शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
बजेट अभाव

सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह

१ करोड बजेट नभई सुरु नै हुँदैन – प्रमुख संरक्षण अधिकृत
शनिबार, २३ जेठ २०८३, १८ : ०६
शनिबार, २३ जेठ २०८३

सारांश

  • पर्सा राष्ट्रिय निकुञ्जभित्रको हलखोरिया दह बजेट अभावमा सरसफाइ गर्न नसक्दा सुक्न थालेको छ ।
  • १५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको यो दह दुर्लभ पाटे बाघ, हात्ती र चराचुरुङ्गीहरूको मुख्य बासस्थान हो ।
  • बजेट अभावले गर्दा वन्यजन्तुहरूलाई पिउने पानीको समस्या भएको छ र मानव-वन्यजन्तु द्वन्द्व निम्तिने गरेको छ ।

बारा । पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरूका लागि मुख्य पानीको स्रोत मानिएको हलखोरिया दह बजेट अभावमा सरसफाइ गर्न समस्या भएको छ । निकुञ्ज कार्यालयदेखि १७ किलोमिटर पूर्वतर्फ रहेको हलखोरिया दह १५ हेक्टर बढी क्षेत्रफलमा फैलिएको छ । 

दुर्लभ पाटे बाघको मुख्य बासस्थानका रूपमा रहेको यो क्षेत्रमा जंगली हात्ती र अनेक चराचुरुङ्गीहरू दहमा आनन्द लिन आउने गर्दछन् । तर पछिल्लो ३ वर्षदेखि दह सरसफाइ नहुँदा चुरेबाट बगेर आएको बाढीले पुरिएर दह घाँसे मैदानको रूपमा परिणत भएको छ । 

 पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले हलखोरिया दह सरसफाइमा १ करोडभन्दा धेरै बजेट लाग्ने बताएका छन् । बजेट अभावले ३ वर्षदेखि सरसफाइ गर्न नसकिएको पनि उनले बताए । 

‘१ करोड बजेट नभई काम सुरु नै गर्नु पर्दैन, ३ करोड रकम भयो भने ३ वर्षसम्म निरन्तर काम गरेपछि दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘मिचाहा प्रजातिको झार र बर्खाको पानीले माटो र ग्याबेल बगाएर दह सबै पुरिदिएको छ ।’

वन्यजन्तुहरूका लागि पिउने पानीसँगै पर्यटकहरूका लागि प्रचुर सम्भावना बोकेको हलखोरिया दह हाल घाँसेमैदान बनेको छ । यद्यपि निकुञ्जभित्र तराई मधेश भू–परिधि (ताल) कार्यक्रमले केही प्राकृतिक पानीका स्रोतहरूको मर्मत तथा सरसफाइ गरेको छ । प्रमुख संरक्षण अधिकृत खतिवडाका अनुसार गैह्रसरकारी संस्थाहरूले साना र टुक्रे काममा धेरै लगानी गर्ने गरेका छन् । ‘गैह्रसरकारी संस्थाले एउटै काममा १ करोड खर्च गर्न खोज्दैनन्,’ खतिवडाले भने, ‘१ करोड भए उनीहरूले २० वटा कार्यक्रम देखाउन सक्छन् ।’

kkk3

मधेस प्रदेशकै एक मात्रै राष्ट्रिय निकुञ्जभित्र पर्ने यो दह सुक्न थालेपछि वन्यजन्तुहरूलाई पिउने पानीको अभाव हुन थालेको छ । निकुञ्जभित्र वन्यजन्तुहरूका लागि पिउने पानीको ठुलो समस्या छ । पसाहा नदीको किनारामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ घना जंगलभित्र यो दह पर्यापर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । निकुञ्जले वन्यजन्तु अवलोकनका लागि पर्यटकहरूका लागि दहसँगै मचान निमार्ण गरेको छ । 

बाह्रै महिना पानीसहितको दलदले जमिन भएको यस क्षेत्र मुख्यगरी चराचुरुङ्गी, गौरीगाई, पाटेबाघ र बाघको आहारा प्रजातिका वन्यजन्तुहरूको मुख्य बासस्थान तथा क्रीडास्थल हो । पर्सा निकुञ्ज दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको बासस्थान हो । पानीको खोजीमा निकुञ्जका वन्यजन्तुहरू छिमेकी मुलुक भारतको वाल्मिकी राष्ट्रिय निकुञ्ज र चितवनसम्म पुग्ने गर्दछन् । 

प्रमुख संरक्षण अधिकृत खतिवडाले निकुञ्जहरूबाट सबैभन्दा धेरै राजस्व उठाउनेलाई नै संघीय सरकारले बजेट र कार्यक्रम दिइँदा ओझेलमा पर्दै गएको गुनासो गरेका छन् । 

निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले निकुञ्जभित्र ३ दर्जन मानव निर्मित साना पोखरीहरूमा सुक्खायामभरि ट्यांकरको पानी ओसारेर वन्यजन्तुलाई खुवाउँदै आइएको बताए । चुरे भावर प्रदेश क्षेत्र भएकाले यहाँको भौगोलिक बनोट अन्य निकुञ्जहरू भन्दा फरक पनि छ । 

kk6

यहाँ कामिनी दह, काली दह, तिन कुवा, पानी घाट, सानो हलखोरिया नामक प्राकृतिक पानीका स्रोतहरू छन्, तर सुक्खायाम सुरु भएपछि यी पोखरी पनि सुक्ने भएकाले वन्यजन्तुहरू पानी खोज्दै बस्तीसम्म पुग्ने गरेका छन् । जसका कारणा मानव–वन्यजन्तु द्वन्द्व निम्तिने गरेको सूचना अधिकारीले भगतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप