आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बाँसुरी बाजा प्रतियोगिताको ट्रफी देवीस्थानले उचाल्यो

सोमबार, १८ जेठ २०८३, ०० : २६
सोमबार, १८ जेठ २०८३

सारांश

  • देवीस्थान बाँसुरी खलले उपत्यकाव्यापी बाँसुरी बाजा प्रतियोगिताको उपाधि जित्यो।
  • प्रतियोगितामा १३ टोलीका ३०० बढी कलाकारले भाग लिएका थिए।
  • कलाकारिता र परम्परा संरक्षणको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।

भक्तपुर । उपत्यका व्यापी परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता २०८३ को ट्रफी बालाजुस्थित देवीस्थान बाँसुरी खलले उचालेको छ । उसले प्रथम हुँदै रु २५ हजार प्राप्त गरेको छ ।

चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकामा आयोजना गरेको प्रतियोगितामा उपत्यकाका विभिन्न क्षेत्रबाट आएका १३ टोलीका ३०० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । स्थानीय मौलिक संस्कृति, परम्परागत बाँसुरी बाजा तथा साङ्गीतिक सम्पदाको संरक्षण, सवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा चन्द्रागिरिस्थित झिगु नेवाः बाँसुरी खलले द्वितीय हुँदै रु २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै ताथलीस्थित खगां दाफा भजन खलले तृतीय हुँदै रु १० हजार, ट्रफी र प्रमाणपत्र तथा सरस्वती खेलस्थित ससु माजु बाँसुरी खलले सान्त्वनासहित रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तिम चरणसम्म पुगेर निर्णायकको छनोटमा पर्न सफल काठमाडौँको न्युरोडस्थित पाको पुखध्या मानन्धर खललाई प्रोत्साहन स्वरूप रु दुई हजार ५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले आइतबार सम्पन्न कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले प्रतियोगितामा भक्तपुर, काठमाडौँ, चन्द्रागिरि, गोकर्णेश्वर, बालाजु, सूर्यविनायकलगायत क्षेत्रका बाँसुरी बाजा टोलीहरूले आफ्नो कला, सीप र साङ्गीतिक परम्पराको उत्कृष्ट प्रस्तुति प्रदर्शन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप