आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युतमा ५ प्रतिशत भ्याटका विषयमा प्रधानमन्त्री शाहले के भने ?

आइतबार, १७ जेठ २०८३, १४ : ५५
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युत् भ्याट लगाइएको विषयमा जवाफ दिएका छन् ।
  • उनले देशभर विद्युत् पूर्वाधार विस्तार र स्तरोन्नतिका लागि आवश्यक स्रोत जुटाउन ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको बताए ।
  • उनका अनुसार उक्त करबाट प्राप्त रकम ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेशनको क्षमता अभिवृद्धिमा खर्च गरिनेछ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युत् भ्याट लगाएको विषयमा जवाफ दिएका छन् ।

आइतबार प्रधानमन्त्री शाहले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै विद्युतमा लगाएको भ्याटका विषयमा जवाफ दिएका हुन् । प्रधानमन्त्री शाहले देशभर विद्युत् पूर्वाधार विस्तार र स्तरोन्नतिका लागि आवश्यक स्रोत जुटाउन ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्वु ओलीले विद्युतमा लागेको भ्याटका बारेमा प्रश्न गरेकी थिइन् । ओलीको जवाफमा प्रधानमन्त्री शाहले भने,‘ अहिले देशका हरेक भान्सामा बिजुलीबाट खाना पकाउने अवस्था आयो भने धेरै ट्रान्सफर्मर र सबस्टेशनले क्षमता धान्न सक्दैनन् । त्यसैले पूर्वाधार विस्तार र स्तरोन्नतिका लागि लगानी आवश्यक छ ।’

प्रधानमन्त्री शाहका अनुसार सरकारले बजेट मार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको छ । उनले उक्त करबाट प्राप्त रकम ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेशनको क्षमता अभिवृद्धिमा खर्च गरिने बताए ।

‘१०० रुपैयाँको बिलमा ५ रुपैयाँ भ्याट लाग्ने हो । त्यो रकम देशभरका ट्रान्सफर्मर अपग्रेड गर्न, प्रसारण लाइनका तारको क्षमता बढाउन र सबस्टेशन सुधार गर्न प्रयोग हुन्छ । यी पूर्वाधार सुदृढ भएपछि मात्रै नेपाल वास्तविक रूपमा विद्युतीय युगमा प्रवेश गर्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप