वैकल्पिक व्यवस्थाविना फलफूल बजारमा डोजर चलाइएको भन्दै व्यवसायी आक्रोशित
सारांश
- जनकपुरधाममा फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले वैकल्पिक व्यवस्था नहुँदै डोजर चलाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
- उच्च अदालत जनकपुरको आदेशपछि उपमहानगरपालिकाले पर्याप्त समय र वैकल्पिक व्यवस्था नगरी संरचनाहरू हटाएको व्यवसायीहरूको गुनासो छ।
- व्यवसायीहरूले राज्यलाई राजस्व बुझाउँदै आएकाले वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु उचित नभएको र कृषि उत्पादनको वितरणमा यसको महत्व रहेको बताएका छन्।
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित जिरो माइलमा रहेको फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उच्च अदालत जनकपुरले बजार खाली गराउन आदेश दिएपछि उपमहानगरपालिकाको सहयोगमा संरचनाहरू हटाइएको हो।
व्यवसायीहरूले अदालतको आदेशलाई सम्मान गर्दै बजार खाली गर्न आफूहरू तयार रहे पनि उपमहानगरपालिकाले पर्याप्त समय र वैकल्पिक व्यवस्था नगरेको गुनासो गरेका छन्।
अहिले आँपको मुख्य व्यापारिक सिजन रहेकाले व्यवसायीहरूले बजार स्थानान्तरणका लागि कम्तीमा तीन महिनाको समय माग गरेका थिए। तर, सम्बन्धित निकायले उक्त मागको सुनुवाइ नगरेको उनीहरूको भनाइ छ। जनकपुरधाम फलफूल व्यवसायी महासंघका महासचिव भुवनेश्वर पूर्वेले व्यवसायीहरू बजार सर्न तयार रहँदाकै अवस्थामा कुनै औपचारिक सूचना नै नदिई बल प्रयोगको शैलीमा संरचना भत्काएर अन्याय गरिएको बताए।
अदालतको आदेश आउने बित्तिकै नगरपालिकाले आफ्नो मनमुताविक डोजर चलाएको आरोप उनले लगाए। पूर्वेले भने,‘फलफूल बजार हटाउनको लागि नगरपालिकाले आजसम्म हामीलाई जानकारी गराएको छैन। उच्च अदालत जनकपुरको परमादेश आउनेवित्तिकै आफ्नो मन बुताविक डोजर ल्याएर फलफुल बजार भत्काइएको छ।’
यसैगरी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले राज्यलाई करोडौँ रुपैयाँ राजस्व बुझाउँदै आएका व्यवसायीलाई वैकल्पिक व्यवस्था नै नगरी यसरी विस्थापित गर्नु उचित नभएको उल्लेख गरे। कृषि उत्पादनको वितरणसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले राज्यले यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
भण्डारीका अनुसार व्यवसायीहरूका लागि नयाँ स्थान व्यवस्थापन गर्न उपमहानगरपालिकासँग समन्वय भइरहेको छ तर जग्गा व्यवस्थापन तथा करार प्रक्रियाका केही काम अझै बाँकी छन्। त्यसैले वैकल्पिक व्यवस्था नहुँदासम्म फलफूल बजार नहटाउन उनले आग्रह गरे।
यसअघि गुठीको जग्गामा रहेको कृषि बजारलाई सरकारले हटाएपछि व्यवसायीहरूले निजी जग्गा भाडामा लिएर यो फलफूल बजार स्थापना गरेका थिए। तर, उक्त जग्गाको धनीहरूबीच आपसी विवाद बढेपछि मुद्दा उच्च अदालतसम्म पुगेको थियो। अदालतले जग्गा खाली गराउन आदेश दिएलगत्तै जग्गाधनीले उपमहानगरपालिकाको सहयोग लिएर फलफूल बजारका संचरनाहरूमा डोजर चलाएका हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण