्याकाण्ड’ को सम्झना गरेका थिए ।

उनले आफ्नो यो रचना २०२९ साल फागुन २१ गते इलाममा घटेको सोही घटनाबाट प्रेरित भएको सुनाउँदा दर्शक दीर्घामा सन्नाटा छाएको थियो । पञ्चायतकालमा घटेको सो घटनालाई राजनैतिक दमनको क्षणका रूपमा सम्झना गरिन्छ ।

दीप श्रेष्ठद्वारा सङ्गीतबद्ध रचना सुनाउने क्रमको दोस्रो रचना ’तिमी आकाशको जून भयौ, म त यहाँको धुलो हुँ’ रहेको थियो । यो गीत शिवशंकर थापाको धुन भरिएको पहिलो गीति रचना थियो । यस रचनासँगै शिवशंकर थापाले आफ्नो वैयक्तिक अनुभूतिको थैलीलाई झन् झन् खुकुलो बनाउँदै लगेका थिए ।

रेडियोबाट आफ्नो नाम यही गीतमार्फत पहिलोपल्ट सुनेको सम्झना गर्दै शिवशंकर थापा भन्दै थिए– ‘धरानको कुनै होटलमा चिया खाँदै गर्दा यो गीत सुनेको त्यो क्षण अहिले पनि सम्झनामा छ । त्यसबेला मलाई लागेको थियो– ‘मेरी ती अमुक धनाढ्य प्रेमिकाले पनि यो गीत कतै रेडियोबाट सुन्दै पो होलिन् कि ?... ओहो त्यो उमेर नै कस्तो रोमाञ्चक उमेर ?’

कार्यक्रम अगाडि बढ्ने क्रममा ‘फूलको गाला भिजाएर’ र ‘आयो फेरि चैते हुरी’ बोलको गीतको पालो आएको थियो । दीप श्रेष्ठले नै धुन भरेका यी गीतहरूका मूल कण्ठ शिल्पी सोफिया र सरलामध्ये सोफिया गुरुङ श्रेष्ठ पनि दर्शक दीर्घामा उपस्थित थिइन् । आफूले विगतमा गाएका गीतहरूलाई अभिज्ञा घिमिरेको स्वरमा सुन्दा सोफियाको मुहार मुग्ध र ओठ चलायमान देखिन्थे ।

गीतकार शिवशंकर थापाले प्रत्येक गीतका रचना गर्भ सुनाउँदै अघि बढेको कार्यक्रममा जब लोकप्रिय गीत ‘विधुवाले सिन्दूरको रहर’को पालो आयो दर्शकमाझ भावुकताको तरङ्ग नै फैलियो । यस क्रममा उनले एउटी छिमेकी बिधुवाको सत्यकथाबाट आफ्नो गीत अभिप्रेरित भएको उल्लेख गरेका थिए ।

प्रसिद्ध गीत ‘भन्थी मेरी उनी मेरो पाइला नटेकिदिनु’ गीतको पालो आउँदा गीतकार शिवशंकर थापा आफ्नो वैयक्तिक प्रेम कथा अभिव्यक्तिको उत्कर्षमा पुगेका थिए ।

उनी भन्दै थिए– ‘म जे बोल्छु सिधा बोल्छु; नढाँटी बोल्छु; ढाँट्न आउँदैन; ‘भन्थी मेरी उनी’ सुदूर विगतकी मनकी प्रेमिकाले व्यक्त गरेका चिठीका हरफहरू समेत हुन् । मैले तिनकै अभिव्यक्तिलाई टक्क टक्क उतारेर गीतमा राखेको हुँ । दीपले धुन भरेर गायो । गीत प्रसिद्ध भयो । म पनि प्रसिद्ध भएँ । त्यो प्रेम कथा त अब टुङ्गियो तर हाम्रो मित्रता टुङ्गिएको छैन । पारिवारिक मित्रता छ ।’

तेस्रो खण्ड तथा अन्तिम खण्डमा लोक शैलीका रचनाहरू प्रस्तुत भएका थिए । जसमा भौगोलिकता समेटिएको ‘माखाको फेदीमा, जाँड छान्दा छान्दै’ र ‘आज फेरि राजैज्यूको’ बोलका गीत रहेका थिए । युवराज पोर्तेल र मोनिका चुँडालले रेकर्ड गरेका दुई लोकगीतबारे आफ्नो अनुभूति पोख्दै शिवशंकर थापाले झ्याउरे भनेर प्रचलनमा रहेको शैली मगर जातिको ‘झ्या बुरा’ शब्दको अपभ्रंश हुनसक्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्तिम गीतका रूपमा गायक दीप श्रेष्ठ, गोविन्द कटुवाल र शिवशंकर थापाले रेडियो नेपालमा रेकर्ड गरेको पुरानो लोकगीत ’रातो माटो सिन्दूरको साटो’ प्रस्तुत भएको थियो । कार्यक्रमको समापनसँगै प्रफुल्ल देखिएका शिवशंकर थापा भन्दै थिए–, ‘हेर्नु त; म अलिक अस्वस्थ मान्छे, यो कार्यक्रमको बीटमार्ने बेलामा त २५ वर्षको उमेरमा झैँ जोश पलाएको अनुभूति पो गर्दैछु ।’

अभिज्ञा घिमिरे र रूपक चौधरीको स्वरमा गुञ्जायमान यस पलेँटीमा वाद्यवादनतर्फ लिड र रिदम गिटारमा विक्रम कार्की, बेस गिटारमा कृपेश लोहनी, किबोर्डमा वैभव विक्रम परियार, बाँसुरीमा मिलन घिमिरे, रिदम सेक्सनमा मिलेश तण्डुकार र रिजेन खड्कीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप