सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
सारांश
- मोरक्कोले सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर अफ्रिकी र अरब टोलीको इतिहास रचेको थियो।
- प्रशिक्षक बर्खास्तगी र अफ्रिका कप अफ नेसन्स (एफकोन) को फाइनलको तनावले मोरक्कोको टोली केही अस्तव्यस्त परिस्थितिमा छ।
- सन् २०२६ को विश्वकपमा मोरक्कोले बलियो टोलीसहित सनसनीपूर्ण प्रदर्शनलाई दोहोर्याउने वा त्योभन्दा अगाडि बढ्ने आशामा छ।
- विश्वकपमा अघिल्ला सहभागिता: ६
- उत्कृष्ट प्रदर्शन: चौथो स्थान (सन् २०२२)
- पहिलो सहभागिता: सन् १९७० (मेक्सिको)
- सर्वाधिक गोलकर्ता: युसेफ एन–नेसरी (३)
- सर्वाधिक उपस्थिति: असरफ हाकिमी, हाकिम जियाच (१०)
- हेर्नलायक खेलाडी: ब्राहिम डियाज
- फिफा विश्व वरीयता: ८
चार वर्षअघि मोरक्को कतार विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी र अरब टोली बनेर इतिहास रचेको थियो। त्यस क्रममा स्पेन र पोर्चुगललाई बाहिर पठाएको मोरक्को फ्रान्ससँग भने झिनो अन्तरले पराजित भएको थियो।
सन् २०२६ को संस्करणमा पनि बलियो टोलीका साथ मैदान उत्रँदै उनीहरू सन् २०२२ को सनसनीपूर्ण प्रदर्शनलाई दोहोर्याउने वा त्योभन्दा अगाडि बढ्ने आशामा छन्।
यद्यपि, एटलस लायन्स भनेर चिनिने मोरक्कोको टोली यसपटक केही अस्तव्यस्त परिस्थितिमा छ। प्रतियोगिता आउन तीन महिनाभन्दा कम समय बाँकी हुँदा प्रशिक्षकको बर्खास्ती र सेनेगलसँग कूटनीतिक विवाद निम्त्याएको अफ्रिका कप अफ नेसन्स (एफकोन) को फाइनलको तनावले टोलीलाई असर गरेको छ।
एफकोनको ह्याङओभर
अफ्रिकी फुटबल इतिहासकै सबैभन्दा विवादास्पद घटनामध्ये एकको परिणामसँग टोली अझै जुधिरहेको छ।
जनवरीमा रबातमा भएको फाइनल खेल गोलरहित बराबरीको स्थितिमा थियो। तर, इन्जुरी समयमा भीएआर रिभ्युमार्फत मोरक्कोले विवादास्पद पेनाल्टी पाएपछि सेनेगलका खेलाडीहरू विरोध गर्दै मैदानबाट बाहिरिँदा खेल अस्तव्यस्त बनेको थियो।

पेनाल्टी दिने निर्णयले दर्शकदीर्घामा रहेका सेनेगलका समर्थकहरूबिच आक्रोश पैदा गर्यो। उक्त अवरोधपछि १८ जना दर्शकलाई जेल सजाय सुनाइएको थियो।
लामो ढिलाइपछि सेनेगल मैदानमा फर्कियो। तर, रियल म्याड्रिड तथा मोरक्कोका स्टार ब्राहिम डियाजले ‘पानेन्का’ प्रहार गर्ने कमजोर प्रयास गर्दा पेनाल्टी मिस भयो। अन्ततः अतिरिक्त समयमा गोल गर्दै सेनेगलले खेल १-० ले जित्यो।
तर, कथा त्यहीँ टुंगिएन। मार्चमा, सेनेगलले मैदान छाडेर खेल गुमाएको ठहर गर्दै अफ्रिकी फुटबल महासंघ (सीएएफ) ले सेनेगलको उपाधि खोसेर मोरक्कोलाई दियो। सेनेगलले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा अपिल गर्दै सीएएफ र मोरक्कोविरुद्ध आरोपहरू लगाएको छ।
एटलस लायन्सका लागि, अधिकारीहरूद्वारा ढिलो गरी च्याम्पियन घोषित हुनुले हारको पीडा र अन्यायको भावनालाई कम गर्न सकेको छैन। यो निरन्तरको विवादले टोलीमा विषाक्त प्रभाव छाडिरहेको छ।
रेग्रागुई विवाद
सन् २०२२ को सफल यात्राका योजनाकार प्रशिक्षक वालिद रेग्रागुईले मार्चमा टोली छाडे।
घरेलु मैदानमा भएको एफकोन फाइनलमा सेनेगलसँग भोगेको झिनो हार र टोलीको दिशाबारे देशको फुटबल महासंघसँग भएको भनिएको विवादका कारण अन्ततः उनले पद गुमाउनुपरेको देखिन्छ।

उनको स्थानमा आएका मोहम्मद ओउहाबीले मोरक्कोको अन्डर-२० टोलीलाई सन् २०२५ को युथ विश्वकपको उपाधि दिलाएका थिए। महासंघले यस नियुक्तिको पछाडि रणनीतिक निर्णय रहेको जनाएको छ।
‘यो समय खेर नफाल्ने र फरक दिशा लिने चाहना हो,’ महासंघनिकट एक स्रोतले एएफपी समाचार एजेन्सीलाई बतायो।
तर ४९ वर्षीय ओउहाबीका लागि यस्तो कटुतापूर्ण परिस्थितिमा पहिलो सिनियर विश्वकपको जिम्मेवारी सम्हाल्नु अत्यन्त चुनौतीपूर्ण काम हो – विशेषगरी आफ्नो करियरमा केवल युवा टोलीहरूलाई मात्र प्रशिक्षण दिएको हुनाले।
‘म यहाँ निर्माण गर्न आएको होइन, किनभने जग पहिल्यै बसिसकेको छ। म यहाँ प्रदर्शनलाई निरन्तरता दिन आएको हुँ,’ नियुक्तपछि ओउहाबीले भने।
नयाँ प्रशिक्षकमा उच्च स्तरमा सफल हुने अधिकार र रणनीतिक तीक्ष्णता छ वा छैन भन्ने हेर्न बाँकी नै छ। यो उनका लागि ठूलो अग्निपरीक्षा हुनेछ।
डियाज ‘पानेन्का’ को दुःस्वप्न भुलाउने आशामा
त्यो पेनाल्टी मिस गर्नुअघिसम्म, प्रतिभाशाली फरवार्ड ब्राहिम डियाज प्रतियोगिताकै उत्कृष्ट खेलाडी थिए। उनले पाँच गोलसहित गोल्डेन बुट जित्दै मोरक्कोलाई फाइनलसम्म पुर्याएका थिए।

रियल म्याड्रिडका यी प्लेमेकर छिटा, चलाख र शून्यबाट पनि केही सिर्जना गर्न सक्ने क्षमता राख्छन्। उनी मोरक्कोको टोलीलाई जादुयी स्पर्श दिन्छन्।
एफकोन फाइनलको झमेलापछि उनी यस प्रतियोगितामा मनोवैज्ञानिक दबाबमा हुन सक्छन्। तर, मोरक्कोले उनले त्यो निराशालाई उत्कृष्ट विश्वकप प्रदर्शनमा बदल्ने आशा राखेको छ।
टिनएज स्टार बौआदी टोलीमा पर्न सफल
टोलीका अधिकांश खेलाडीहरू राम्रोसँग स्थापित भइसकेका भए पनि, जुनियर स्तरमा फ्रान्सको प्रतिनिधित्व गरेर मोरक्को रोजेका लिलका १८ वर्षीय रोमाञ्चक मिडफिल्डर अयुब बौआदी टोलीमा पर्न सफल भएका छन्।
‘सपना पूरा भयो, तर योभन्दा पनि महत्त्वपूर्ण कुरा यो नयाँ अध्यायको सुरुवात हो। यसमा अझ बढी काम, कठोरता र जिम्मेवारीहरू हुनेछन्,’ बौआदीले एक्समा लेखेका छन्।

‘यो जर्सीको रक्षा गर्न पाएको अवसरप्रति म सचेत छु, र आफ्नो देशको उत्कृष्ट तरिकाले प्रतिनिधित्व गर्न म सबथोक दिनेछु। फ्रान्सप्रति पनि सम्मान छ। मेरो रोजाइले युवावस्थामा त्यो जर्सी लगाउन पाएको गर्व र कृतज्ञतालाई कुनै पनि हालतमा कम गर्दैन।’
सायद आश्चर्यजनक रूपमा, सन् २०२२ को क्वाटरफाइनलमा पोर्चुगलविरुद्ध विजयी गोल गरेका युसेफ एन-नेसरी टोलीमा परेका छैनन्।
अन्य खेलाडीहरूमा, बिलाल एल खानुस उच्च प्राविधिक क्षमता भएका र रचनात्मक एट्याकिङ मिडफिल्डर हुन्। त्यस्तै, सोफियान अम्राबातले रक्षापंक्तिमा लडाकु ऊर्जा प्रदान गर्छन्।
चोटका कारण मार्चदेखि नखेले पनि मार्सेका डिफेन्डर नायफ अगुर्ड टोलीमा छनोट भएका छन्।
हाकिमी: विश्वकै उत्कृष्ट राइट ब्याक
गत सिजन पीएसजीका यी राइट ब्याकले ११ गोल गर्नुका साथै १४ असिस्ट प्रदान गर्दै आफ्नो क्लबलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कपको ऐतिहासिक ट्रेबल जित्न मद्दत गरेका थिए। त्यसपछि उनलाई ‘सीएएफ अफ्रिकन प्लेयर अफ द इयर’ घोषित गरिएको थियो।
यस सिजन भने गोल र असिस्टको मामलामा अहिलेसम्म कम उपलब्धिमूलक रहेको छ। हाकिमीले विपक्षी खेलाडीहरूको कडा निगरानीको सामना गरिरहेका छन्, जो उनको आक्रमणलाई निस्तेज पार्न चाहन्छन्।

मैदानबाहिरका मुद्दाहरूले पनि उनको यो सिजन ओझेलमा परेको छ। यो वर्षको सुरुमा उनीमाथि फ्रान्समा बलात्कारको मुद्दा चल्ने घोषणा गरिएको थियो। तर हाकिमीले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन्।
मैदानबाहिरका मुद्दा र यस सिजन घटेको तथ्यांकका बावजुद, उनको रक्षात्मक खुबीका साथै ओभरल्यापिङ रन, उत्कृष्ट पास र गोल गर्ने क्षमतालाई हेर्दा उनी अझै पनि विश्वकै उत्कृष्ट राइट ब्याक हुन् भन्न सकिन्छ।
मोरक्कोको समूह कस्तो छ ?
समूह ‘सी’ मा मोरक्कोका लागि पक्कै पनि चुनौतीहरू छन्, विशेषगरी ब्राजिलविरुद्धको उद्घाटन खेल। ब्राजिलियन टोलीसँग अघिल्ला प्रतियोगिताहरूमा जस्तो डरलाग्दो छवि नभए पनि उनीहरूसँग अझै गुणस्तरीय खेलाडीहरू भरिपूर्ण छन्।
यद्यपि, मोरक्कोले उक्त खेलबाट राम्रो नतिजा निकाल्दै आफ्ना प्रतिद्वन्द्वीहरूलाई कडा सन्देश दिने अवसरको रूपमा हेर्नेछ।
त्यसपछिका खेलहरू तुलनात्मक रूपमा सहज छन्। सुधारोन्मुख स्कटल्यान्डलाई कमजोर मान्न नसकिने र हाइटीले पनि सरप्राइज दिन सक्ने भए पनि उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्न मोरक्कोले यी दुवै खेल जित्नैपर्छ।
सन् १९९८ को फ्रान्स विश्वकपमा पनि मोरक्कोले ब्राजिल र स्कटल्यान्डको सामना गरेको थियो। त्यसबेला एटलस लायन्सले सम्मानजनक प्रदर्शन गरेका थिए। उनीहरूले स्कटल्यान्डलाई ३-० ले पराजित गरेका थिए भने ब्राजिलसँग समान अन्तरले हारेका थिए र नर्वेसँग बराबरी खेलेका थिए। तर समूहको तेस्रो स्थानमा रहँदै उनीहरू अन्तिम १६ मा पुग्न असफल भएका थिए।
विश्वकपमा मोरक्कोका समूह चरणका खेलहरू
- जुन १३: ब्राजिलविरुद्ध मोरक्को (न्यु जर्सी, अमेरिका)।
- जुन १९: स्कटल्यान्डविरुद्ध मोरक्को (बोस्टन, अमेरिका)।
- जुन २४ : मोरक्कोविरुद्ध हाइटी (एटलान्टा, जर्जिया) ।
मोरक्कोको विश्वकप टोली:
- गोलकिपर: यासिन बोनो (अल हिलाल), मुनिर मोहमेदी (आरएस बर्काने), अहमद टगनाउती (रोयल आर्म्ड फोर्सेस)।
- डिफेन्डर: नुसेर माज्राउई (म्यानचेस्टर युनाइटेड), अनस सलाह-एडिन (पीएसभी आइनडोभन), युसेफ बेलमारी (अल अहली), नायफ अगुर्ड (मार्से), चाडी रियाद (क्रिस्टल प्यालेस), इस्सा डिओप (वेस्ट ह्याम युनाइटेड), रेदोने हलहल (केभी मेचेलेन), असरफ हाकिमी (पेरिस सेन्ट-जर्मेन), जकारिया एल ओउहादी (गेन्क)।
- मिडफिल्डर: समिर एल मौराबेट (स्ट्रासबर्ग), अयुब बौआदी (लिल), निल एल आयनाउई (रोमा), सोफियान अम्राबात (रियल बेटिस), अजेदिन ओउनाही (गिरोना), बिलाल एल खानुस (स्टुटगार्ट), इस्माएल साइबारी (पीएसभी आइनडोभन)।
- फरवार्ड: अब्देसमद एजाल्जोउली (रियल बेटिस), चेम्सडिन ताल्बी (सन्डरल्यान्ड), सोफियान रहिमी (अल ऐन), अयुब एल काबी (ओलम्पियाकोस), ब्राहिम डियाज (रियल म्याड्रिड), यासिन गेसिमे (स्ट्रासबर्ग), अयुब अमाइमोनी-एचगौयाबे (आइनट्र्याक्ट फ्र्यांकफर्ट)।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण